Logo

विपिको मेलमिलाप नीतिले ऊर्जा मिलोस कांग्रेसलाई



आज पुस १६ । नेपाली कांग्रेसले आजको दिनलाई राष्ट्रिय मेलमिलाप दिवसका रुपमा मनाउँदै आएको छ । यसअनुसार आज यो दिवस कांग्रेसीवृत्तमा बडो महतवका साथ मनाइँदै छ ।

अंग्रेजी तारिख सन् १९६८ मा भारत गएका विपि ३० डिसेम्बर १९७६ का दिन स्वदेश फर्केका थिए ।आठ वर्षको भारत निर्वसनपछि नेपाली कांग्रेसका संस्थापक महानायक विपि कोइराला स्वदेश फर्केको दिनलाई नेपाली कांग्रेसले राष्ट्रिय मेलमलिाप दिवसका रुपमा मनाउँदै आएको छ ।

शायद त्यतिवेलाको राष्ट्रिय राजनीतिको आवश्यकता बोध गरेर विपिबाट लिइएको एक अनिवार्य तर परिपक्व निर्णय थियो, नेपाल आगमन । जे होस, यो वहसको फरक विषय हो । निश्चित के हो भने मेलमिलापको औचित्य स्वीकार गर्दै विपि नेपाल फर्केपछि आन्तरिक राजनीतिले नयाँ धार र दिशा लिएको भने पक्कै हो ।

विपि नेपाल फर्केको कुराको कांग्रेसलगायत प्रजातान्त्रिक मूल्य मान्यतामा विश्वास गर्ने धेरैले स्वागत गरेका थिए । तर उनको अनुपस्थितिका कारण रिक्त स्थानको लाभ उठाउँदै टाउको उठाउन थालेको वामपन्थले भने विपिको स्वदेश आगमनलाई खासै रुचाएको थिएन । विपि नेपालबाट जाँदा र फर्कँदाको बीचमा स्थानीय राजनीतिक परिदृश्यमा निकै फरकपन आइसकेको थियो ।

राजा महेन्द्र, जसले नेपालमा वामपन्थ बढ्न सहयोग गरे भन्ने मानिन्छ, को अवसान भइसकेको थियो । नेपालमा पछिल्लो समयमा राजा महेन्द्रले प्रादुर्भाव गरेको भनिएको राष्ट्रवाद, जसको हालका लिनमा निकै चर्चा गरिएको छ, वर्तमान सत्ता सञ्चालकका लागि आदर्शको विषय बनेको मानिएको छ ।

खायर यसका सन्दर्भमा अलग वहस गर्न सकिन्छ । महेन्द्रको अवसानपछि, राजाका रुपमा वेलायतपढित वीरेन्द्र अवतरित भएका थिए । चिनको परिवर्तित राजनीतिक अवस्थाको प्रभाव नेपालमा परेको थियो । वंगलादेशको स्थापना र भारतमा सिक्किम विलयको प्रभावबाट पनि नेपाल अछुतो थिएन ।

नेपाली कांग्रे।सले विगतमा प्रारम्भ गरेको सशस्त्र संघर्षको औचित्यमाथि कांग्रेसभित्रै प्रश्नचिन्ह उठाइरहिएको थियो । विश्व असंग्लग्न आन्दोलनमा सहभागी भएर नेपाली राजतन्त्रले आफ्नो औचित्य प्रमाणितको प्रयास गरिरहेको थियो । यस्तोमा विपिको नेपाल आगमन भएको थियो जसले तात्विकरुपमा निकै अर्थ राख्दथ्यो ।

विपिको नेपाल आगमनको सन्दर्भलाई आजको अवस्थामा नयाँ ढंगले विश्लेषण गरिनु आवश्यक छ । माथि उल्लेखित पृष्ठभूमीका केही कारक अवस्था हुन् जसको विश्लेषण गरिनु जरुरी छ र यसै आलोकमा विपिको नेपाल आगमन र राष्ट्रिय मेलमिलापको नीतिलाई बुझ्नु जरुरी छ । अर्को कुरा, विपिको अनुपस्थितिमा नेपाली राजनीतिले एक नयाँ कोर्स लिने प्रयास त गरिरहेको थियो नै सँगै निर्वासित अवस्थामा उनी नेपालका सन्दर्भमा प्रत्यक्ष भूमिका जिम्मेबारीका साथ निर्वाह गर्न सकिरहेका थिएनन ।

नेपाली राजनीति र समग्रमा नेपाली कांग्रेससँगै पनि उनको दुरी बढिरहेको आँकलन त्यसवेला गरिएको थियो । जवाहरलाल नेहरुपुत्री इन्दिरा गान्धी १९७५को इमरजेन्सीमार्फत् निकै शक्तिशाली बनेकी थिइन । विमान अपहरणको आरोपमा दुर्गा सुवेदी र सुशिल कोइरालालाई भारत सरकारले पक्राउ गरेको थियो । यस्तो अवस्थामा शायद विपिलाई भारतमा रहिरहँदा आफ्नो राजनीतिमा बाह्य निगरानी र नियन्त्रण बढ्न सक्ने सम्भावनाले पनि गाँजेको हुन सक्छ ।

विपि नेपालका पूर्व प्रधानमन्त्री थिए । नेपाली कांग्रेसका सभापति थिए । यसर्थ उनको नेपाल आगमनलाई किन अस्वाभाविक मान्ने भन्ने प्रश्न गर्न सकिन्छ तर नेपालको आन्तरिक राजनीतिक कारणले निर्वसनमा रहेकाले विपिले नेपाल आगमनहेतु त्यही समय किन रोजे भन्ने प्रश्न महत्वपूर्ण छ । यस सन्दर्भमा माथिका आधारमा विश्लेषण गर्ने हो भने नेपाल आगमनको त्यो समयलाई विपिले रणनीतिकरुपमा प्रयोग गरेको रुपमा बुझ्न सकिन्छ । त्यसवेलमा राष्ट्रिय राजनीतिका सन्दर्भमा सम्भवतः विपिका सामु तीन चार अवस्था विश्लेषणयोग्य थिए ।

पहिलो, राजा महेन्द्रको अवसान भइ राजा वीरेन्द्रको उदय भइसकेको थियो, जो तुलनात्मकरुपमा प्रजातन्त्रमा विश्वास गर्दथे । अतः हिजोको राजासँगको व्यक्तित्वको लडाई अन्त्य गरेर नयाँ राजासँग सम्बन्ध सुधार गरी नेपालमा प्रजातन्त्रको संघर्षको नयाँ अध्याय प्रारम्भ गर्न सकिन्थ्यो । उनको मेलमिलाप नीतिको विश्लेषण गर्ने हो भने यो राजालक्षित थियो भन्न सकिन्छ ।

उनले राष्ट्रियता संरक्षणको कुरा उठाउँदै राजाको घाँटी र आफ्नो घाँटी जोडिएको उल्लेख गरेबाट पनि उनको रणनीतिक सोचको विश्लेषण गर्न सकिन्छ । दोस्रो, आफ्नो अनुपस्थितिमा रिक्त स्थानमा टाउको उठाउन थालेको वामपन्थी प्रभावलाई रोक्न जरुरी थियो । प्रजातनन्त्रिक आन्दोलन कमजोर हुँदा वामपन्थी आन्दोलन फस्टाउन सक्थ्यो र शीतयुद्धकालीन विश्वमा नेपाल कुनै खास खेमामा आवद्ध हुन सक्थ्यो । तेस्रो, मूलधारबाट धेरै समय टाढा रहँदा राष्ट्रिय राजनीतिमा आफ्नो प्रभाव कमजोर हुन सकथ्यो र नेपाली कांग्रेसमाथिको नियन्त्रण र प्रभाव नै पनि समस्यामा पर्न सक्थ्यो । र चौथो, नेपालमा बढ्दो आन्तरिक कट्टरवादी प्रभाव र विदेशी स्वार्थलाई रोक्नु जरुरी थियो ।

सम्भवतः यी यस्ता आधार थिए जसले विपिलाई त्यही समयमा नेपाल फर्कन प्ररित गर्यो । तर जे होस तात्कालीन राष्ट्रिय राजनीतिमा विपिको मेलमिलाप नीतिको सकारात्मक प्रभाव परेको थियो । सबभन्दा महत्वपूर्ण कुरा विपि स्वदेश फर्केपछि आमजनतामा नयाँ आशाको सञ्चार भएको थियो भने कांग्रेसले नै पनि नयाँ रुप प्राप्त गर्ने प्रयासको प्रारम्भ भएको थियो । वैचारिक दृष्टिले कांग्रेस तुलनात्मकरुपमा केही परिपकव भएको अनुभव गरियो ।

आज नेपालमा राजतन्त्र छैन । वामपन्थी आन्दोलन पनि हिजोको अवस्थामा छैन र यसले नयाँ उचाई र कलेवर प्राप्त गरेको छ । कांग्रेसको नेतृत्व कोइराला परिवारभन्दा बाहिर गएको छ । विश्वमा असंग्लगन आन्दोलन कमजोर भएको छ र प्रत्यक्षतः शीतयुद्धको अवस्था छैन ।

यस्तोमा प्रश्न उठ्छ, के विपिको राष्ट्रिय मेलमिलापको नीति आजको अवस्थामा पनि सान्दर्भिक छ ? नेपालमा उदारवादी राजनीतिको प्रणेता मानिने विपि र नेपाली कांग्रेसको यो नीति ,आज नेपाललगायत विश्वमा कट्टरपन्थले स्थान ओगटिरहेको अवस्थामा, को औचित्य छ ? यसको जवाफ हो, छ । बरु हिजाको दिनभन्दा आज यो नीति अझै सान्दर्भिक र महत्वपूर्ण ठहरिएको छ । हाल देशले विभिन्न नाममा राजनीतिक निकास नपाइरहेको अवस्थामा यो नीतिको उयपोगले सार्थक परिणाम सिर्जना गर्न सक्छ ।

आजको सन्दर्भमा यो दिवसको सर्वाधिक औचित्य स्वयं विपिकै पार्टीकै लागि छ भनेर भनियो भने अनुचित हुने छैन । नेपाल कांग्रेस आज इतिहासकै सर्वाधिक कठीन मोडमा उभिएको छ । वैचारिक र सागठनिक दुर्व दृष्टिले कमजोर सावित भइरहेको कांग्रेसका लागि विपिको मेलमिलापको सच्चा अनुशरणले एक नयाँ ऊर्जा प्रदान गर्न सक्छ तर कांग्रेस त्यसतर्फ खासै गम्भीर रहेको पाइँदैन ।

कांग्रेस आज विगतमा जनाधार वलियो रहेकै क्षेत्रमा कमजोर बनेको छ । दोस्रो र तेस्रो पुस्ताका नेपाली जनताबीच कांग्रेस आकर्षणको केन्द्र बन्न सकिरहेको छैन । पार्टी गुट उपगुटमा विभाजित भई निजी र वर्गीय स्वार्थमा चुर्लुम्म डुबेबो छ । सैद्धान्तिक धरातल अस्पष्ट रहेको आरोप लागिरहेको छ ।

यस्तोमा प्रश्न उठ्छ, कांग्रेसले देशमा सबै अटाउने लोकतन्त्रको विकास र संवद्र्धन कसरी गर्न सक्छ ? स्थिति अझै पनि नियन्त्रण बाहिर गइसकेको छैन । कांग्रेसका नेताहरुले वर्तमानको कांग्रेस र देशको भविष्यको लोकतन्त्रबारे गाम्भीर्यता देखाएनन् भने देश वामपन्थी कव्जामा जाने निश्चित छ । यस्तोमा विपिको मेलमिलापको नीतिले नेताहरुलाई निर्देशित गर्ने विश्वास गर्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्