Logo

नेपालको प्राविधिक शिक्षामा जमर्नी संस्थाहरुको चासो



काठमाडौं : नेपालमा प्राविधिक शिक्षामा सहयोग गर्न जमर्नीमा भएका गैरसरकारी संस्थाहरुले चासो दिएका छन् । जर्मनीको कोलनमा आयोजित २१औँ गैरसरकारी संस्थाको सम्मेलनले नेपालको आर्थिक समृद्धिका लागि प्राविधिक तथा व्यावसायिक शिक्षाको प्रवद्र्धन आवश्यक भएकाले यसमा सहयोग गर्न जर्मनीस्थित विभिन्न गैरसरकारी संस्थाहरुले चासो देखाएका हुन् ।

जर्मनी नेपाल मैत्री सङ्घको आयोजनामा भएको सो सम्मेलनमा नेपालको समृद्धिका लागि प्राविधिक तथा व्यावसायिक शिक्षाको प्रवद्र्धन गर्नु आवश्यक भएको भन्दै यसका लागि बाह्य लगानी, प्रविधि र ज्ञान भित्रर्याउन सकिने सम्भावनाका बारेमा छलफल भएको थियो ।

कार्यक्रममा नेपालका लागि जर्मनीका राजदूत रोनाल्ड सेफरले जर्मनीले प्राविधिक तथा व्यावसायिक शिक्षाको माध्यमबाटै आर्थिक विकास गर्न सकेको उल्लेख गर्दै नेपालमा पनि यसलाई प्रवद्र्धन गर्न सकिने र यसमा जर्मनी सरकार तथा यहाँका सङ्घसंस्थाहरु सहयोग गर्न तत्पर रहेको बताए ।

नेपाल आर्थिक समृद्धिको बाटोमा अगाडि लम्किरहेकाले यसलाई अझ अगाडि बढाउन पर्यटन, कृषि र रोजगारीमूलक क्षेत्रमा आवश्यक दक्ष जनशक्ति तयार गर्नका लागि प्राविधिक तथा व्यावसायिक शिक्षाको खाँचोको आवश्यकता रहेकोमा जोड दिए ।

कार्यक्रममा नेपालका लागि जर्मनीका महावाणिज्यदूतसमेत रहनुभएका जर्मनी नेपाल मैत्रीसङ्घका अध्यक्ष रामप्रताप थापाले नेपालको प्राविधिक शिक्षाका क्षेत्रमा काम गर्न जर्मनीमा रहेका विभिन्न सङ्घसंस्थाहरु इच्छुक रहेकाले उनीहरुलाई यसबारे जानकारी गराउन र आगामी दिनमा सहयोग अभिवृद्धि गराउन सम्मेलनको आयोजना गरिएको बताए । विदेशमा रहेर स्वदेशमा शिक्षाको क्षेत्रलाइ मझवुत बनाउन आफुहरुले यस्तो कार्यक्रमको आयोजना गरेको उहाँको भनाइ थियो ।

कार्यक्रममा गैरआवासीय नेपाली सङ्घ ९एनआरएनए० का पूर्वअध्यक्ष जीवा लामिछानेले विश्वका ८० भन्दा बढी देशमा बसोवास गर्ने गैरआवासीय नेपाली आफ्नो जन्मभूमिको विकासप्रति निकै अभिप्रेरित रहेको बताउँदै ती देशहरुमा रहेका गैरसरकारी संस्थाहरुसँग सहकार्य गरी नेपालको विकासमा क्रियाशील रहँदै आएको उल्लेख गरे ।

कार्यक्रममा गेपर्ट हाइड्रोपावरका डाइरेक्टर पवन ढकालले नेपालमा प्राविधिक शिक्षा विना विकाष संभव नभएको भन्दै आफुले शेषकान्त फाउण्डेसन मार्फत प्राविधिक शिक्षालयको सुरुवात गर्न लागेको बताए । सम्मेलनमा नेपाललाई सहयोग गर्दै आएका जर्मनीमा कार्यरत विभिन्न संस्थाका प्रतिनिधिहरुले धारणा राखेका थिए ।

सो अवसरमा नेपालका तर्फबाट गएका कान्तिपुर टेलिभिजनका पत्रकार पोषनाथ अधिकारीले नेपालमा प्राविधिक शिक्षा चुनौती र अवसर र राससका कृष्ण अधिकारीले गैरसरकारी संस्थाको वर्तमान अवस्था विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए ।

सम्मेलनमा जर्मनीमा रही विभिन्न सङ्घसंस्थामा आबद्ध नेपाली तथा जर्मनीका विभिन्न गैरसरकारी संस्थाका करीब ६० जनाको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

Recent Posts