Logo

भारतको नयाँ नक्साले नेपालमा तरंग, सक्रिय हुन सरकारलाई आग्रह



काठमाडौं । कालापानी र लिपुलेक क्षेत्रलाई भारतले आफ्नो नयाँ राजनीतिक नक्सामा आफ्नो बनाएपछि नेपालमा तरंग उत्पन्न भएको छ ।

भारतले केही दिनअघि सार्वजनिक गरेको देशको राजनीतिक नक्सामा यी दुई भूगोललाई आफ्नोतर्फ राखेको हो । लामो समयदेखि नेपाली भूमि कालापानीमा आफ्नो सेना तैनाथ गरिरहेको भारतले आफ्नो नक्सामा समेत यसलाई राखेर सार्वजनिक गरेको हो ।

भारतले केही महिनाअघि विवादित भूमि जम्मु–कश्मीरलाई दिइएको विशेष दर्जा खारेज गरेपछि नयाँ नक्सा सार्वजनिक गरेको हो । यो नयाँ नक्सामा विशेष दर्जा खारेज अघिसम्म एकै राज्यमा रहेका जम्मु कश्मीर चीनले समेत दाबी गरिरहेको भूमि लद्दाखलाई अलग अलग राज्यका रुपमा सार्वजनिक गरिएको छ । केन्द्रशासित यी भूगोललाई दुई राज्यमा विभाजन गरिएको निर्णय औपचारिक रुपमा लागु गरेकै दिन यही आइतबार भारतले उक्त नक्सा सार्वजनिक गरेको हो ।

नेपाली भूमि लिपुलेक र कालापानी दुवैलाई आफ्नो क्षेत्रमा राखिएपछि नेपालबाट भारतको आलोचना सुरु भएको छ । यसअघि सार्वजनिक गरिएको नेपाली नक्सामा कालापानी र लिपुलेक दुवै क्षेत्र नेपालतर्फ नै रहेको देखाइएको छ ।

नापी विभागले सार्वजनिक गरेको नक्सामा यी दुई क्षेत्र नेपालमै रहेको देखाइएको छ । नेपाली भूमि कालापानीमा भारतले लामो समयदेखि आफ्नो सेनाको अस्थायी व्यारेक राखेको छ । कालापानीमा भारतीय सेना बसेपछि नेपालस्थित राजनीतिक दलका संगठनले त्यहाँबाट हट्न भन्दै कैयौँ पटक प्रदर्शन पनि गरिसकेका छन् ।

यसैबीच भारतको नक्सामा नेपाली भू–भाग परेपछि नेपालका राजनैतिक दलका नेता तथा सामाजिक अभियान्ता अनी नागरिकहरुले यो समस्या समाधानका लागि सरकार सक्रिय हुनुपर्ने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

Recent Posts