Logo

पत्रकार कुटपिटको घटनाप्रति नेपाल पत्रकार महासंघको खेद प्रकट

दोषिमाथि कारबाही गर्न माग



काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद (साग) को समाचार संकलनका लागि दशरथ रंगशाला पुग्नुभएको नागरिक दैनिकका पत्रकार सुमन चापागाईमाथी प्रहरीबाट भएको कुटपिटको घटनाप्रति नेपाल पत्रकार महासंघले खेद प्रकट गरेको छ । महासंघले एक विज्ञप्ति जारी गर्दै दोषिमाथि कारबाही गर्न माग गरेको छ ।

महासंघका महासचिव रमेश विष्टद्वारा जारी विज्ञप्तिमा संवैधानिक दायित्व निर्वाह गरिरहेका पत्रकारमाथि जिम्मेवार प्रहरी अधिकारीको नेतृत्वमा रहेको प्रहरी टोलीले गरेको यो ज्यादती प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको प्रहार भएको उल्लेख गरिएको छ ।

प्रहरीको यस्ता हर्कतले पत्रकारलाई हतोत्साहित र त्रसित बनाउनुका साथै पत्रकार सुरक्षा थप चुनौतीपूर्ण हुने महासंघको ठहर छ । महासंघले प्रहरीबाट भएको यो ज्यादतीको कडा शब्दमा भत्र्सना गर्दै घटनामा संलग्न प्रहरीमाथि कानुनी कारबाही गर्न र प्रेसको संवैधानिक अधिकारको सम्मान गरी पत्रकारलाई निर्वाध र भयरहित काम गर्ने वातावरण बनाउन सम्बन्धित निकायसँग माग गरेको छ ।

प्रहरीले कुटपिट गरेको तस्विर कैद गर्ने क्रममा प्रहरीले अवरोध र्पुयाउँदै कुटपिट गरेका थिए । प्रहरीको कुटाईबाट उहाँको कानमा चोट लागेको छ।

समाचार संकलनका लागि पुगेका पत्रकारलाई अवरोध गर्दै कुटपिट गर्नु स्वतन्त्रतापूवर्क समाचार संकलन गर्न पाउने सञ्चारकर्मीको पेशागत हकविरुद्धको कदम भएको महासंघले जनाएको छ ।

महासंघले घटनामा संलग्न प्रहरी अधिकारीलाई तत्काल छानविनको दायरामा ल्याई कारवाहीको माग गर्दै प्रहरी संगठनका सदस्यबाट हुने यस्ता नागरिक हक र प्रेस स्वतन्त्रताविरोधी गतिविधीविरुद्ध कडा कदम चाल्न रिपव्लिका शाखाका अध्यक्ष अशोक दाहालले जारी गरेको विज्ञप्तिमा आग्रह गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्