Logo

चिनियाँ राष्ट्रपति सी आउदा ल्याएको दुबो चोरी



काठमाडौ । नियमित तीनकुने भएर हिँड्ने यात्रुहरु चिनियाँ राष्ट्रपति सी चिनफिङ नेपाल आउनुभन्दा केही दिनअघि आश्चर्यमा परे।

सवारी साधन पार्किङ, झाडी लगायतको दृष्य देखिने तीनकुनेमा रातारात बगैंचा बन्यो। बीचको खाली ठाउँ छोप्नलाई छेउ–छेउमा माटो थुपारेर त्यसमाथि दुबो चपरी राखियो।

यो सबै गर्दा २५–३० लाखको हाराहारीमा खर्च भएको काठमाडौं महानगरपालिका, वातावरण व्यवस्थापन विभागका प्रमुख हरिबहादुर श्रेष्ठले जानकारी दिए।

‘दशैंको बेला भएकोले फूलदेखि श्रमिक लागत समेत महंगो पर्यो,’ उनले भने।

तर, सी चिनफिङ फर्किएको १ हप्ता पनि हुन नपाउँदै त्यहाँका दुबोको चपरी समेत चोरी भएको श्रेष्ठले जानकारी दिए।

‘एयरपोर्ट तर्फको भाग र अन्य विभिन्न ठाउँबाट दुबो हराएको छ। त्यस्तै केही फूलहरु पनि छैनन्। आफ्नो घरमा लगेर सारेको पनि हुन सक्छ वा कसैले बदमासी गरेर फालेको पनि हुनसक्छ,’ उनले भने।

अब भने यो घटना नदोहोरिने श्रेष्ठको तर्क छ।

‘अहिले सशस्त्र प्रहरीले पार्क रेखदेख गरिरहेको छ। पार्क तयार नभएसम्म उहाँहरुले संरक्षण गर्नुहुन्छ,’ उनले सेतोपाटीसँग भने।

राष्ट्रिपति सी चिनफिङ स्वदेश फर्किसकेका छन्। उनको स्वागतको लागि सडक सुन्दर बनाउन नेपाल सरकारले सडक रंग्याउनेदेखि स्वागत गेट बनाउनेसम्म गरेको थियो। काठमाडौं महानगरपालिकाले सी हिड्ने मूख्य चोक सजाएको थियो।

प्रतिक्रिया दिनुहोस्

Recent Posts