शैलुङमा ‘चौँरीसँग जंगली बसाई’, टेन्ट राखेर बसाइको व्यवस्था

शैलुङमा ‘चौँरीसँग जंगली बसाई’, टेन्ट राखेर बसाइको व्यवस्था


रामेछाप ।
रामेछापको ऐतिहासिक पर्यटकीय क्षेत्र शैलुङमा बिहीबारबाट हुने लागेको चौँरीसँग जङ्गली बसाई कार्यक्रमको तयारी पूरा भएको छ ।

याक तथा चौँरी पर्यटन विकास कार्यक्रमअन्तर्गत आयोजना हुन लागेको कार्यक्रममा सहभागी हुन आउने पाहुनाको लागि शैलुङ डाँडामा टेन्ट राखेर बसाइको व्यवस्था मिलाइएको छ ।

रामेछाप र दोलखाको सिमानामा रहेको शैलुङ प्राकृतिक हिसाबले अत्यन्त मनोरम छ । धार्मिक हिसाबले पनि सो ठाउँलाई हिन्दु र बौद्ध धर्मावलम्बीको पवित्र भूमि मानिन्छ ।

शैलुङ खोलाखर्क होमस्टे बजार तथा पर्यटन प्रवर्द्धन समितिका अध्यक्ष दावासङ्बु शेर्पाले कार्यक्रमका सहभागी हुन बिहीबार साँझ पाहुनाहरू शैलुङ आइपुग्ने बताए । बिहीबारबाट उनीहरूको बसाइ शैलुङमा टेन्टमुनि हुने छ । टेन्टमा नै आवास, स्वास्थ्य सेवा लगायतका सम्पूर्ण सेवा प्रदान गर्ने गरी व्यवस्था मिलाइएको छ ।

स्पार्क एडभेञ्चर काठमडौंको आयोजनामा हुन लागेको कार्यक्रमको सहजीकरण शैलुङ खोलाखर्क चौँरीपालक कृषक समूह दोरम्बा शैलुङले र व्यवस्थापनको काम शैलुङ खोलाखर्क होमस्टे बजार तथा पर्यटन प्रवर्द्धन समितिले गरेको छ ।

चौँरीसँग जङ्गली बसाई कार्यक्रममा नेपाली सेना, नेपाल प्रहरी तथा सशस्त्र प्रहरीका अफिसर, चिकित्सक, पाइलट, इन्जिनियर, प्राध्यापक, खेलाडी र खेलसम्बद्ध पदाधिकारी, कूटनीतित्रहरु, कर्पोरेटस्, सञ्चारकर्मी, संगीतकार, लेखक, व्युरोक्राट्स, कलाकार लगायतको सहभागिता हुने शेर्पाले जानकारी दिए ।

यसबाहेक सेवा क्षेत्रका स्थानीयको पनि कार्यक्रममा सहभागिता हुने छ । कार्यक्रममा काठमाडौंबाट २ सय ५० बढी पाहुनाहरू आउने तय भएको उनले बताए ।

पाहुनाहरू तीन दिनसम्म शैलुङको जङ्गलका चौँरी गोठमा घुम्ने र रमाउनुको साथै शैलुङमा बास बस्ने छन् । शेर्पाका अनुसार असोज ११ गते पाहुनाहरू शैलुङ पुग्ने छन् । त्यहाँ उनीहरूलाई स्वागत गरिने छ ।

असोज १२ गते परिचयात्मक कार्यक्रम एवं घुमफिर र मनोरञ्जन कार्यक्रम हुने छ । १३ गते औपचारिक रूपमा समापन कार्यक्रम हुने छ ।

शैलुङको पर्यटन विकास र प्रवर्द्धनका लागि कार्यक्रम आयोजना गरिएको शेर्पाले बताए । शैलुङसम्म यातायात साधन पुग्न लागेपछि केही वर्षयताबाट शैलुङ घुम्न आउने पर्यटकको सङ्या बढ्न लागेको छ ।

प्रचारको कमीले अझै पनि शैलुङमा सोचे अनुसार पर्यटक आउन सकेका छैनन् ।