Logo

मुग्लिनबाट पोखरासम्म पुग्न ४ लेनको सडक बन्ने सुनिश्चित



काठमाडौं । मुग्लिनबाट पोखरासम्म पुग्न ४ लेनको सडक बन्ने सुनिश्चित भएको छ । एसियाली विकास बैंकले यो सडकखण्ड विस्तारका लागि करिब २२ अर्ब ऋण पारित गरेपछि यो खण्ड विस्तारको काम अघि बढ्ने भएको हो ।

सडक विभाग अन्तर्गतको एडीबी सडक निर्देशनालयका उपआयोजना निर्देशक सौरभ बज्राचार्यका अनुसार अबको एक हप्ताभित्रै मुग्लिन पोखरा सडकको आँबुखैरेनी–पोखरा खण्डको लागि टेन्डर आह्वान हुनेछ । करिब ८० किलोमिटरको यो खण्डलाई दुई प्याकेजमा विभाजन गरेर ठेक्का लगाउने तयारी छ ।

यो टेन्डरबाट छानिने कम्पनीले सडकसीमा भित्रको संरचना हटाउने, रुख कटान गर्ने, पोल सार्नेसहित सडक विस्तार गर्नेसम्मका काम जिम्मा पाउनेछ । यो खण्ड विस्तार गर्दा करिब ६ हजार रुख काट्नुपर्ने वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदनले देखाएको छ ।

आबुखैरेनीदेखि मुग्लिनसम्मको करिब ८ किलोकिटरको खण्डको भने डिटेल इन्जिनियरिङ रिपोर्ट तयार गरिँदैछ, करिब ६ महिनामा यो काम सकिने अनुमान विभागको छ ।‘यो आयोजना तीनवटा प्याकेजमा ठेक्का लाग्नेछ, दुई लेनको ठेक्का प्रक्रिया अघि बढिहाल्ने अवस्था छ,’ बज्राचार्यले भने, ‘बाँकी एउटा प्याकेजको डिटेल इन्जिनियरिङ भइरहेको छ । यो काम सकिनासाथ अर्को टेन्डर पनि आह्वान गर्छौं ।’

यो सडक बन्ने क्षेत्रको भौगोलिक, वातावरणीय र पर्यावरणीय अवस्थाअनुसार सडकको डिजाइन गरिएको छ । करिब २ वर्षअघि नै यो परियोजनाको विस्तृत डिजाइन भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

Recent Posts