Logo

अतिथि सत्कारका नाममा ओली सरकारले खर्चियो १२ करोड भन्दा बढी रकम



काठमाडौं । सरकारले चालु आर्थिक वर्षको विशष्ट व्यक्तिको भ्रमण तथा अतिथि सत्कारमा १२ करोड २५ लाख रुपैयाँ खर्च गरेको छ। सरकारले यस्तो खर्चलाई क्रमशः न्यूनीरकण गर्ने योजना बनाए पनि यो खर्च भने प्रत्येक वर्ष बढ्दै गएको छ। चालु आर्थिक वर्षमा चीन र बंगलादेशको राष्ट्रपतिको नेपाल भ्रमण हुनुका साथै नेपालको राष्ट्रपति तथा प्रधानमन्त्री विदेश भ्रमणमा यो रकम खर्च गरिएको हो। अर्थमन्त्रालयका अनुसार ६ महिनाको अवधिमा विशिष्ट व्यक्ति तथा प्रतिनिधि मण्डल भ्रमणको लागि १२ करोड २५ लाख रुपैयाँ खर्च भएको छ। अर्थमन्त्रालयले विविद शीर्षकमा राखेको खर्च रकमान्तर गरी खर्च गरेको हो। चिनियाँ राष्ट्रपति सि जिनपिङले असोज २५ र २६ गते नेपालको राजकीय भ्रमण गरेका थिए। उनको भ्रमणमा काठमाडौंको सरसफाइदेखि सुरक्षा व्यवस्थासमेत कडा गरिएको थियो भने राजधानीको होटल सोल्टी पूर्णरूपमा बुकिङ गरिएको थियो। बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद कात्तिक २६ गतेदेखि पाँच दिनको लागि नेपाल भ्रमणमा आएका थिए। उनले काठमाडौंका साथै पोखरासमेत भ्रमण गरेका थिए। त्यस्तै, राष्ट्रपति विद्यादेवी भण्डारी म्यानमार र जापाना भ्रमणमा यसै आर्थिक वर्षमा निस्केकी थिइन्। अर्थमन्त्रालयले भ्रमण तथा अतिथि सत्कारमा लागेको खर्च छुट्टा–छुट्टै रूपमा सार्वजनिक गर्नु पर्ने भए पनि अर्थमन्त्रालयले समग्रमा १२ करोड २५ लाख रुपैयाँ लागेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्