Logo

वीपी जयन्ति, जागरण अभियान र वर्तमानको कांग्रेस



♦धर्मेन्द्र झा, नेपाली कांग्रेसले भदौ २४ देखि दोस्रो चरणको जागरण अभियान प्रारम्भ गरेको छ । आफ्ना संस्थापक तथा सिद्धान्तकार महामानव वीपी कोइरालाको १०६ औ जन्मजयन्तिको अवसर पारेर कांग्रेसले प्रारम्भ गरेको यो अभियान धेरै दृष्टिले महत्वपूर्ण हुने विश्वास गरिएको छ । तर सबभन्दा महत्वपूर्ण प्रश्नको उत्तर भने सबैतिरबाट अपेक्षित छ, त्यो के हो भने यो अभियानले कांग्रेसमा एकताको सन्देश प्रवाह गर्न सक्छ कि सक्दैन ?
पहिलो चरणको अभियानअन्तर्गत धेरैजसे स्थानमा कांग्रेसले उपर्युक्त प्रश्नको सामना गर्नु पर्यो तर जवाफ भने कार्यकर्ताले स्पष्टरुपमा प्राप्त गर्न सकेनन् । यसपटकको जागरण अभियानका सन्दर्भमा आशा गरौं, कार्यकर्ताले यो प्रश्नको समुचित उत्तर पाउनेछन् र एकताको भावको अनुभूति गर्नेछन् ।
हो, कांग्रेसका कार्यकर्तालाई परिचालित गर्न र वर्तमान सन्दर्भमा केही सन्देश दिने दृष्टिकोणले यो अभियानको निश्चय पनि धेरै ठूलो महत्व छ । तर फाटेको मनमा सिंगो भावनाको समावेश निकै कठीन कार्य हो । यस सन्दर्भमा निश्चय पनि महामानव वीपीको सन्देशले कांग्रेसजनलाई उत्प्रेरित गर्ने विश्वास गर्न सकिन्छ र वास्तवमा यही उत्प्रेरणाको भाव नै वीपीप्रतिको सच्चा श्रद्धाञ्जलि हुनेछ ।
सभापति शेरवहादुर देउवाको प्रधानमन्त्रित्वकालमा सम्पन्न संसदीय र प्रादेशिक निर्वाचनमा कांग्रेसको पराजय लोकतन्त्रवादीका लागि पीडाको विषय बनेको कुरा कसैबाट लुकेको छैन । कांग्रेस प्रतिपक्षी त बन्यो त्यो पनि अत्यन्त दुव्लो । तर कुरा यहाँसम्म विग्रेको थिएन । कुरा त कहाँ विग्रने अवस्थामा पुगेको छ भने कांग्रेसले प्रतिपक्षको भूमिका त राम्ररी निर्वाह गर्न सकेको छैन नै पार्टीभित्रको व्यवस्थापन पनि सफलतापूर्वक गर्न सकेको छैन ।
निर्वाचनकालीन तुसहरु पालेर कांग्रेस आपसमा एकताको परिभाषा खोजिरहेको छ । यही अवस्थामा त्यो कति सम्भव छ ? कांग्रेसजनहरुले यसको अनुमान सहजै गर्न सक्छन् । जागरण अभियानले यी सबै सन्दर्भमा अपेक्षित सम्बोधन गर्ने विश्वास गर्नु गलत हुने छैन । तर महाधिवेशनको तिथि क्रमशः नजिकिँदै गरे पनि कांग्रेसले आफ्नो संगठनलाई अझै पूर्णता प्रदान गर्न नसक्नु दुखद छ । पार्टीका केन्द्रीय विभागहरु अझै पनि गठन हुन सकेका छैनन् भने भ्रातृ र शुभेच्छुक संस्थाहरुको अधिवेशन हुन सकेको छैन । फलतः विवादको आकार बढिरहेको कुरामा शंका छैन ।
यस्तोमा जागरण अभियान सिंगोरुपमा कसरी जनता, मतदाता र कार्यकर्ताबीच उपस्थित हुन्छ, विचारणीय छ । अझ महत्वपूर्ण कुरा त यस्तोमा कांग्रेसले अपेक्षित परिणाम कसरी प्राप्त गर्न सक्छ भन्ने हो ।
नेपाली कांग्रेस देशको सबैभन्दा जेठो लोकतान्त्रिक पार्टी हो । कतिपय सन्दर्भमा कांग्रेस र लोकतन्त्रलाई एक अर्काको पर्यायका रुपमा पनि व्याख्या गर्ने गरिन्छ । यस पार्टीको इतिहास अध्ययन् गरेका खण्डमा माथिको व्याख्यालाई ठाडै अनुचित भन्न मिल्दैन ।
पछिल्लो दशकमा नेपालमा संसदीय पद्धति र जातीय तथा साम्प्रदायिक दृष्टिले अनेकथरि मुद्दा स्थापित भए वा गराइए । नेपाली कांग्रेस पनि त्यसबाट प्रभावित नभई रहन सकेन । वितेको दशकमा वैचारिक दृष्टिले नेपाली कांग्रेसले निकै आरोह—अवरोहको सामना गर्नुपरेको यथार्थ कसैबाट लुकेको छैन । आफ्नो दर्शनको पक्षमा जनमत बनाउने र त्यसमा सबैलाई गोलबद्ध गर्दै अगाडी बढ्ने चरित्र नै लोकतान्त्रिक चरित्र हो । तर पछिल्ला गतिविधिहरुले यसै सन्दभएमा पनि थुप्रै प्रश्नहरु ठड्याएका छन्, जसको समुचित सम्बोधन अपहिार्य छ ।
०४६को आन्दोलनका क्रममा कांग्रेसले आन्दोलनको औपचारिक घोषणा गरिसकेपछि आन्दोलनमा सहभागी हुन आउने कम्युनिष्टहरुलाई कमाण्डर गणेशमान सिंहले भन्नु भएको थियो ‘तपाईहरु मिलेर आउनुस, सबै कम्यूनिष्टहरुसंग अलग अलग एकता गर्न सम्भव हँुदैन ।’ सिंहको यो आग्रहपछि नै संयुक्त बाममोर्चा बनेको थियो ।
त्यो मोर्चा कांग्रेसले लिएको तात्कालिक लक्ष्यलाई स्वीकार्दै आन्दोलनमा सहभागी भएको थियो । आन्दोलनमा बाममोर्चा सहभागी हुँदा उनीहरुको कुनै छुट्टै एजेण्डा थपिएको होइन । कांग्रेसले आफ्नो यो बिशिष्ट चरित्रलाई जोगाउने मात्र होइन, अझ प्रखररुपमा विकसित गर्न सक्नुपर्थो । तर पछिल्ला गतिविधि हेर्ने हो भने कांग्रेसले यसो गर्न सकेन । यस विपरित कांग्रेसले मुद्दागतरुपमा त्यही मोर्चाका सामु आत्मसमर्पण गर्यो र वामपन्थलाई लोकतन्त्र सुम्पियो ।
गणतन्त्र नेपालमा लामो समयसम्म सत्ताको बागडोर वामपन्थीहरुले समालेको पृष्ठभूमीमा देशको पुनर्संरचना गर्ने दायित्वका साथ सत्तामा आसिन विगतको निर्वाचनकालीन देउवा सरकारका सामु अत्यन्त महत्वपूर्ण अवसर थियो, देशलाई भावनात्मकरुपमा जोड्ने र समृद्धिको मार्गमा डोर्याउने । मधेशका असन्तुष्टिलाई सम्बोधन गर्न देउवाले नयाँ गोलवन्दी गर्न सक्नुपथर््यो । तर विडम्वना, सकिएन ।
मधेशमा व्यापक जनाधार भएको कांग्रेसले मधेशलाई आफ्नो आँखाले नहेरी मधेशकेन्द्रित दलको आँखा पैंचो लिएर हेर्ने प्रयास गर्यो, जुन गलत थियो । अहिले ती सबै कुरामा पछुतो मान्नुबाहेक अन्य केही विकल्प छैन । विगतका ती कुराको सम्झनाले कांगे्रसको गुमेको साख फिर्ता हुने होइन । तर एउटा कुरा भने हो, विगतको स्मरणले कांग्रेसमा सुधारको मार्ग भने पहिल्याउन सकिन्छ । कम्तिमा दोस्रो चरणको जागरण अभियानका क्रममा कांग्रेसले कार्यकर्तालाई यिनै विषयमा आश्वस्त गराउने र नयाँ ढंगले संगठनको विकास र विस्तारमा जुट्ने अपेक्षा गर्नु अनुचित हुँदैन ।
दुखका साथ भन्नु पर्छ, कांग्रेसमा माथि उल्ल्ेख गरिएका कुराको स्वीकारोक्ति छैन । कांग्रेस वीपीको तस्वीरलाई साक्षी राखेर गुटवन्दीमा व्यस्त छ । यस्तोमा वीपीको सपनाले कसरी मूर्तरुप ग्रहण गर्न सक्छ ? सोचनीय छ ।
कांग्रेसले यस तथ्यलाई स्वीकार गरेर आफूलाई निर्देशित गर्ने प्रयास गर्ने हो भने पनि वर्तमानमा कांग्रेसको सान्दर्भिकता बढन सक्छ । यतिमात्र होइन, यसपछि कांग्रेसलाई प्रतिपक्षको भूमिका निर्वाह गर्न पनि नयाँ ऊर्जा प्राप्त हुनेछ । यसै आधारमा जागरण अभियानको सार्थकता निहीत छ र सँगै वीपीप्रतिको सच्चा श्रद्धाञ्जलि पनि यही नै हुनेछ ।

प्रतिक्रिया दिनुहोस्