Logo

धरानवासीले तिरे डा शेखरको गुन, पालो कांग्रेसको



काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाको चुनावी अभियान सार्थक भएको छ । चुनावी कार्यक्रम लिएर पाँचथरदेखि सुनसरीसम्मको यात्रा गरेका डा. कोइराला चुनावअघि चार दिनदेखि धरानमा अड्डा जमाएर बसेका थिए । कोइरालाको अनवरत क्रियाशिलताले धरानमा सुखद नतिजा पनि ल्याएको छ ।
सुनसरीको धरान उपमहानगरपालिकाको उपनिर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार तिलक राई अत्याधिक बहुमतले नगरप्रमुखमा विजयी भए । राईले नेकपाका उम्मेदवार प्रकाश राईलाई २ हजार ७ सय ९५ मत अन्तरले पराजित गरेका छन् । तिलकले २६ हजार ७०९ मत ल्याएका थिए ।
उम्मेदवारी छनोटका क्रममा असन्तुष्ट भएका कांग्रेस नेता कार्यकर्ताहरुलाई सम्झाउँदै पार्टीपंक्तिलाई क्रियाशील बनाउन नेता कोइराला लामो तालिका लिएर पाँचथरदेखि सुनसरीसम्मको चुनावी अभियान लिएर हिँडेका थिए । उनी पाँचथरको फाल्गुनानन्द गाउँपालिकादेखि पोखरा, दाङ, भक्तपुरलगायत क्षेत्र पुगे ।
बिना कुनै गुटको प्रतिनिधित्व गर्दै नेता कोइराला चुनावी सभामा खटिएका थिए । गुटभन्दा माथि उठेर आफ्ना नेता कार्यकर्ताको हौसला बढाउन गिरिजाप्रसाद कोइराला पनि चुनावको बेला देश दौडाहामा निस्किने गर्थे । यसपटक सोही पदचाप पछ्याउँदै डा. शेखर कोइरालाले चुनावी अभियानमा नेतृत्व गरेका थिए ।
डा. शेखर र धरानको सम्बन्धको अर्को एक रोचक विषय पनि जोडिने गर्छ । विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपति भएर शेखरले केही वर्ष धरानमा सेवा पनि गरेका थिए । राजनीतिमा आउनुअघि स्वास्थ्य सेवामा क्रियाशील शेखरसँग धरान कहिल्यै नछुट्ने स्थान पनि हो । यसपटक धरानवासीले डा. शेखरको त्यो योगदान पनि स्मरण गरेर आफ्नो कर्तव्य पूरा गरे । अब अर्को कर्तव्य पूरा गर्ने जिम्मेवारी विजयी तिलक राईको काँधमा छ ।
अघिल्लो पटक नेकपाका उम्मेदवारले सफलता पाएको धरानमा यसपटक कांग्रेसका उम्मेदवार विजयी भए । यो विजयले नेपाली कांग्रेस अहिले पनि जनतामाझ पुग्न सक्दा विजय पार्टीकै पक्षमा हुन्छ भन्ने सन्देश दिएको छ ।
कोइरालाले यसपटकको चुनावी अभियानमा कांग्रेसलाई एक ढिक्का बनाउन महत्वपूर्ण भूमिका पनि निर्वाह गरे । उनले नेपाली कांग्रेसका निष्ठावान र ओझेलमा परेका नेता÷कार्यकर्ताको राजनीतिको जिम्मेवारी आफूले लिने घोषणा पनि गरे ।

प्रतिक्रिया दिनुहोस्