Logo

कुसुण्डा भाषाकी जानकार ज्ञानीमैया रहिनन्



काठमाडौं । कुसुण्डा भाषाकी जानकार दाङकी ज्ञानीमैया कुसुण्डाको निधन भएको छ।
शनिबार दिउँसो साढे १२ बजेतिर ८५ वर्षीया कुसुण्डाको लमही नगरपालिका वडा नम्बर ६ कुलमोहरस्थित आफ्नै घरमा निधन भएको हो।

कसुण्डा भाषाको एक अनुसन्धानकर्ता उदय आलेले ज्ञानीमैयाको निधनले अपुरणीय क्षति भएको बताए।

‘उहाँ कुसुण्डा भाषाको लागि मूल स्रोत नै हुनुहुन्थ्यो,’ आलेले भने, ‘उहाँको निधनले अपुरणीय क्षति हुन पुगेको छ।’

अब कुसुण्डा भाषा बोल्न जान्ने उनकी बहिनी नाता पर्ने कमला कुसुण्डा मात्रै जीवित रहेको आलले जानकारी दिए।

लोपोन्मुख कुसुण्डा भाषा पूर्ण रूपमा जान्ने व्यक्ति देशभर जम्मा दुई जना मात्रै थिए। अन्तिम समयसम्म पनि ज्ञानीमैयाले नयाँ पुस्तालाई घरमै कुसुण्डा भाषा सिकाउने गर्दै आएकी थिइन्।

केही विदेशी समेत ज्ञानीमैयाको घरमै बसेर कुसुण्डा भाषा सिकेका थिए। उनीहरूले ज्ञानीमैयाको वृत्तचित्र समेत निर्माण गरेका छन्। अनुसन्धानकर्ता आले र केही विदेशी नागरिकले पनि उनको बारेमा किताब लेखेका छन्।

आफ्नो भाषा संरक्षणमा सधैं चिन्ता व्यक्त गर्ने ज्ञानीमैयाको निधनले भाषा नै लोप हुने चिन्ता थपिएको आलेले बताए।

दम र उच्च रक्तचापले गर्दा पुस २७ गतेदेखि थलिएकी ज्ञानीमैयाको उपचार दाङ, बाँके लगाएका अस्पतालमा भएको थियो।

उपचार संभव नभएपछि उनलाई केही दिन पहिले मात्रै घर ल्याइएको थियो।

प्रतिक्रिया दिनुहोस्