Logo

बलात्कार अभियोगका आरोपी महरा पुर्पक्षका लागि थुनामा



काठमाडौं । संसद्की कर्मचारीमाथि बलात्कार अभियोग लागेका निवर्तमान सभामुख कृष्णबहादुर महरालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ ।

दुई दिनसम्मको बहसपछि जिल्ला न्यायाधीश सुदर्शनराज पाण्डेको इजलासले महरालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो । जिल्ला सरकारी वकिलको कार्यालयले महराविरुद्ध करणीसम्बन्धी कसुरमा बिहीबार मुद्दा दर्ता गरेको थियो । महराविरुद्ध मुलुकी अपराधसंहिता, २०७४ को दर्ता दफा ३४ को उपदफा ३ बमोजिम मुद्दा दर्ता गरिएको थियो ।

उक्त उपदफामा कसूर गर्न उद्योग गर्ने वा गराउने व्यक्तिलाई त्यस्तो कसुरका लागि तोकिएको सजायको आधा सजाय हुने व्यवस्था छ । जिल्ला अदालत काठमाडौंका स्रेतेदार आनन्दप्रसाद श्रेष्ठले न्यायाधीश पाण्डेको इजलासबाट १० पेज लामो उक्त आदेश भएको जानकारी दिनुभयो ।

संसद सचिवालयकी कर्मचारीमाथि बलात्कार प्रयास अभियोग लागेका निवर्तमान सभामुख कृष्णबहादुर महरामाथिको थुनछेक बहस सोमबार सकिएपछि यो आदेश आएको हो ।

गत असोज १२ गते रोशनीलाई बलात्कार प्रयासको आरोपमा महरा असोज १९ गते सभामुख निवास बालुवाटारबाट पक्राउ परेका थिए । प्रहरीको अनुसन्धानका क्रममा महराले डिएनए परीक्षणका लागि रगत दिन मानेका थिएनन् भने ढाँटे नढाँटेको पत्ता लगाउन गरिने पोलिग्राफ परीक्षण गर्न पनि अस्वीकार गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

Recent Posts