Logo

आज दशैंको सातौ दिन, घरघरमा फूलपाती भित्र्याइदै



काठमाडौं । आज नवरात्रिको सातौं दिन अर्थात फूलपाती, दशैंको खास दिन आजैबाट शुभारम्भ हुन्छ । फूलपातीको दिनदेखि सरकारी कार्यालयहरु सार्वजनिक विदा हुने भएकाले दशैंको टीका थाप्न आ–आफ्नो घर फर्किने क्रम आजैबाट बढेको छ ।

घरघरमा स्थापना गरिएको नवदुर्गा एवं दशैँ घरमा आज अपराह्न विधिपूर्वक फूलपाती भित्राइन्छ । घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आह्वान गरी पूजाआजा गरिएको दशैँ घर अथवा पूजा कोठामा शुभ साइतको प्रतीकका रुपमा उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल र मानवृक्ष भित्राउने गरिन्छ ।

नवपत्रिकाको नामले समेत चिनिने फूलपाती नौ देवीको प्रतीकको रुपमा भित्राइ शास्त्रीय विधिअनुसार शक्तिको आराधनाका साथ पूजा गर्ने वैदिक विधि रहेको छ ।

‘केरामा ब्रहृमाणी, दारिममा रक्तदन्तिका, धानमा लक्ष्मी, हलेदोमा दुर्गा, मानवृक्षमा चामुण्डा, उखुमा कालिका, बेलपत्रमा शिवा, अशोकमा शोकरहिता र जयन्तीमा कात्तिकी देवीको आवाहन गरी पूजा गरिन्छ ।

फूलपाती भित्राएपछि नौ वटै देवीको विधिपूर्वक पूजा आराधना गरिन्छ । फूलपाती भित्राउनका लागि साइतको आवश्यकता नपर्ने नेपाल पंचाग समितिीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

Recent Posts