Logo

राज्यलाई १९ अर्ब बुझाउन बांकी छँदै एनसेललाई दूरसञ्चार प्राधिकरणले दियो फ्रिक्वेन्सी



काठमाडौं । अदालतको फैसलाबमोजिमको कर नै नतिरे पनि नेपाल दूरसञ्चार प्राधिकरणले एनसेललाई फोरजी सञ्चालनका लागि आवश्यक फ्रिक्वेन्सी दिएको छ। फ्रिक्वेन्सी लिलाम बढाबढमा ९ मेगाहर्ज फ्रिक्वेन्सी हात पारेको एनसेललाई प्राधिकरणले कर चुक्ता नै नभई फ्रिक्वेन्सी उपलब्ध गराएको हो।

नेपाल दूरसञ्चार प्राधिकरण सञ्चालक समितिको बैठकले एनसेललाई फ्रिक्वेन्सी दिने निर्णय गरेको थियो। ठूला करदाता कार्यालयले एनसेलले कर दायित्व बुझाउन बाँकी रहेको र कर बुझाउन सरकारसँग किस्ताबन्दीको सुविधा माग गरेको जानकारी गराए पनि प्राधिकरणले भने फ्रिक्वेन्सी दिने निर्णय गरेको हो।

ठूला करदाता कार्यालयमा एनसेलले करिब १ महिनाअघि किस्ताबन्दीको सुविधा माग गर्दै निवेदन दिएको थियो। यो निवेदनमाथि निर्णय नहुँदै एनसेलले फोरजी विस्तारका लागि फ्रिक्वेन्सी प्राप्त गरेको छ। एनसेलले सरकारलाई आफ्नो स्वामित्व बिक्रीमा लाग्ने पुँजीगत लाभकरबापत १९ अर्ब रुपैयाँ भुक्तानी गर्न बाँकी छ।

केही दिनअघि संसदको सार्वजनिक लेखा समितिको बैठकमा अर्थ मन्त्रालयका राजस्व सचिव शिशिरकुमार ढुंगानाले चालु आर्थिक वर्षभित्र नै एनसेलसँग बाँकी कर असुली गरिसक्ने बताएका थिए। एनसेलले मार्च, अप्रिल, मे र जुन महिनामा बाँकी रकम भुक्तानी गर्ने भन्दै किस्ताबन्दीको सुविधा माग गरेको भए पनि सरकारले सुविधा दिई नसकेको उनले बताएका थिए।

प्रतिक्रिया दिनुहोस्