Logo

नेपालगञ्जमा तरुणदलका युवामाथि खुँडा प्रहार



नेपालगन्ज : नेपाली कांग्रेस निकट नेपाल तरुण दलमा आवद्ध युवामाथि नेपालगन्जमा खुडा प्रहार भएको छ। धम्बोझी चोक नजिक रहेको एक रेष्टुरेन्टमा बुधबार राती करिव साढे १० बजेतिर उनीहरुमाथि खुडा प्रहार भएको हो। खुडा प्रहारबाट नेपाल तरुण दल नेपालगन्ज उपमहानगर सभापति संदिपजंग शाह तथा तरुण दलमा आवद्ध रहेका दाङ, बबई गाउँपालिका वडा नम्बर २ का घमण्ड खड्का र घोराही उपमहानगरपालिका वडा नम्बर १४ निवासी अमर रोका घाइते भएका हुन्। घाइतेमध्ये खड्काको अवस्था गम्भीर रहेको छ।

उनलाई थप उपचारका लागि भारतको लखनउ रिफर गरिएको छ। अर्का घाइते रोकाको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जको आइसियुमा उपचार भइरहेको छ, भने शाहको अवस्था सामान्य रहेको बताइएको छ। प्रहरीले गुण्डागर्दी नियन्त्रणमा ल्याएको दाबी गरिरहेका बेला उपमहानगरको मुटु मानिने धम्बोझी चोक क्षेत्रमै भएको उक्त घटनाले यहाँको शान्ति, सुरक्षामाथि प्रश्न उठाएको छ।

उक्त घटनामा संलग्न रहेको आरोपमा प्रहरीले चौविस घण्टा बित्न नपाउँदै दुई जनालाई पक्राउ गरिसकेको जनाएको छ। खुडा प्रहार गरी फरार रहेका नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १२ कोरियनपुरका ३२ बर्षिय बिनोद खड्का र खजुरा गाउँपालिका वडा नम्बर १ निवासी ३० बर्षिय दिपक थापालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता (डिएसपी) शिवबहादुर सिंहले जानकारी दिए। डिएसपी सिंहको कमाण्डमा खटिएको टोलीले उनीहरुलाई बिहीबार बेलुकी खजुरा गाउँपालिका वडा नम्बर ३ खजुराबाट नियन्त्रणमा लिई अनुसन्धान भइरहेको बाँके प्रहरीले जनाएको छ। नागरिकमा खबर छ।

प्रतिक्रिया दिनुहोस्

Recent Posts