Logo

तिजको स्मरण : औधी रमाइलो लाग्यो दाङको तिज



शुलोचना गौतम

०६० सालमा बिहे भएर दाङ आएपछि मैले फरक ढगले तिज मनाए । यहाँको तरिका अनौठो लाग्यो । तर, पुरै दाङ भरी नै त्यो तरिका भने रहेनछ ।

निराहार व्रत बसेर शिवजीको पुजा गर्ने चलन थियो मेरो माइती बर्दिया गुलरियाको । तर दाङमा गौरा बनाएर बेलुका गाँउभरिका महिलाहरु जुटेर गौराको पुजा गर्ने । प्रायः हाम्रै घरमा हँुदोरहेछ ।

गाँउभरीकाले एकै पटक पुजा गर्न गाह्रो हुँदा २ समूह बनाएर पालो पालो पुजा गर्ने । निकै रमाइलो तरिका लाग्यो मलाई यो ।

बिहानैदेखिको तयारी । पुजासामा तयार गर्ने दिउसों तिर । अनी सबै जुटेर नाचगान गर्ने व्रत बसेकै दिन । केही नखाएर पनि त्यसरी नाच्न सकिदो रहेछ । सबैजना संगसंगै भएर रमाइलो गर्दा भोकको पर्वाह नै नहुने । औधी रमाइलो लाग्यो दाङको तिज ।

मैले गौराको कुरा गर्दै थिए । दिनभर नाचेर बेलुका तिर सबै घर फर्कने । अनी क्रमशः एकै ठाँउमा जुट्ने । प्रायः हाम्रो घरमा जुट्ने । पातीको झार उखेलेर त्यसवाट मानव आकार बनाउने । कपडा लगाइदिने, गरगहना लगाइदिने र सुन्दर महिलाको स्वरुप निर्माण गर्ने ।

मेरा सासुहरुको सिपालु हातले गौरा बनाएको देखेर पहिलो पटक त म छक्क नै परे । गौरालाई दुलही जस्तै सिङ्गारपटार गर्ने । सुदुरपश्चिचमा मनाइने गौरा पर्वमा बनाइने गौरा भन्दा फरक र आकर्षक लाग्यो मलाई यहाँको गौरा । गाईको गोवरले पोतेर चोखो ठाँउमा खटौलीमाथी ती गौरालाई राख्ने र वरीपरी महिलाहरु बसेर राती पुजा गर्ने गरिदो रहेछ ।

गौरा तयार भैसकेपछि ती गौरालाई सबैले हातमा लिएर गीत गाँउदै नचाउने । मलाई लाग्छ त्यसो गर्नुको अर्थ पातिको झारले बनेको गौरामा प्राण बोलाएको होला । भगवानको मूर्तीहरुमा प्राण प्रतिष्ठा गर्ने प्रचलन जस्तै गौराको प्राण प्रतिष्ठाका रुपमा होला त्यसरी नचाउने र गाउने ।

नाचु–फाचु ललिया गौरै‘‘।
यही हुन्थ्यो त्यतिबेला गाउने गीतको पहिलो पंक्ती । अनी गौरासंग सवाल–जवाफको भाकामा गीत गाइन्थ्यो ।
तिमिले लगाएको शिरको सिर्फुल
कस्लाई सुम्पेउले गौरै रु कस्लाई सुम्पेउले ?

यस्तो सवाल हुन्थ्यो गीतकै भाकामा । अनी गौराको जवाफ पनि गाइन्थ्यो–

जस्ले गर्ला शिबको पुजा, जस्ले गर्ला शिबको पुजा,
उसैलाई दिउला हैहै, उसैलाई दिउला ‘‘

यस्तै हुन्थ्यो गौरामा प्राण बोलाउने गीत । बुढि–बुढि, निरक्षहरुले पनि कण्ठस्थ पार्नुभएको हुन्थ्यो यो गीत । उत्साहका साथ गौरालाई हातमा लिएर माथीमाथी उचालेर नचाउने । झण्डै आधा घण्टा यसरी नचाएपछि गौरामा प्राण आएको मानिन्थ्यो अनी चोखो पोतेको ठाउमा रहेको खटौलीमाथी राखिन्थ्यो । बत्ति बालेर छाडिन्थ्यो । राती ८–९ बजेवाट पुजा शुरु हुन्थ्यो ।

झण्डै सवा घण्टाको हुन्थ्यो पुजा बिधि । पुजा सकेपछि रातभर गौरालाई एक्लै नछाड्ने भनेर जागराम बस्ने गरिन्थ्यो । रातभर नाच्ने गाउने । त्यतिबेला थकान महसुस हुँदैनथ्यो । भोलीपल्ट सारै गाह्रो अनुभुती हुन्थ्यो र आराम खोज्थ्यो शरिरले ।

बिहान पुजामा प्रयोगगरिएका फुलपातीहरु र गौरा बगाउन कटुवा खोलामा जान्थ्यौं । खोलामा पनि अघिल्लो दिनको झैं गीत गाउदै गौरालाई लगाइदिएका गरगहना र लुगा निकालिन्थ्यो अनी पातीलाई पानीमा बगाइन्थ्यो । त्यो क्षण पनि रमाइलो हुन्थ्यो ।

फुल बगाउने पानीले मलाई बगाइजाला‘।
यो बोलको गीतसंगै फुलपाती बगान्थ्यो ।

आजकल गौरा बनाउने क्रम छुटेको छ । ब्रत बस्ने र नजिकै अम्बिकेश्वरी मन्दीरमा पुजा गर्ने गर्दछौ । सकेसम्म सबै जुटेर पुजा गर्छौ ।

किन छुट्यो भन्ने थाहा छैन, तर मैले फरक अनुभुतीका साथ तीज मनाउने अबसर भने केही बर्ष पाँए । आजकल तीज भन्ने शब्द सुन्नासाथ मलाई तीनै गौरा, गौरालाई हातहामा नचाएको सन्दर्भ स्मृतीमा आँउछ ।
यसपाली लोकराज अधिकारीले लेखेको तीज गीत ‘रे पटम भरर‘’को अन्तरामा त्यही गौरामा प्राण प्रतिष्ठा गर्दा गाउने भाका र भाव समेटिएको छ ।

रितु कँडेलले गाएको त्यो गीत सुन्दा पनि आँखा अगाडी तीनै सुन्दर गौरा आउछिन् । आज तीजको दिन तीनै गौरालाई नमन गर्छु र आशिर्वाद माग्छु । अनी सबैमा तीजको शुभकामना व्यक्त गर्दछु ।

प्रतिक्रिया दिनुहोस्

Recent Posts