Logo

क्यान निलम्बन फुकुवाकाे बाटाेमा, चुनावी साधारणसभा आज



काठमाडौं । नेपाल क्रिकेटसंघ क्यानको चुनावी साधारणसभा आज काठमाडौंमा हुँदैछ। क्यान चुनावका लागि २ दिनको कार्यक्रम रहेको छ। जसमा आज साधारणसभा हुनेछ भने भोलि नेतृत्वको चुनाव हुनेछ।

आज उद्घाटन सत्रमा चुनाव सम्वन्धी कार्यविधि तय हुनेछ। आजको साधारणसभा दिउँसो पौने २ बजेबाट ४ बजेसम्म चल्ने छ। त्यस्तै भोलि हुने क्यानको चुनावले नयाँ नेतृत्व चयन गर्ने छ।

क्यान चुनावका लागि ५९ जना प्रतिनिधिहरु काठमाडौं आइसकेका छन्। ५९ जना प्रतिनिधिले चुनावमार्फत १७ सदस्यीय कमिटी बनाउने छन्। आजको कार्यक्रममा खेलकुद मन्त्री जगतकुमार विश्वकर्मा, राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव रमेशकुमार सिलवालको उपस्थिति रहने बताइएको छ।

क्यानको नेतृत्वका लागि दुइ पूर्वअध्यक्षहरु विनयराज पाण्डे र चतुरबहादर चन्द चुनावी मैदानमा उत्रँदै छन्। विनयराज पाण्डेसँग लामो समय क्यानको नेतृत्व तहमा रहेर काम गरेको अनुभव छ भने उनी अन्तर्राष्ट्रिय सम्वन्धको जानकार पनि मानिन्छन्। त्यस्तै अर्को प्रत्यसी चतुरबहादुर चन्द वर्तमान निर्वाचित क्यानका अध्यक्ष हुन्। आफू विधिसम्मत हिसावले निर्वाचित भएर पनि राम्ररी कार्यसम्पादन गर्न नपाएको तर्क चन्द समूहको छ। दुवै समूह आआफनो प्यानल बनाएर क्यानको नेतृत्व लिन चुनावी मैदानमा छन्।

त्यसो त क्यान विवाद नयाँ होइन। २०७३ सालमा क्यानमा सरकारी हस्तक्षेभ भएको भन्दै आइसिसीले क्यान निलम्बन गरको थियो। एकातर्फ क्रिकेटप्रति जनमानसमा बढ्दो रुचि र अर्कोतर्फ राजनीतिबीच क्यान निलम्बन फुकुवाका लागि नेतृत्वमा दबाब थियो। यसैबीच खेलकुद परिषद, निर्वाचित क्यान, आइसिसिलगायतको संलग्नतामा बनेको स्वतन्त्र कमिटीले जिल्ला प्रदेशहुँदै केन्द्रको निर्वाचन गरेपछि क्यान निलम्बन फुकुवा गर्ने सहमति बनेको थियो।

यसैअनुरुप स्वतन्त्र कमिटीले क्यानको केन्द्रीय चुनाव असोज ३ र ४ गते गर्ने निर्णय गरेको थियो। तर, राष्ट्रिय खेलकुद परिषदले आफूसँग अनुमति नलिइ गरेको चुनाव मान्य नहुने बताएको थियो। त्यस लगत्तै क्यान निर्वाचनकाे सहमति बनाउन आइसिसीका प्रतिनिधिहरु इमरान ख्वाजा र उमर शेख नेपाल आएका थिए। आइसिसीका प्रतिनिधि स्वतन्त्र कमिटी र राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव रमेशकुमार सिलवालबीचकाे छलफलबाट क्यानकाे चुनाव असोज १० र ११ गते चुनाव सम्पन्न गर्ने सहमति भएको थियो। त्यही सहमति अनुरुप आज क्यान चुनावका लागि साधारण सभा हुँदैछ।

क्यानमा नयाँ विवादरहित हिसावले नयाँ नेतृत्व आएसँगै क्यानको निलम्बन फुकुवा हुनेछ।

प्रतिक्रिया दिनुहोस्

Recent Posts