Logo

राँगाको बिलाप

विष्णुभक्त उपाध्याय



हे माता जगदम्विका भगवती शैलेश्वरी मालिका
हे माता भुवनेश्वरी गिरिसुता सुर्मेश्वरी कालिका
हे निग्लासयनी विभिन्न रुप छौ देवी तिमी लोकमा
के सन्तान म हैन सोच मनले माया दया खै ममा ?

धर्तीमा अधिकार हुन्छ बुझिद्यौ मेरो यहाँ उत्तिकै
मेरो रक्त पवित्र हुन्छ कति यो भन्द्यौ तिमी साच्चिकै
हे देवी कति रुच्दछौ रगत यो खोलेर आँखा उमा
मेरो पीडन यो बुझेर भनिद्यौ माया दया खै ममा ?

यस्तो सोच परम्परा मगजले प्राणीहरूको अब
होला के गति जीवको भन यहाँ बन्ने छ कस्तो भव
मान्छेले अधिकार भन्दछ यहाँ लड्दैछ संसारमा
खै मेरो अधिकार चिन्तन यहाँ माया दया खै ममा

धर्ती केवल मानवी यदि भए प्राणी अरूको कहाँ ?
माता हौ जननी तिमी क कसकी नाता छ मेरो कहाँ ?
मेरो अन्तरको मर्‍यो जिजिविषा बाचौ कसोरी यहाँ
मेरो देह रुचाउँने मनहरू माया दया खै ममा ?

पाखण्डी मन हो कि देव पनको यो कर्म हो दर्शन
बुझ्नै मुस्किल भो जनावर म ता संसारको चिन्तन
मेरो मासु पवित्र हो यदि भने खोलेर आत्मीयता
चोखो मानसले नियाल मनमा माया दया खै ममा ?

आत्माको अपमान गर्दछ उही आत्मा हुनेले किन
प्राणी दर्शन नै कुरूप किन खै आफै बुझून् सज्जन
मेरो भोग गरी कहाँ सफलता पाइन्छ यो लोकमा
खायौ नश्वर काय यो बध गरी माया दया खै ममा

हत्याको बिधिले खुशी जगतमा हुन्छौ भने ईश्वर
यो संसार सधै यही मगजको बन्नेछ सस्तो घर
हत्त्यारा कुन हो तिमी कि नर हो भन्द्यौ मलाई उमा
त्यो हत्या किन चाहना रहर भो माया दया खै ममा ?

हे देवी दुख नासने प्रण भए खै त्यो हरायो कहाँ ?
हे देवी सब जीव दृष्टि ममता खोज्छन् धरामा यहाँ
कस्तो धर्म छ यो सजीव बधले के मिल्छ संसारमा
हे देवी भनिद्यौ सिधा वचनले माया दया खै ममा ?

यो चित्कार र दर्दनाक मनको को बुझ्छ ? पीडा यहाँ
यो आवाज रुवाउने धरधरी को सुन्छ ?आमा यहाँ
यो बाच्ने अधिकार रक्षण कठै को गर्छ ? यो लोकमा
मान्छे देव दुबै विचार गर लौ माया दया खै ममा ?

भन्दैछन् जगमा हुदैन कहिल्यै साच्चै कुमाता किन ?
हे माता अब के भनौं मगजले थामिन्न यो रोदन
मेरो अन्तरयामको मुक पना को बुझ्छ ? यो लोकमा
देवीका सब देवका मन बुझून् माया दया खै ममा ?

(छन्द शार्दूलविक्रीडित)

प्रतिक्रिया दिनुहोस्