देउवाको एकलाैटीविरुद्ध ‘भण्डाफोर’ गर्दै डा. शेखर

देउवाको एकलाैटीविरुद्ध ‘भण्डाफोर’ गर्दै डा. शेखर

अर्ली महाधिवेशनमा जाने तयारी, केन्द्रीय समिति बैठकमा नबोल्ने


काठमाडौँ ।

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टी सभापति शेरबहादुर देउवाको एकलौटी र मनोमानीविरुद्ध भण्डाफोर अभियान सञ्चालन गर्ने भएका छन् ।

पार्टीका हरेक गतिविधिमा सभापति देउवाले एकलौटी गरेको उनको आरोप छ । बिहीबार देउवाले केन्द्रीय सदस्य मनोनयन गर्दा पनि आफ्नो गुटका मात्रै मान्छे छानेपछि कोइराला रुष्ट बनेका हुन् । बिहीबार मनोनीत ८ जनामध्ये कोइराला समूहबाट चन्द्र भण्डारी र शारदा पौडेल मात्रै परेका थिए ।

पार्टीको १४औँ महाधिवेशनलगत्तै डा. कोइरालाले आफ्नो समूहबाछ उपसभापतिका उम्मेदवार चन्द्र भण्डारी, महामन्त्रीका उम्मेदवार डा. मीनेन्द्र रिजाल, केन्द्रीय सदस्यमा १ मतले मात्रै पराजित हृदयराम थानी र गुरुराज घिमिरेलाई केन्द्रीय सदस्य मनोनयन गर्न माग गरेका थिए ।

तर, देउवाले उपसभापतिकै अन्य उम्मेदरवारहरू विजयकुमार गच्छदार र सुजाता कोइरालालगायतलाई महाधिवेशनलगत्तै केन्द्रीय सदस्य मनोनित गरे पनि कोइराला समूहकालाई समेटेका थिएनन् ।

सभापति देउवाले संसदीय समिति सदस्यहरू छान्दा पनि आफूखुसी गरेको कोइरालाको आरोप छ । यस्तै, विधानविपरीत गएर भ्रातृ र शुभेच्छुक संगठनमा पनि देउवाले मनोनयन गरेको भन्दै कोइरालाले तुरुन्त सच्याउन आग्रह गरेका थिए । तर, उनको कुरा नसुनी देउवाले थप कोइरालालाई चिढ्याउने गरी निर्णयहरू गरेको कोइराला समूहका एक नेता बताउँछन् ।

ती नेताका अनुसार कोसी प्रदेशको राजनीतिमा पनि देउवाकै कारण कांग्रेसले आफ्नो पोजिसन गुमाउनुपरेको र पार्टी थप बदनाम भएको कोइराला समूहको बुझाइ छ । कोसी सरकारका विषयमा आएका कानुनी जटिलताको समाधान राजनीतिक समीकरणबाटै समाधान हुनेमा देउवाले आफ्नो समूहलाई माइनस गरेर एकलौटी निर्णय लादेको कोइरालाको दाबी छ ।

यस्तै, अन्य प्रदेशमा पार्टी मन्त्री पठाउँदा देउवाले आफ्नै समूहका मात्रै पठाएको र कोइराला समूहलाई उपेक्षा गरेको नेताहरू बताउँछन् ।

यसैबीच, गत बुधबार नेता डा. कोइरालाले सभापति शेरबहादुर देउवाको निवास धुमबाराही पुगेर उनको कार्यशैली सच्याउन चेतावनी दिएका थिए । उपसभापति धनराज गुरूङ र सहमहामन्त्री जीवन परियारसहित गएका कोइरालाले पार्टीभित्र देउवाले एकलौटी लादेको भन्दै असन्तुष्टि जनाएका थिए ।

डा. शेखरले भातृ संस्था गठन, पार्टी निर्वाचन समिति, पार्टीको विभाग गठन, प्रदेश सरकार बनाउँदा छलफल र सल्लाहमा नगरी सहमति र विधानविपरीत एकलौटी गरेको भन्दै देउवालाई विधिअनुसार चल्न आग्रग गरेका थिए । जबाफमा देउवाले ‘सबै काम सल्लाहमै गरिरहेको छु । थप छलफल गर्छु’ भनेका थिए । त्यसपछि शेखर कोइरालाले ‘तपाईंसँग म थप कुरा गर्न आउँदिन । जति कुरा गरेपनि तपाईंले पालना गर्ने होइन । तपाईं सच्चिनुस्, नत्र त्यसको परिणाम भोग्न तयार हुनुस्’ भनेर बाहिरिएका थिए ।

सो भेटमा कोइरालाले अब पनि एकलौटी चल्ने भए नयाँ ढंगले आफू अगाडि बढ्ने चेतावनी दिएका थिए । तर, देउवाले आफूले सबै मिलाएर पार्टीलाई एकताबद्ध बनाएर लैजान तयार रहेको बताएका थिए ।

गुट भेलामा शेखरलाई र्‍याखर्‍याख्ती !

केन्द्रीय समितिको बैठकमा प्रस्तुत हुने रणनीतिबारे छलफल गर्न डा. शेखरले आफ्नो गुटको भेला बोलाएका थिए । सो भेलामा गुटका नेताहरूले डा. शेखर आफूहरूसँग सभापति देउवाको विरोध गरेजस्तो गर्ने तर भित्री रूपमा देउवासँग मिलेको कुरा बाहिर आएको भन्दै वास्तविकता सोधेका थिए ।

जबाफमा कोइरालाले आफूलाई बद्नाम गराउन गुटकै केही साथीहरू लागेको भन्दै बाहिर हल्ला भएजस्तो देउवासँग कुनै सहमति नगरेको बताए । ‘मैले सभापतिजीसँग कुनै प्रकारको सहमति गरेको छैन । हामीभित्रकै केही साथीहरू मेरो बदनाम गर्न लाग्नुभएको मैले पाएको छ,’ कोइरालाले भने, ‘यदि मैले त्यसरी हाम्रो समूहलाई बाइपास गर्ने गरी कुनै सहमति गरेको छु भन्ने लाग्छ भने, ज–जसलाई त्यस्तो लाग्छ, भोलि जाउँ, तपाईंहरूकै अगाडि कुरा गर्छु ।’ त्यसपछि बुधबार उनी उपसभापति र सहमहामन्त्रीसहित देउवासँग छलफल गर्न धुमबाराही पुगेका थिए ।

‘अर्ली महाधिवेशन’को एजेन्डासहित देश दौडाहामा जाने

पार्टी सभापति देउवाले आफ्नो समूहलाई माइनस गरेर एकलौटी गर्न थालेपछि डा. कोइराला अर्ली महाधिवेशनको एजेन्डा लिएर नेता/कार्यकर्तामाझ जाने तयारीमा छन् । देउवाले सहमति र विधान नै कुल्चेर निर्णय गरेको भन्दै देउवाको मनोनानीविरुद्ध भण्डाफोर अभियान नै चलाउने तयारी भएको कोइरालानिकट एक नेताले विकास टाइम्सलाई बताए ।

पार्टीलाई अझ सशक्त बनाउनुपर्ने भन्दै कोइराला समूहले आगामी चुनावमा एक्लै लडेर पार्टीलाई बहुमतको सरकार बनाउन सक्ने अवस्थाको बनाउनुपर्ने निष्कर्ष निकालेको छ ।

केन्द्रीय समिति बैठकमा नबाेल्ने

डा. काेइरालाले देउवाले आफ्नाे कदम नसच्याएसम्म केन्द्रीय समिति बैठकमा आफ्ना धारणा नराख्ने भएका छन् । ‘आमसभामा बाेलेजस्ताे बाेलेकाे कुराकाे कुनै अर्थ नै नहुने, सुनुवाइ नै नहुने भएपछि उहाँले बैठकमा आफ्नाे धारणा नराख्ने हुनुभएकाे हाे,’ काेइरालानिकट एक नेताले भने, ‘जबसम्म सभापतिजीले विधानविपरीतका निर्णय सच्याएर सहमतिका आधारमा गर्नुहुन्न, तबसम्म शेखर दाइले नबाेल्ने भन्नुभएकाे छ ।’

देउवाकाे कार्यशैली नसच्चिएसम्म आफूले कुनै सहयाेग नगर्ने काेइरलालाले बताइसकेका छन् । ‘विधि र सहमतिअुनसार पार्टीलाई चलाउने कुरामा जहिल्यै साथ र सल्लाह दिन तयार नै छु,’ काेइरालालाई उद्धृत गर्दै ती नेताले भने, ‘यही कार्यशैलीमा मैले तपाईंलाई साथ दिइरहनुपर्ने कुनै आधार छैन ।’