Logo

कप्तान मल्ललाई डेब्यू सफलता, एमसीसी ५ विकेटले पराजित



काठमाडौं । नेपाल भ्रमणमा रहेको विश्व क्रिकेटको सबैभन्दा पुरानो क्लब मेरिलेबोन क्रिकेट क्लब (एमसीसी) विरुद्धको एकदिवसीय क्रिकेटमा नेपालले जित निकालेको छ ।

किर्तिपुरस्थित टियु क्रिकेट मैदानमा सोमबार भएको खेलमा नेपालले एमसीसीलाई ५ विकेटले पराजित गरेको हो । एमसीसीले दिएको २ सय २ रनको लक्ष्य नेपालले ३७ ओभर ३ बलमा मात्र ५ विकेट गुमाएर पुरा गर्यो । नेपालको जितमा विनोद भण्डारीले अविजित रहदै ५२ रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै पवन सर्राफ ३८ रनमा अविजित रहे । खराब सुरुवात गरेको नेपालले मात्र १८ रन जोड्दा २ विकेट गुमाएको थियो । तर, तेस्रो विकेटका लागि शरद भेषवाकर र दिपेन्द्र सिंह ऐरीले ६७ रनको साझेदारी गर्दै नेपाललाई उकासेका थिए ।

शरद २४ रनमा आउट हुँदा दिपेन्द्रले २३ रन बनाए । कप्तान ज्ञानेन्द्र मल्ल १० रनमा आउट हुँदा आरिफ शेखले २३ तथा इशान पाण्डेले ४ रन बनाए । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको एमसीसीले ३९ ओभर २ बलमा अलआउट हुँदै २ सय १ रन बनाएको थियो । एमसीसीका विल रोड्स र विलि गोडलम्यानले अर्धशतकीय इनिङ्स खेले । रोड्सले ५४ रन जोड्दा गोडलम्यानले ५२ रन बनाए ।

नेपालका पवन सर्राफ र ललित नारायण राजवंशीले समान ४–४ विकेट लिए । करण केसी र अविनास बोहराको नाममा १–१ विकेट रह्यो । यो जितसँगै स्थायी कप्तानको डेब्यु खेलमा मल्लले नेपाललाई जित दिलाएका छन् । अब नेपालले एमसीसीसँग तीन दिवसीय खेल खेल्नेछ । तीन दिवसीय बुधबार सुरु हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

Recent Posts