Logo

सुत्केरी श्रीमतीको अस्पतालमा मृत्यु श्रीमान बेपत्ता



उदयपुर । त्रियुगा नगरपालिका–४ बाट हिजो (आइतबार) बिहान जिल्ला अस्पताल उदयपुरमा २६ वर्षीया श्रीमती सुष्मालार्ई प्रसूति व्यथा लागेपछि उपचार गर्न आएका प्रेम बुढाथोकी अस्पतालमा श्रीमतीको ज्यान गइसक्दा पनि अझै बेपत्ता छन् ।

श्रीमतीको रगतमा हेमोग्लोबिन कम भई प्रसूति गराउन खतरा रहेकाले जिल्ला बाहिर लान अथवा छिटो रगत लिएर आउन चिकित्सकले सल्लाह दिएपछि खर्च खोज्न हिँडेका बुढाथोकी अझैसम्म नआएको जिल्ला अस्पताल उदयपुरका प्रमुख डा विजय मेहताले बताउनुभएको छ ।

बुढाथोकी र निजका आफन्तको खोजीमा प्रहरी र अस्पतालका सबै कर्मचारी लागेको अस्पतालका कर्मचारी बताउँछन् । हिजो बेलुकी मात्र मृतक खोटाङ जिल्ला दिक्तेल मझुवागढी रुपाकोट नगरपालिका दिक्तेलका टङ्कप्रसाद आचार्यकी छोरी भएको खुलेको छ ।

नाम थर ठेगानासमेत लुकाएर दुवै गाईघाट बस्दै आएका थिए । प्रेम बुढाथोकी बताउनेले आफ्नो नाम थर र ठेगाना ढाँट्ने गरेका कारण सबै कुरा खुल्न नसकेको डिएमगेटका बासिन्दाको भनाइ छ ।

मृतक सुस्मिता भनिने सुष्मा आचार्य भने टङ्प्रसादकी छोरी भएको खुल्न आएको कारण उनका बुबालाई खबर गरेर बोलाइएको जिल्ला अस्पतालका प्रमुख डा मेहताले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्