२ सतापछि मार्तडी पुग्यो २ सय क्विन्टल चामल , ३ रुपैयाँ सस्तोमा बेच्दै खाद्य डिपो

२ सतापछि मार्तडी पुग्यो २ सय क्विन्टल चामल , ३ रुपैयाँ सस्तोमा बेच्दै खाद्य डिपो


बाजुरा ।

२ सातादेखि चामल अभाव रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी मार्तडीमा शनिबार २ सय क्विन्टल चामल ढुवानी गरिएको छ ।

कम्पनीको हिमाली गाउँपालिकाको कवाडी र स्वामीकार्तिक खापर गाउँपालिकाको मुक्तिकोट बिक्री केन्द्रमा भने अझै चामल अभाव छ ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड बाजुराका प्रमुख मेखराज ओझाले शनिबार पहिलो चरणमा मार्तडी डिपोमा २ सय क्विन्टल जिरा मसिनो चामल ढुवानी गरिएको जानकारी दिए । जिल्लाको खाद्य डिपोमा नियमित आउने अनुदानको चामल ठेक्का प्रक्रिया पूरा नहुँदै चामल सकिएपछि ढुवानी भाडा पछि स्वीकृत हुने गरी तत्काल सो चामल बाजुरामा ढुवानी गरिएको जनाइएको छ ।

उनले ढुवानी गरिएको चामल आजदेखि प्रतिकिलो ९२ मा बिक्री हुने बताए । बजारमा मसिना चामलको ९५ मा पर्ने जनाइएको छ ।

मार्तडीको गोदाममा चामल सकिएपछि गत भदौ २४ गते एक सूचना जारी गर्दै गोदाममा ताला लगाइएको थियो ।

मार्तडीमा रहेको शाखा कार्यालयमा चामल पुगे पनि अन्य अस्थायी बिक्री केन्द्र र डिपोमा भने चामल अभाव रहेको स्थानीयले बताएका छन् ।

कोल्टी डिपोमा भने २ सय क्विन्टल मौज्दात चामल रहेको बताइएको छ । मार्तडीमा रहेको शाखा कार्यालयमा आवश्यकतानुसार थप चामल आउने र अन्य बिक्री केन्द्रमा भने ठेक्का प्रक्रिया पूरा भएपछि मात्र चामल ढुवानी हुने बताइएको छ । ठेक्का प्रक्रियाको अहिलेसम्म कुनै टुङ्गो नभएको पनि प्रमुख ओझाले बताए ।

सुदूुरपश्चिममा सबैभन्दा बढी बाजुरामा गत आर्थिक वर्षमा १७ हजार क्विन्टल चामल बिक्री भएको थियो भने चालु वर्षका लागि १२ हजार क्विन्टल कोटा निर्धारण गरिएकामा हाल २ सय क्विन्टल आएको छ । अहिले खाद्य व्यवस्था तथा व्यापार कम्पनी प्रदेश कार्यालय धनगढीले धमाधम चाडपर्वको मुखमा पछि स्वीकृत गराउने गरी बाजुरासहित अछाम, बझाङ, डडेल्धुरा र दार्चुलालगायतका जिल्लामा चामल ढुवानी गरिरहेको छ ।