Logo

कमलको तारिफ गर्दा किचड रिसाउला

विपुल पोख्रेल



‘दाइ आज सुशील कोइरालाको जन्मदिन हो नि ।’

मोवाइलमा टिंग आवाज आइपछि मेसेन्जर खोलेर हेर्दा गजेन्द्र बोहराको मेसेज थियो।

‘होर ?’ मेरो रिप्लाई।

‘तपाईले पनि बिर्सिएपछि सक्किगो नि…. ‘केही लेख्नु न।’

सुशील कोइरालाका बारेमा के लेखुँ ?

इमरान खान पाकिस्तानको प्रधानमन्त्री भएपछि ‘नेपालका सुशील कोइरालाको जस्तो सादा जीवनशैली विताउने उद्घोष गरेका थिए।

विविसी हिन्दी सेवाले सुशील कोइराला प्रधानमन्त्री हुँदाको समाचारमा भनेको थियो, ‘भाडाके मकान मे रहनेवाले नेपालके प्राइमिनिस्टर बनें।’ अर्थात भाडामा बस्ने व्यक्ति नेपालको प्रधानमन्त्री बने । उनको सम्पत्ति विवरण पनि सबैले थाहा पाइसकेका छौ । उनको मृत्यु आ

म नेपालीको झै आफ्नो बिस्तारामै भयो, त्यो पनि थाहा भएकै बिषय हो । नेपालको जनपक्षीय राजनीतिको नेतृत्व गर्ने विपी कोइरालालाई राजा महेन्द्रले अपदस्त गरी जेल हाले पछि राजनीतिमै होमिएको परिवारको

 

 

 

 

 

घरायसी सहयोगका लागि कलिउडको हिरो बन्नका लागि लम्केका पाइलाहरु फिर्ता भए अनी महिनाको ३० रुपिँया कमाएर वीपीको परिवारलाई सहयोग गर्न प्रसस्त पसिना बगाएको कुरा पनि नयाँ कुरा होइन।

गिरिजाप्रसादको नेतृत्वकालमा उनीवाट भएका सबै विवादित कुराहरुको अपजसको भारी बोक्न तयार भएको उनको कुरा पनि सार्वजनिक नै छ । सम्बिधान बनाउदा लोकतान्त्रिक मुल्य र मान्यतालाई बलियोसंग संबिधानमा लेखिनु पर्छ भन्ने उनको चट्टानी अडान पनि देखिएकै हो। चारवटा प्रधानमन्त्रीले संबिधान निर्माणका लागि सार्थक समन्वय गर्न नसक्दा संबिधानसभा नै बिघटन भएको इतिहास छदै छ। नयाँ जनमत मार्फत प्रधानमन्त्री भएर उनले समयसिमा अगाडि नै कुशल समन्वय मार्फत संबिधान निर्माणको दायित्व पुरा गरेको कुरा पनि सबैलाई थाहा छ।
गजेन्द्रले मलाई सुशील कोइरालाको जन्मदिन सम्झाए पनि म संग लेख्ने नयाँ कुरा केही पनि छैन।

फेरि सुशील कोइरालाको बारेमा किन लेख्नु ? उनको सादगीको कुरा लेख्दा धेरैले आफुलाई व्यङ्ग्य गरेको सम्झेलान फेरि । त्यसकारण पनि मैले सुशील कोइरालाको बारेमा धेरै चर्चा गर्न छाडेको छु । त्यसो त म को नै हुँ र उनको कुरा गर्नै पर्ने आधिकारिक व्यक्ति । कुनैवेला उहाँलाई सघाउने अवसर पाएको थिँए र सक्दो सघाए पनि । मेरो जीवनको एउटा महत्वपूर्ण अवसर थियो त्यो । पदको दूरुपयोग नगर्ने र शक्तिको अत्यधिक उपयोग नगर्ने सुशीललाई सघाउँदा केही फाइदा हुनेवाला छैन । धेरै मेरा ‘सुभेच्छुक’हरुले भनेका थिए मलाई ।

सुशील’दासंगको सामिप्यतावाट मैले यही सिके, जो नेतावाट उसको सहयोगीले फाइदा पाउदैन, त्यो नेतावाट मात्र देशले फाइदा पाउन सक्ने रैछ । गजेन्द्र, मेरो यो निश्कर्ष सुनेर अहिलेका नेताहरुका सहयोगीहरुले सहमती जनाउलान् ?

अँ कुरा फाइदाकै थियो । सुशील कोइरालाको देहवसानपछि एउटा स्मारिका निकाल्ने कुरा भएछ । म दाङमै थिए । मैले आदरसम्मान गर्ने दाइहरु र नेताहरुको बैठकले यस्तो निर्णय गरेछ । १५ दिन पनि बाँकी थिएन । डा.मीनेन्द्र रिजाल त्यसको सम्पादक हुनुभयो । कार्यकारीको जिम्मेवारी धर्मेन्द्र झाले लिनु भयो तर, शसर्त । उहाँले बैठकमै भन्नुभएछ, मैले एक्लै भ्याउदैन । बिपुललाई दाङवाट झिकाइ उसको सहयोग चाहिन्छ र उसलाई भूमिका दिनुपर्छ ।’ त्यो बैठक शर्त मान्यो । म सहसम्पादकको भूमिकामा रहने भए । हरिहर विरही, श्री आचार्य, तेजप्रकाश पण्डित, गोविन्द अधिकारी, कुलचन्द्र वाग्ले र प्रतीक प्रधान रहेको सम्पादक मण्डल बन्यो । रामप्रसाद दहाल सहायक सम्पादकका भूमिकामा रहे ।

यो काम गरिरहदाँ एकजना ‘बरिष्ठ’ले भन्नुभयो, ‘सुशील कोइरालाको नामको किताव किताव निकालेर के फाइदा छ ? उनको सन्तान नै छैनन्। सन्तान भएको नेताको किताव निकाले त उनका परिवारले केही गरिदिन्थे होला, फाइदा हुन्थ्यो होला ।’

‘सुशील’दा सम्झनामा’ भन्ने पुस्तक तयार भयो ।

मलाई फाइदा केही भएन । नाकाबन्दी लागेको थियो । ब्ल्याकमा पेट्रोल किनेर गाडी कुदाउदै काठमाण्डौ पुगेको थिए । कालो चिया र चनाको भरमा पुस्तक तयार भयो । तर, मन सन्तोष छ ।

मुलुकका लागि सोच्ने, एक पैसा भ्रष्टाचार नगरेका र लोकतान्त्रिक मुल्य र मान्यता प्रति प्रतिबद्ध अनी संझौताहिन नेताका नाममा केही काम गर्न पाएँ भनेर । पछि त उनको नाममा प्रतिष्ठान नै खुलेको थाहा पाएँ । सामाजिक काम भैरहेको छ रे, बिभिन्न प्रोजेक्टहरु ल्याइदै छन् रे । सुशीलको नाममा आउने प्रोजेक्टहरुको सञ्चालन सुशीलको छवी अनुसार हुने कुरामा शंका नगरौं ।

तर, यो प्रक्रिया र गतिबिधिमा म संलग्न छैन । महाराजगञ्जमा उहाँ बस्दा निशुल्क सेवा गर्ने अवसर पाएको हुँ । ‘तपाईं मेरो प्रेस सल्लाहकार हो, पार्टीको होइन नी’ उहाँले मलाई भन्नुभएको थियो,‘पार्टी सरकारमा गएपछि हेरौला, अहिले सहयोग गर्नुस् ।’ तर उहाँ प्रधानमन्त्री हुँदा म दाङमै बस्नुपर्ने थियो । कुनै लाभको पदका लागि मैले पहल गरेन पनि ।

उहाँले एक पटकको भेटमा भन्नुभएको थियो, ‘तपाईलाई केही गर्न सकिएको छैन ।’ मैले केही नसोची जवाफ दिएको थियो, ‘हजुरसंग मेरो केही अपेक्षा छैन सुशील’दा, हजुरका हरेक निर्णयको समर्थन गर्दै सफल कार्यकालको कामना मात्र गर्दछु ।’

मेरो जवाफ पछि उहाँको अनुहारमा गांभिर्यभाव देखें । सायद उहाँको आँखा चिसा पनि भएका थिए । आँखा चिसा भएको प्रशंगले अर्को एउटा प्रशंग पनि सम्झायो ।

राजाको प्रत्यक्ष शासन थियो । पत्रकारहरु पनि सताइएका थिए । पत्रकार महासंघको एउटा मिशन टोली बन्यो र तत्कालिन मध्यपश्चिम विकास क्षेत्रमा गयो । पत्रकार महासंघका तत्कालिन सभापति तारानाथ दहालको नेतृत्वमा तत्कालिन उपसभापति म र तत्कालिन केन्द्रीय सदस्य बिनोद ढुङ्गेल त्यो टोलिमा थियौं । त्यतिबेला सुशील कोइरालालाई बाँके जिल्ला प्रहरी कार्यालयमा राखिएको थियो । हामीले उहाँलाई भेट्यौं । आन्दोलन त्यती उठिरहेको थिएन । त्यस बिषयमा प्रशस्त छलफल भयो । गणतन्त्र भन्ने बेला भयो कि भन्ने हाम्रो सुझाव थियो उहाँलाई । उहाँ गणतन्त्रमा गैहाल्ने बेला भएको छैन भन्ने कुरामै अडिक देखिनु हुन्थ्यो त्यो छलफलका क्रममा । उहाँलाई राखेको कोठामा राजारानीको तस्वीर राखिएको थियो । जिप्रकाका डिएसपीको कोठा खाली गरी उहाँलाई त्यहाँ बन्दी बनाएर राखिएको थियो । डिएसपीको कोठामा टाँसीएका ती फोटा देखाउदै मैले विदा हुने वेलामा हात मिलाएर भने, ‘सुशील’दा राजारानीको ठाँउमा हजुरको फोटो टाँगेको हेर्न मन छ ।’ उहाँले त्यो बेला आशु नै निकाल्नु भयो ।

राजाले थुनेको बेला, कैदी जीवन विताइ रहेको वेला मेरो कुराले उहाँलाई निक्कै छोयो झै लाग्यो । उहाँले यतिमात्र भन्नुभयो, ‘पहिला आन्दोलनको माहौल बनाउनुस् ।’

राष्ट्रपतिका रुपमा उहाँलाई देख्ने चाहना मैले त्यतिबेला नै व्यक्त गरिसकेको थिँए गजेन्द्र । एउटा परिस्थिति यस्तो पनि आयो, उहाँले चाहेको भए मेरो त्यो इच्छा पुरा हुने रहेछ पनि । तर, ‘सक्रिय राजनीति त्यागेर निश्क्रिय जीवन विताउन शतिलनिवास जाँदैन’ भनेर उहाँले मेरो त्यो इच्छा पुराहुन दिनुभएन । उहाँको आशु झार्नेगरी मैले प्रस्ताव गरेको जिम्मेवारीमा उहाँलाई देख्ने मेरो चाहना अधुरै रह्यो गजेन्द्र ।

उहाँको जन्मदिनमा उहाँलाई संझदै र लेख्दै गर्दा नयाँ कुरा यही त भयो कि मेरो इच्छा अधुरै राखेर उहाँ जानुभयो । उहाँको राष्ट्रपति नबन्ने निर्णयसंग म ‘कन्भिन्स’ छैन र कुनै बेला हुने पनि छैन । ‘तिम्रो स्वतन्त्रता संग्राममा हाम्रा साथीहरु लडेका थिए । वीपी कोइराला त जेल नै पर्नुभयो, अहिले तिमिहरु हामिलाई राजनीति सिकाउन आउछौ ? पर्दैन सिकाउन । हामी हाम्रो राजनीति आफै सम्हाल्न सक्छौ’ एउटा इण्डियन टोलीलाई आक्रोशीत मुद्रामा सुशील’दाले भनेको संझन्छु । गजेन्द्र तेरो म्यासेजले सुशील’दा संझायो । ल्यापटप खोले । लेख्नका लागि नयाँ कुरा केही पाइन ।

समकालिन परिवेशलाई हेर्दा किचडमा फुलेको कमलको फुल झै लाग्यो सुशील’दा । फुलको वर्णन गर्दा किचडले फोहर छ्यापिदिन्छ कि ? त्यसैले यत्तिमात्रै लेखे । हार्दिक श्रद्धाञ्जली सुशील’दा ।

अरु केही गर्न नसके पनि तिम्रो जस्तो जीवनशैली जीउले संकल्प पाकिस्तानी प्रधानमन्त्रीले झै सबै नेपालीहरुले गर्न सके कति उत्तम हुन्थ्यो होला । घरको आर्थिक व्यबस्थापन गर्नु, पारदर्शी हुनु र फजुल खर्च नगर्नु । कार्यकर्तालाई सुशीलमन्त्र थियो यो ।

यो त तेरा लागि पनि नयाँ ‘सूचना’ भयो होला है गजेन्द्र ?

प्रतिक्रिया दिनुहोस्