एक पाथी सिमीको भाउ ५ सय रुपैयाँ, भकारी, बिउ र ढुवानी अनुदान

एक पाथी सिमीको भाउ ५ सय रुपैयाँ, भकारी, बिउ र ढुवानी अनुदान


मुगु ।

छायाँनाथ रारा नगरपालिका वडा ६ पचच्या भन्ने ठाउँमा किसानहरु पाकेको सिमी चुट्न व्यस्त छन् ।बालबच्चा, महिला, जेष्ठ नागरिक सबै गराहरुमा पुगेर कोही सिमी चुट्न त कोही सिमी उखेल्न व्यस्त भएका हुन् ।

मुगुमा सिमी उत्पादनको राम्रो क्षेत्र मानिने मन्दु गाउँका बासिन्दा अचेल सिमी भित्र्याउने चटारोमा छन् । पचच्या भन्ने स्थानमा मुन्दालहरु सिमी उखेल्न, बत्ताउन र चुट्न थालेका हुन् ।

मुन्दु गाउँमा ७० भन्दा बढी घरधुरी छ । मुस्किलले एक दुईजना मात्र नोकरीमा छन् । ती पनि अस्थायी र करार । गाउँलेहरुको प्रमुख आयसो्रत भनेको भेडापालन, जडिबुटी, सिमी, आलु र मह नै हो ।

जिल्ला सदरमुकाम गमगढीबाट २ घण्टाको पैदल दूरीमा रहेको यो गाउँ बत्ती मुनिको अँध्यारो जस्तै छ । बजार नजिक भएर पनि यातायातका साधनको सुविधा नहुँदा उत्पादित वस्तुहरु बोकेरै गमगढी बजारमा बिक्रीका लैजानुपर्ने अवस्था छ ।

स्थानीय टेकेन्द्र ऐडी सिमी बेचेर आएको पैसाले बालबच्चा पढाउने, औषधी उपचार गर्ने, लुगाफोटो किन्ने र अन्य घर खर्च चलाउने गरेको बताउँछन् । ‘म कक्षा ११ पढ्छु, मेरो पढाईको सबै खर्च सिमी बेचेरै आएको पैसाले धान्ने गरेको छ’ उनले भने ।

काखमा दुधे बालक च्यापेर सिमी चुट्दै गरेकी पुनी बोहोराले आफनो गाउँमा सिमी राम्रो उत्पादन हुँदै आए पनि पछिल्लो समय उत्पादनमा कमी हुने गरेको बताइन् ।

‘हामीले खेती गर्न जानेनौँ कि बिउ पुरानो भयो वा माटो बिग्रियो थाहा छैन’ उनले भनिन्, ‘कसैले तालिम, बिउ र गरा बनाउने सिकाए उत्पादन बढ्थ्यो होला ।’

यहाँको सिमीको गुणस्तर राम्रो भए पनि गमगढीबाहेक ठूला बजारतिर बिक्रीका लागि मेसो नपाउँदा समस्या भएको स्थानीयको भनाइ छ ।

पचच्या भन्ने स्थानमा बढी सिमी खेती गरिएको छ । ५४ जना गाउँलेले १० हेक्टरभन्दा बढी जग्गामा सिमी खेती गरेको मन्दु गाउँका जेष्ठ नागरिक धनरुप बोहोरा बताउँछन् ।

पहिला पाथीको २ सय ५० मा बिक्री हुने सिमी अहिले ५ सय रुपैयाँभन्दा बढीमा बिक्ने गरेको छ ।

बोहोराका अनुसार सिमी भण्डारणका लागि भकारी र बिउ दिएको छ । उनले घेरबारा, सिँचाई, तालिम र औजार पनि दिए अझ राम्रो हुने बताए ।

सिमी बिक्रीबाट एक सिजनमा गाउँलेले १ लाखभन्दा बढी रुपैयाँ भित्र्याउने गरेको अनुमान छ । अहिलेसम्म कति उत्पादन र विक्री हुन्छ सरकारी तबरबाट हालसम्म रेकर्ड राख्ने गरिएको छैन ।

जिल्लामा प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना कार्यान्वयन ईकाई कार्यालय रहेकाले सिमी विस्तार कार्यक्रम अन्तरगत कृषक, उत्पादन, बिक्री र खेती क्षेत्रबारे रेकर्ड राखिने परियोजना कार्यान्वयन ईकाई कार्यालय प्रमुख तेज विक्रम मल्ल बताउँछन् ।

मुगुका कयौँ गाउँहरुमा सिमी, ओखर, स्याउ र जडिवुटीका लागि उर्बर भूमि भए पनि सीमित साधन, स्रोत र पुँजीका कारण अधिकतम लाभ लिन नसकिएको उनले बताए ।

यो वर्षबाट प्रधानमन्त्री कृषि आधुकिकरण परियोजना कार्यान्वयन ईकाई कार्यालय मुगुले सिमीको कृषकहरुलाई सिमी ढुवानीमा अनुदान दिन लागेको जानकारी उनले दिए ।

किसानहरुले उत्पादिन वस्तु नेपालगन्ज, सुर्खेत, पोखरा, बुटवल र काठमाडौसम्म बिक्रीका लागि लैजान ढुवानी खर्च नपाएर घरमै थन्काउनुपर्ने अवस्था भएपछि कार्यालयले यो वर्षबाट कृषकहरुलाई सिमी ढुवानी अनुदान दिन लागेको जनाएको छ ।

ढुवानी अनुदान लिनका लागि कृषकहरुलाई आफ्नो उत्पादन यकिन गरी आवेदन दिन लगाउने र स्थलगत अनुगमन पछि सिमी उत्पादन र बिक्रीको यकिन तथ्यांक आउने जनाइएको छ ।