Logo

सर्वोच्चले सभामुुखलाई काम गर्न रोकेन तर भन्यो, ‘अर्जुनको हत्याबारे छानविन गरी प्रतिवेदन पेश गर्नू’



काठमाडौं । अग्नि सापकोटाविरुद्धको रिटमा सर्वोच्च अदालतको सामान्य त्रुटिले रिट दायरकर्ताको माग असान्दर्भिक बनेको छ । सापकोटा सभामुख पदका लागि योग्य नभएको जिकिर गर्दै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले सर्वोच्चमा रिट दायर गरेका थिए । प्रधानन्याधीश चोलेन्द्र शमशेर राणाले सो रिटमा सुनवाई गर्न माघ १२ मा न्यायाधीश हरि फुयाँलको इजलास तोकिदिए ।

फुयाँलले विगतमा काभ्रेका अर्जुनबहादुर लामाको हत्यामा संलग्नलाई कारबाहीको माग गर्दै उजुरी गर्ने लामाकी पत्नी पूर्णिमायाको पक्षबाट मुद्दा लडेका थिए । आफैंले एक पक्ष भएर मुद्दा लडेका कारण फुयाँलले न्यायाधीशका रुपमा सोही घटनासँग सम्बन्धित मामिलामा न्यायमूर्ति बन्न नमिल्ने भएपछि १२ गतेको मिति त्यसै घर्कियो ।

१४ गते फेरि सोही विषयमा बहस हुँदा न्यायाधीश सपना प्रधान मल्लको इजलासले अधिवक्ता त्रिपाठीको रिटमा माग गरिएबमोजिमको अन्तरिम आदेश दिन सान्दर्भिक नभएको खुलाउँदै माग अस्वीकार गर्यो ।

आइतबार सापकोटा सभामुखमा निर्वाचित भएपछि त्रिपाठीले अर्को रिट थप्दै सभामुखका रुपमा कार्य गर्नबाट रोक्न माग गरेका थिए । सर्वोच्चले अन्तरिम आदेश दिन अस्वीकार गरे पनि घटनाबारे छानविन गरेर ३० दिनभित्र प्रतिवेदन पेश गर्न सरकारलाई आदेश दिएकोछ ।

प्रतिक्रिया दिनुहोस्