Logo

प्रतिपक्षी नेपाली कांग्रेसमा झण्डै एक दर्जन आंकाक्षी

कास्की–२ मा उपनिर्वाचनको चहलपहल सुरु



पोखरा । खाली रहेका प्रतिनीधिसभा, प्रदेशसभा तथा स्थानीय तहमा आगामी मंसिर १४ गते उपनिर्वाचन हुँदैछ । यी मध्ये उपनिर्वाचन हुन लागेको कास्की निर्वाचन क्षेत्र नम्बर २ को चर्चा धेरै रहेको छ । प्रतिनीधिसभाका लागि उपनिर्वाचन हुन लागेको यो एउटा मात्र निर्वाचन क्षेत्र हो । उपनिर्वाचन हुनेभएपछि सो निर्वाचन क्षेत्रमा को–को उम्मेद्वार बन्लान् भन्ने चर्चा सुरु भएको छ । कास्कीमा क्रियाशिल पार्टीहरुभित्र उम्मेद्वारहरुको खोजी पनि हुन थालेको छ । तत्कालीन नेकपाका लोकप्रिय नेता रवीन्द्र अधिकारीको स्वर्गारोहणपछि रिक्त पदका लागि मंसिर १४ मा निर्वाचन गर्ने तयारी निर्वाचन आयोगले गरेको छ ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले केन्द्रीय तहमै छलफल नगरेपनि स्थानीय नेता कार्यकर्ताको दौडधुप सुरु भएको छ । यसअघि आम निर्वाचनमा रवीन्द्र अधिकारीसगै पराजित देवराज चालिसले फेरि पनि एकपटक मौका पाउनुपर्ने भन्दै लबिङ गरिरहेका छन् भने शोभियतबहादुर अधिकारी र धनराज गुरुडको पनि चर्चा छ । त्यसैगरी अन्य नेता पार्टीका केन्द्रीय नेतृत्वलाई भेटेर टिकटको दाबेदारी प्रस्तुत गरेको स्रोतले बतायो ।

पुराना नेता खेमराज पौडेलसहित वीरेन्द्रनारायण बिजुक्छे, गुरु बराल र लक्ष्मी पाण्डेले टिकटका लागि लबिङ गरिरहेको कास्की कांग्रेसका १ नेताले जानकारी दिए । अहिले यतिले दाबि गरेपनि महादेव गुरुङ स्याङ्जासंग जोडिएको निर्वाचन क्षेत्र भएकाले पूर्वउपसभापति गोपालमान श्रेष्ठको पनि चर्चा चलेको छ ।

गएको चुनावमा तत्कालीन एमालेका रवीन्द्र अधिकारी २७ हजार २ सय ७ मतका साथ विजयी भएका थिए । उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका देवराज चालिसेले १८ हजार ६ सय ६१ मत ल्याएका थिए । उक्त क्षेत्रमा ७० हजार ६ सय ५१ मध्ये ४९ हजार ९ सय १४ मत खसेको थियो । खसेकामध्ये १ हजार ४ सय ६४ मत बदर भएका थिए । १ स्वतन्त्रसहित १३ जना चुनावी मैदानमा उत्रेकोमा ११ जनाको जमानत जफत भएको थियो । ११ उम्मेदवारले १ हजार भोट कटाउन सकेका थिएनन् । तेस्रो स्थानमा विवेकशील साझा पार्टीका श्रीकृष्ण श्रेष्ठले ८ सय ४३ मत ल्याएका थिए । कास्की क्षेत्र नम्बर २ मा पोखरा महानगरपालिकाका वडा नम्बर ४, ७, ८, ९, ११, १५, १६, १७, २०, २१, ३३ पर्छन् ।

प्रतिक्रिया दिनुहोस्

Recent Posts