Logo

ठेकेदारले कुटे निर्माणाधिन पोखरा विमानस्थलका प्रमुखलाई



पोखरा । पोखरामा निर्माणाधिन पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलका रनवे प्रमुख अनिल कार्की माथि निर्घात कुटपिट भएको छ । विमानस्थलको भित्री संरचना बनाउने ठेकेदार कम्पनीका म्यानेजर कमल कार्की नेतृत्वको टोलीले उनीमाथि कुटपिट गरेका हुन् ।

उनीमाथि बुधबार राती १० बजे कुटपिट भएको हो । कार्कीलगायत कुटपिटमा संलग्नहरु आयोजना प्रमुख प्रदीप अधिकारी निकटका व्यक्ती भएको पीडित अनिल कार्कीले बताएका छन् ।

पार्टी छ भनि बोलाएर योजनावद्ध ढंगले आफुमाथि कुटपिट गरिएको रनवे प्रमुख कार्कीले बताए । ‘दशैँको बेला रमाइलो गरौँ भनेर पार्टीमा बोलाएर आक्रमण गरे’ उनले भने । घाइते भएका कार्कीको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा उपचार भइरहेको छ ।

‘उनीहरुले हिजो दिउँसै देखि रक्सी खाएका थिए’, कार्कीले भने, ‘कमल कार्की, सागर मोहन, सोेबेन्द्रराज जोशीलगायतले बोतल र रडले टाउकोमा हानेपछि म बेहोस भएछु । त्यसपछि पनि कति कुटे थाहा पाइनँ । चोट हेर्दा लाग्छ बेहोस भएपछि पनि धेरै कुटेछन्’ उनले भने ।

एयरपोर्ट निर्माणका क्रममा भएका अनियमितता आफुले बाहिर ल्याउने डरले कुटपिट गरेको उनले आरोप लगाए । कमल कार्कीले केहि समय पहिले उनलाई जागिरबाटै निकाल्न प्रयास गरेको समेत उनको आरोप छ ।

कार्कीको टाउको र आँखामा चोट लागेको छ । दायाँ आँखा सुन्नीएको र रगत जमेको देखिन्छ । शरिरका विभिन्न भागमा निलडाम समेत छन् ।
निर्माणाधिन भवन, एयरपोर्ट बाहिरको सडक, प्रयुक्त सिमेन्ट सम्झौता र गुणस्तर मापदण्ड अनुसार नभएको उनले बताए । त्यहाँबाट निस्केका ढुंगाहरु अवैध तरिकाबाट बिक्रि पनि गर्ने गरेका छन् । यी र यस्ता विविध विषय सार्वजनिक गरिदिने डरले कुटपिट गरेको कार्कीले आरोप लगाएका छन् ।

विमानस्थल प्रमुख बिनेस मुनाङ्कर्मीले भने उनीहरुको व्यक्तिगत झगडाले ठुलो रुप लिएको बताए । ‘उनीहरुबीच कर्मचारी हटाउने र राख्ने विषयमा झगडा भइरहन्थ्यो’ उनले भने ।

जिल्ला प्रहरी कार्यालय, कास्कीका डिएसपी राजकुमार केसीले भने घटनाबारे केही जानकारी नआएको बताए ।

प्रतिक्रिया दिनुहोस्

Recent Posts