Logo

अख्तियार प्रमुखलाई दुई सय वर्ष बाँच्न शुभकामना दिँदै निलम्बित कर्मचारीद्वारा आत्महत्या



काठमाडौं : भ्रष्टाचार मुद्दामा निलम्बनमा परेका मालपोत कार्यालय, कलंकीका तत्कालिन कर्मचारी हरि आचार्यले दुई पृष्ठ लामो ‘सुसाइड नोट’ लेखेर आत्महत्या गरेका छन्।

उदयपुरको त्रियुगा नगरपालिका-१० घर भएका आचार्यको शव प्रहरीले आइतबार त्रियुगा नगरपालिका-९, रातामाटेस्थित शिखरकट्टे भन्ने ठाउँका जंगलमा झुण्डिएको अवस्थामा फेला पारेको थियो।

शनिबारदेखि हराएका ५५ वर्षीय आचार्यको खल्तीमा २ पेज लामो सुसाइड नोटसमेत फेला परेको जिल्ला प्रहरी कार्यालय उदयपुरका डिएसपी हरिकृष्ण केसीले जानकारी दिए।

सुसाइड नोटमा उनले परिवारलाई राम्रोसँग मिलाएर राख्न नसकेको र गर्दै नगरेको भ्रष्टाचारको आरोप लागेकाले आत्महत्या गर्नुपरेको उल्लेख गरेका डिएसपी केसीले जानकारी दिए।

डिएसपी आचार्यका अनुसार उनले सुसाइड नोटमा लेखेका छन्, ‘म कसैको २ रुपैयाँसमेत नखाने चोखो मान्छेलाई भ्रष्टाचारी बनाउन खोजियो। अहिलेसम्म कसैको एक पैसा हिनामिना गरेको छैन, भ्रष्टाचार गर्ने कुरा त परै जाओस्। मलाई भ्रष्टाचारी देख्नु अख्तियार प्रमुख नवीनकुमार घिमिरेज्यू, २ सय वर्ष बाँच्नुस्, शुभकामना!’

उनले सुसाइड नोटमा परिवालाई समेत केही निर्देशन दिएका छन्। उनले श्रीमती छोराछोरीलाई मिलेर बस्न आग्रह गरेका छन्। आफ्नो बैंक खातामा भएको रकमसमेत उल्लेख गरेर छोरालाई राम्रोसँग पढ्नु भन्दै लेखिएको सुसाइड नोट फेला परेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

Recent Posts