Logo

‘नेपाल-चीन सम्बन्ध बढाउन कांग्रेसको भूमिका मुख्य’



काठमाडौं । नेपाल भ्रमणमा रहेका चिनियाँ विदेशमन्त्री वाङ यीले नेपाल र चीनको सम्वन्ध मजवुत हुनुमा नेपाली कांग्रेसको लामो समयदेखिको भूमिका महत्वपूर्ण भएको बताएका छन्।

मंगलबार कांग्रेस सभापति शेरबहादुर देउवासँग भएको भेटमा चिनियाँ विदेशमन्त्री यीले नेपाली कांग्रेसले सरकारमा हुँदा पनि र बाहिर बस्दा पनि देखाएको एकरुपता र कमिटमेन्टले नेपाल–चीनबीचको सम्बन्ध थप बलियो बनाउन सहयोग पुर्‍याएको भन्दै प्रसंसा गरेका हुन्।

‘नेपाली कांग्रेसले सरकारमा हुँदा होस् वा बाहिर बस्दा, चीनप्रति देखाएको सौहाद्रतापूर्ण सम्बन्धको हामी प्रसंशा गर्छौ,’ चिनियाँ विदेशमन्त्री यीको भनाई उदृत गर्दै भेटमा सहभागि देउवाका परराष्ट्र सल्लाहकार डा।दिनेश भट्टराईले भने।

भेटमा देउवाले भूकम्पपछि बन्द भएका तातोपानी, कोरला र रसुवाका नाका खुले नेपाली नागरिकलाई सहयोग हुने धारणा राखेका थिए। ‘तातो पानी, रसुवा र कोरला नाका खुले त्यहाँका जनतालाई निकै सहयोग पुग्थ्यो’ देउवाको भनाई उदृत गर्दै भट्टराईले भने।

देउवाले आफु प्रधानमन्त्री हुँदा सन् १९९६ मा चिनियाँ राष्ट्रपतिले नेपाल भ्रमण गरेको सन्दर्भ उल्लेख गर्दै अहिले पनि आफुहरू चिनियाँ राष्ट्रपतिलाई स्वागत गर्न आतुर रहेको पनि बताएका थिए।

त्यसको जवाफमा चिनियाँ विदेशमन्त्री यीले नेपालले चाहना गरेअनुसार चिनियाँ राष्ट्रपति सि जिङ पिङको नेपाल भ्रमण छिट्टै हुनसक्ने बताएका थिए।

प्रतिक्रिया दिनुहोस्

Recent Posts