Logo

बीमा कम्पनीविरुद्ध अख्तियारमा उजुरी

बीमा कम्पनीविरुद्ध सूचना प्रविधिका विद्यार्थीले दर्ता गरे अख्तियारमा उजुरी



काठमाडौं । सरकारी निकायहरुले सूचना प्रविधिसम्बन्धि दक्ष जनशक्तिको माग गर्दा विभेदकारी दरखास्त आह्वान गरिरहेको भन्दै सो कार्य रोक्न कम्प्युटर विज्ञान तथा सूचना प्रविधिका विद्यार्थीहरुले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दर्ता गरेका छन् ।

हालै राष्ट्रिय बीमा कम्पनी लिमिटेडले आह्वान गरेको विज्ञापनमा सूचना प्रविधि अधिकृतको आवश्यक न्युनतम शैक्षिक योग्यता र अनुभवमा ‘मान्यता प्राप्त शिक्षण संस्थाबाट कम्प्युटर सफ्टवेयर इन्जिनियरिङ विषयमा स्नातक तह उत्तीर्ण गरी सोही वा व्यवस्थापन, बीमा, अर्थशास्त्र, तथ्यांकशास्त्र र सूचना प्रविधि मध्ये कुनै एक विषयमा स्नातकोत्तर तह उत्तीर्ण गरेको’ भन्ने उल्लेख थियो ।

यो विज्ञापनले कम्प्युटर विज्ञान तथा सूचना प्रविधिमा स्नातक र स्नातकोत्तर तह उत्तीर्ण गरेका दक्ष जनशक्तिलाई सोझै बाहिर पारिएको दावी गर्दै आयोगमा उजुरी दर्ता गरिएको हो ।

कम्प्युटर साइन्स आल्मुनी एसोसिएसन, स्टुडेन्ट एसोसिएसन अफ कम्प्युटर साइन्स, सिएसआइटी एसोसिएसन अफ नेपालले आयोगमा दर्ता गरेको उजुरीमा लेखिएको छ, ‘दक्ष जनशक्तिलाई अवसरबाट वञ्चित गरी निश्चित घेराका मानिसलाई अवसर दिने मनसाय देखिएकोले उक्त विज्ञापनका सबै प्रक्रियारोक्का गरी आवश्यक कारबाहीअगाडि बढाइदिन हुन अनुरोध छ ।’
विद्यार्थी तथा यस क्षेत्रका दक्ष जनशक्तिले सूचना प्रविधि क्षेत्रमा कुनै विधालाई राज्यले प्रवद्र्धन गरेको र कुनै विधालाई वेवास्ता गरिरहेको आरोप लगाएका छन् ।

प्रतिक्रिया दिनुहोस्