Logo

सूचना प्रविधिका विद्यार्थीको आन्दोलनमा अखिलले जनायो ऐक्यबद्धता



काठमाडौं । विभिन्न माग राखेर संघर्षमा उत्रिएका कम्प्युटर साइन्स र आइटी क्षेत्रका विद्यार्थीहरुको आन्दोलनप्रति नेकपा निकट अनेरास्ववियु समर्थन जनाएको छ ।

अनेरास्ववियुका सह–संयोजक रञ्जित तामाङले बुधबार एक विज्ञप्ति जारी गर्दै आन्दोलनप्रति ऐक्यबद्धता जनाएका छन् ।

लोक सेवा आयोगले विज्ञापन खुलाउँदा आइटी क्षेत्रका जनशक्तिप्रतिकुल खुलाएको उल्लेख गर्दै अनेरास्ववियुले संघर्षरत विद्यार्थीको माग जायज रहेको उल्लेख गरेको छ । अखिलले विज्ञप्तिमा भनेकोछ, ‘हालै त्रिभुवन विश्वविद्यालय सेवा आयोगले लिएको उपप्राध्यापक पदको परीक्षा त्रुटिपूर्ण भएको र आइटी शिक्षालाई व्यवस्थित गर्न आइटी काउन्सिल गठन गरिनुपर्ने लगायतका माग राख्दै सङ्घर्षरत सिएसआइटी ( कम्प्युटर साइन्स एण्ड इन्फर्मेसन टेक्नोलोजी ) का विद्यार्थीको जारी आन्दोलनप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ ।’

लोकसेवा आयोगले विगत वर्षहरुमा सूचना प्रविधि क्षेत्रका विद्यार्थीलाई स्पष्ट रुपमा सम्बोधन गरेर विज्ञापन खुलाउने गरेको थियोे । तर यसपटक त्यो प्रावधान हटाइएको अखिलले आफ्नो विज्ञप्तिमा उल्लेख गरेको छ ।

केही समयअघि त्रिवि सेवा आयोगले कम्प्युटर साइन्स र सूचना प्रविधि विषयसमेतको विज्ञापन खोल्दा पाठ्यक्रमभन्दा बाहिर गएर प्रश्न सोधेको विषयमा पनि अखिलले गम्भिरता देखाएको छ ।

अखिलले आन्दोलनरत विद्यार्थीका जायज माग अविलम्व पूरा गर्न नेपाल सरकार, लोकसेवा आयोग, त्रिवि सेवा आयोगसमक्ष माग गरेको छ ।

विद्यार्थीहरुले आफ्नो आन्दोलनमा प्रमुख विद्यार्थी संगठनहरुबाट समर्थन खोजिरहेको बेला अनेरास्ववियुले ऐक्यबद्धता जनाएको हो ।
सीएसआईटीका विद्यार्थीलाई खुल्ला प्रतिस्पर्धाबाट रोक्ने लोकसेवा आयोगको निर्णय फिर्ता गर्नुपर्ने, आईटी काउन्सिल स्थापना गर्नुपर्ने, त्रिविले उपलब्ध गराएको १० प्रतिशत छात्रवृत्ति कलेजहरूमा अनिवार्य कार्यान्वयन गराउनुपर्नेलगायत ११ बुँदे माग राख्दै सूचना प्रविधिका प्राध्यापक र विद्यार्थीहरू आन्दोलनमा उत्रिएका छन् ।

आन्दोलनमा कम्प्युटर साइन्स एलुम्नाई एसोसिएसन, स्टुडेन्ट एसोसिएसन अफ कम्प्युटर साइन्स, कम्प्युटर साइन्स एण्ड आईटी एसोसिएसन अफ नेपाल र आईटी कलेजका शिक्षकहरूले गत आइतबार माइतीघर मण्डलामा विशाल प्रदर्शन गरेका थिए ।
विद्यार्थीहरुले अन्य स्वरुपका आन्दोलन जारी राखेका छन् ।

प्रतिक्रिया दिनुहोस्