Logo

प्राकृतिक सौन्दर्यताको अनुपम उदाहरण चापाकोट नगरपालीका (भिडियोसहित)



गण्डकी प्रदेशको राजधानी पोखराबाट झण्डै १ सय ३० किलोमिटर दुरीमा अवस्थित स्याङ्जा जिल्लाको चापाकोट नगरपालिका प्राकृतिक सौन्दर्यताको एक अनुपम उदाहरण हो । साबिक चापाकोट, रत्नपुर,कुवाकोट, सांखर, सेखाम, पकवादी र मल्यांकोटगाउँ विकास समिति गाभिएर २०७१ बैशाख २५ गते नगरपालिका बनेको चापाकोट प्राकृतिक सँगै, धार्मिक र सांस्कृतिक धरोहरको संगम स्थल हो ।

जिल्लाको दक्षिण पुर्वी क्षेत्रमा पर्ने चापाकोट नेपालको अति नै रमणीय, सुन्दर, शान्त ठाउँहरु मध्यको एक हो । चारै तर्फबाट डाँडाले घेरिएको चापाकोटलाई नेपालको एक नमुना उपत्यकाको रुपमा लिन सकिन्छ। विशेष गरि दक्षिण भागमा बग्ने कालीगण्डकी नदी जसलाई शालिग्राम शिलाको खानीको रुपमा चिनिन्छ, त्यसले चापाकोटको सुन्दरतालाई सुनमा सुगन्ध थपेको छ । त्यस माथी दक्षिणी बाटो भएर वग्ने उत्तर तर्फको ज्याग्दी खोलाको त्यो कलकल बगेको पानीमा त्यो अनुपम स्थलको सभ्यता लुकेको पाइन्छ ।

पुर्वमा तनहु जिल्ला, पश्चिममा गल्यांग नगरपालिका स्याङ्गजा, उत्तरमा हरिनाश गाउँपालिका र विरुवा गाउँपालिका र दक्षिणमा पाल्पा जिल्लाले घेरेको चापाकोट नगरपालिका समुन्द्र सतहवाट करिव ४६५ मिटर उचाईमा रहेको छ । राम्रो सम्भावना भएर पनि विकास निर्माणमा खासै गति लिन नसकेको चापाकोटले स्थानीय निर्वाचन यता भने केही कोल्टे फेरेको आभाष गरेको छ ।

देश संघीयतामा जाँदै गर्दा नेपालको संविधानले परिकल्पना गरेको स्थानीय सरकारको अवधारणालाई पूर्णरुपमा कार्यान्वयन गरेको यो नगरपालिकाले स्थानीय नागरिकको चाहना बमोजिम नै दुत्र गतीमा विकास निर्माणका काम अगाडी बढाएको छ ।

संविधानले व्यवस्था गरेको स्थानीय सरकारको अवधारणा अनुसार भएको निर्वाचनमा यो नगरपालिकामा विजयी हुन सफल शिव गिरीले नगर क्षेत्रको विकासमा कत्ती पनि कमि हुन दिनुभएको छैन् ।

स्थानीय निर्वाचन भएको झण्डै दुई वर्षको यो अवधिमा नगरपालिकाको मुख्य योजनामा परेको छ सडक । विकास निर्माणको मेरुदण्डको रुपमा लिइने सडक निर्माणमा चापाकोट नगरपालिकाको काम प्रशंशा गर्न योग्य मात्र होइन, अनुसरण गर्न लायक रहेको छ ।

स्याङ्जा जिल्लाको सदरमुकाम वालिङबाट झण्डै २५ किलोमिटरको दुरीमा रहेको चापाकोट नगरपालिका ग्रामिण भेगको एक सुन्दर स्थल हो । यो मात्र होइनचापाकोट नगरले ध्यान दिएकोे सडक संजाल विस्तारमा पनि चनाखोपन अपनाएको छ । सडक निर्माणको क्रममा निकै साघुरो सडक खन्ने र विस्तार गर्दा स्थानीयले भाँझो हाल्ने परम्परा नै रहेको नेपालमा चापाकोट नगरपालिका केही भिन्न अभ्यासमा देखिएको छ । सडक निर्माण र विस्तारको क्रममा मेयर शिव गिरीले लिनुभएको अडान साच्चिकै प्रशंशा गर्न योग्य रहेको पाइन्छ ।

दुई वर्षको अवधिमा नगरपालिकाले नगर क्षेत्रका सबै वडालाई सडक संजालमा जोड्न सफल मात्र भएको छैन्, नगर क्षेत्रलाई चक्रपथले जोडने र नगरपालिकाको प्रशासनिक केन्द्र रहेको स्थानको सडकलाई कालोपत्रे पनि गरेको छ ।

नगरपालिकाले सडकलाई मुख्य प्राथमिकतामा राखेको भए पनि बिद्युत, खानेपानी र शिक्षाको क्षेत्रमा पनि नगरपालिकाको काम प्रशशां योग्य रहेको छ । समुन्नत स्थानीय सरकारको परिकल्पना गरेको चापाकोटले केन्द्र सरकारलाई स्थानीय सरकार आफैमा सक्षम छ भन्ने प्रमाण देखाउन कै लागि पनि केही काम गरेको पाइन्छ । स्थानीय सरकारले गर्न लागेका विकास निर्माणका काममा स्थानीयको पनि होस्टेमा हैसेले नगरपालिकालाई काम गर्न झनै हौसला मिलेको छ ।

विकास निर्माणको काममा कुनै पनि कसुर बाँकी नराख्ने अठोट लिनुभएका मेयर गिरी आफ्नो कार्यकालमा सडकमा मात्र अल्झन चाहनुहुन्न । आफ्नो कार्यकालमा चापाकोटलाई परिवर्तन गराएरै छाडने गिरीको योजनामा सारा नगरपालिका एकजुट भएर लागेको छ ।
तराईको जस्तै समथर भूमी रहेको नगरपालिकालाई कृषि पकेटको रुपमा विकास गर्ने नगरपालिकाको योजना छ । निकै उब्जाउ हुने चापकोट उपत्यकालाई कृषिमा आत्मनिर्भर मात्र बनाउने होइन कृषि उपज उत्पादनबाट नागरिकलाई पनि रोजगारी प्रदान गर्ने योजनामा रहेको छ। स्थानीय स्तरमा उत्पादित कृषि उपजलाई प्रशोधन मार्फत बजारिकरण गर्ने योजना रहेको छ ।

सडक विकास निर्माणको पहिलो खुडकिलो हो । यही सडकको अभावमा चापाकोेटका नागरिकले लामो समयसम्म सास्ति खेप्न बाध्य भए । तर अहिले त्यो समस्या छैन् । नगरपालिकाले सबै वडा तहसम्म सडकको सुविधा पुर्याएको छ । तर ती सडकलाई मर्मत सम्भार र सबै महिना संचालन पनि नगरपालिकाको एक चुनौती हो । यस्ता चुनौतीको पनि समाधानमा लागेको नगरपालिकालाई कहिले काही भने विराधी तत्वहरुले केही समस्या सिर्जना गर्दछन् ।

विरोधबाट नडगमगाउने नगर प्रमुखको ध्यान भने विकास निर्माणको कामबाट अन्यत्र गएको छैन् । सडक संजालको विस्तार र मर्मतको दिर्घकालिन योजनामा रहेको चापाकोट नगरपालिकाले समुन्नतको सपना भने कृषि र पर्यटन बाटै देखेको छ ।

आफैंमा निकै सुन्दरताले भरिएको चापाकोट उपत्यकालाई सँगैको कालिगण्डकी नदि र सो नदिको किनारबाट दौडिएको करिडोरले पनि सुगन्ध थपेको पाइन्छ । समुन्द्र सतहदेखि झण्डै ११ सय मिटर माथी रहेको रामडाँडा, चापकोटको मुख्य पर्यटकिय स्थल हो ।

प्याराग्लाइडिडको प्रचुर सम्भावना रहेको रामडाँडामा मनोरम दृश्य अवलोकनको पनि सुन्दर स्थलको रुपमा लिन सकिन्छ । सम्पूर्ण स्याङजा जिल्लाको मनोरम दृश्यको साथमा छिमेकी जिल्ला पाल्पालाई पनि नजिकबाट नियाल्न सकिने रामडाँडालाई पर्यटकिय गन्तव्यको रुपमा विकास गर्न स्थानीय नागरिकको पनि जोडदार माग रहेको छ ।

रामडाँडा मात्र होइन, कालिगण्डकी नदिको किनारमा रहेको शितल पार्क पनि चापाकोटको अर्को पर्यटकिय स्थल हो । नामले मात्र होइन, साच्चिकै शितल रहेको यो पार्कको भावी योजना पनि गजबका रहेका छन् ।

चापाकोट नगरपालिका आफैमा निकै सौन्दयताले भरिएको नगर हो । यसको विकासमा नगरपालिकाले देखाएको सक्रियता साच्चिकै अनुसरण गर्न योग्य रहेको छ । साथै नागरिक स्तरबाट स्थानीय सरकारलाई मिलेको हौसलाबाट प्रेरित हुँदै समुन्नत नगरपालिका निर्माणमा सबै पक्ष एक हुनुपर्ने देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्

Recent Posts