Logo

सत्तापक्ष पनि मौन बनाउने प्रदीप गिरिको यो सम्बोधन (पूर्णपाठसहित)



-प्रदीप गिरि

सभामुख महोदय,

सदाझैं यसरी बजेट प्रस्तुत हुँदा सदाझैं विपक्षीले विपक्षमा बोल्ने थुप्रा कुरा आइसके । म स्वयम विविध व्यवस्थामा यस सभामा लामो समयदेखि उपस्थित छु । अरू कुरामा छोडेपनि बजेटमा हरेक वर्ष केही न केही बोल्ने गरेको छु ।

उहिले ४७ सालको संविधान देखि नै । अव बजेटका एउटा आधारभूत कुरा भन्छु । त्यो मैले पहिलो पटक पनि भनेको थिएँ । नेकपाको सरकारमा मात्रै पनि भनेको होइन । पहिले पनि भन्ने गरेको थिएँ । उर्दूमा एउटा उखान छ । टुट्नेके फरक से खुदा जुदा हो जाता हे । उर्दूमा कतिसम्म हुन्छ भने माथिबाट चन्द्रविन्दूू हाल्नु भयो भने त्यसको अर्थ खुदा लाग्छ । चन्द्रविन्दू हटाइदिनुभयो भने त्यही शब्दको अर्थ जुदा लाग्छ । एउटाको अर्थ गड र एउटाको अर्थ सेपेरेट ।

यसमा थुप्रा कुरा छन्, थुप्रा । जसलाई म ठीक भन्न सक्छु । थुप्रा कुरा छन्, जसलाई म बेठीक भन्न सक्छु । त्यता म जान्न, समवर्ती मित्रले भनिसक्नुभएको छ । यसमा एउटा कुरा छ । मैले वर्षौदेखि भन्दै आएका सवै कुरा टुंगिन्छ । एउटै कुरामा केन्द्रीत रहेर आजको बहुमूल्य कुरा टुंग्याउँछु ।

के भनिएको छ भने एक ठाउँमा । मात्रै एक ठाउँमा । ‘आधुनिक सभ्यताको मानक नै (यो छ पृष्ठ ४७ मा) सुविधायुक्त शहर भएको तथा मुलुकको विकास स्वरूप शहरी पूर्वाधारबाटै प्रतिविम्वित हुने यथार्थतालाई ध्यान दिदै शहरी विकासको कार्यक्रम प्रस्तुत गरेको छु ।’

म, यस सरकारलाई भन्न चाहन्छु– यस पंक्तिमा एउटा शब्द फेरिदिने हो भने मलाई यो बजेट पूर्ण स्वीकार छ । एउटा शब्द खुदालाई जुदा बनाउने शब्द । त्यो के हो भने आधुनिक सभ्यताको मानक सुविधायुक्त शहर हो त ?

काठमाडौलाई शहरको सट्टा कहर बनाएर पनि चित्त बुझेन ? कहर भन्छन्, उर्दूमा बर्बादीलाई । सुन्नुहोस्, मैले भन्न खोजेको कुरा । यसको ठाउँमा लेख्नु सक्नु हुन्छ ‘आधुनिक सभ्यताको मानक नै सुविधा सम्पन्न गाउँ बनाएर..’

गाउँलाई सुविधा बनाउन सकिदैन ? गाउँलाई सुविधायुक्त बनाउनु आजको नेपालको चुनौति हो कि होइन ? एउटा शब्द छ, सानो शब्द छ । PURA । PURA भनेको के हो भने Providing urban amenities to rural areas ।

एउटा अर्धपागल जस्ता मान्छे थिए । लुगाफाटो पनि त्यस्तै थियो । अब्दुलकलाम आजाद । जो भारतका राष्ट्रपतिले यो शब्द बनाएका थिए । शब्दलाई क्वाइन गरेका थिए । तेस्रो विश्वलाई चाहिएको कुरा के हो भने (PURA) पूरा । Providing urban amenities to rural areas । यति शब्द शहरलाई गाउँ गरिदिनुहोस् त । मेरो विन्ती छ, प्रार्थना छ । सारा बजेटको रूपरेखा र दिशा बदलिन्छ ।

आज गाउँबाट बजार, बजारबाट झन् ठूलो बजार, झन् ठूलो बजारबाट शहर, त्यसपछि फोहोर काठमाडौं । त्यसपछि विदेश, अमेरिका, कहाँ हुन्छ अष्ट्रेलिया ? यही हो नेपालको नियति ?
यही गर्न हामीले आजभन्दा ४०/५०/६० वर्षअघिदेखि देश बदल्ने कसम खाएका थियौ ? यत्ति शब्द बदलिदिए पुग्छ । अरु मलाई केही पनि चाहिएको छैन ।

हामीले सुविधायुक्त गाउँ बनाउने हो । शहरलाई कति चाहियो ? गाडी पुगेन कि, कलेज पुगेन कि, स्कूल पुगेन कि अस्पताल पुग्ने ? काठमाडौंमा जोड्नुहोस् त प्रतिव्यक्ति कति छ ?
अर्को मेरो प्रश्न बडो विकल्प प्रश्न छ । सभामुख महोदय, विकल्प र विकट । यो शब्द सभ्यता भनेको के हो ? यो आधुनिक सभ्यता भनेको के हो ? सभ्यताको परिभाषा के हो ? मैले पनि सभ्यताको परिभाषामा काफी मनन् चिन्तन गरेको छु । स्थुल परिभाषामा मान्ने हो भने सभ्यता भन्ने परिभाषा बुझ्नलाई यही प्रतिनिधि सभामा सहभागी हुनेको पुच्छरबाट बुझ्न सकिन्छ । सभ्य भनेको त्यो हो, जो सभामा बस्न लायक छ । त्यत्ति हो । सभा चलाउने व्यक्तिलाई सभामुख भनिन्छ ।

हाम्रा आचरण हेर्दाखेरि, हाम्रा क्रियाकलाप हेर्दाखेरी विगत ५/१० वर्षका हाम्रा क्रियाकलाप हेर्दाखेरी बरू हामीले आफूलाई प्रश्न गर्नु परेको छ कि हामी सभ्य भनिएका मानिस छौं ?

तोडफोड, झैंझगडा, भ्रष्टाचारमा हामी डुबेका छौँ । होइन भने गाउँको त्यो साधारण मान्छेमा के कमी छ र ऊ सभ्य भएन ? उ छिमेकीप्रति दयालु छैन ? एक अर्काको दुःख दर्दमा पग्लेको छैन ? माथिल्लो तल्लामा बस्ने, तल्लो तलालाई नचिन्ने, तल्लो तलामा मान्छे मलामी जाँदा हाँसेर भोज खाएर बस्ने ? यो चाँही सभ्य हो ? म आधारभूत कुरा भन्दैछु ।

विकासको जुन प्रचलित मोडल छ, विकास सम्बन्धी जुन आजको धारणा छ, म विनम्रता पूर्वक भन्दैछु ।

सभामुख महोदय,

यस बजेटका प्रायोजकले बुझ्नु प¥यो यो धारणा नै आधारभूत रूपमा गलत छ । यो असभ्य छ, बर्बर छ र पासविक छ ।

हिँजो, सत्तापक्षका प्रमुख सचेतकले अमेरिकाले विश्वमा ल्याएको नीतिको बारेमा हल्का संकेत गर्नु भएको थियो । हामी यति पतन भइसकेका छौं कि हामी त्यसका बारेमा कुरा गर्न पनि तयार छैनौँ ।

यस बर्बर सभ्यताविरुद्धमा हामीले कतिपय प्रगतिशील र जनमुखी कदम यस बजेटमा ल्याउने कोशिश गरेका छौँ । यसका लागि अनेक मित्रले खासगरी सत्तापक्षले अर्थमन्त्रीलाई बधाई पनि दिए ।

तर, अर्थमन्त्रीलाई एउटा मात्रै कुरा भन्न चाहन्छु । एउटा विशाल खाल्डो दुई फड्कोमा पार गरिँदैन । एउटा खाल्डोलाई दुई फड्कोमा पार गर्ने त्यही खाल्डोमा भासिन्छ । त्यसैले पहिल्यै नै भनेको थिएँ, कि विचार स्पष्ट गर्नुहोस् । आफ्नो विचार स्पष्ट गर्नुहोस्, आफू सम्बद्ध रहेको पार्टीको विचार स्पष्ट गराउनुहोस् र आफ्ना नेताको विचार स्पष्ट गराउनुहोस् ।

विचार के हो ? के रे ? कति आयु छ रे वर्तमान प्रधानमन्त्रीको ? प्रधानमन्त्रीका अनुसार ठट्यौला हिसाबले पाँच दिन, अर्का आकांक्षीका अनुसार १५ महिना, अर्का आकांक्षीका अनुसार पाँच वर्ष ।

यस देशमा नीतिका बारे छलफलै हुँदैन । नेताका बारेमा मात्रै छलफल हुन्छ । नेता कहिले विरामी प¥यो, कहिले खका¥यो, कहिले प्रधानमन्त्री बन्यो, कतिदिन प्रधानमन्त्री बन्छ । कति प्रधानमन्त्री मात्रै हेर्ने ? अरु दुई चारवटा हेरौँला । मुख्य कुरा यस देशलाई चाहिएको तथाकथित समाजवादी नीति भनेको के हो ? म यसका लेखक, प्रस्तावकलाई विन्ती गर्न चाहन्छु, या त शहरका ठाउँमा गाउँ लेख्नुहोस् या समाजवाद उन्मुख लेख्ने पाखण्ड नगर्नुहोस् । हामी जता गएपनि समाजवादतर्फ गइरहेका छैनौँ ।

समाजवाद भनेको महंगो सलादले माथिबाट छरेको टपिङ होइन । टपिङ त हुँदै होइन । समाजवाद त अर्कै दृष्टिकोण हो । जीवनकाप्रति अर्कै दृष्टिकोण, सबै मनुष्य मनुष्य हुन् भन्ने मान्यता ।

मैले कुनै मौलिक कुरा गरेको छैन । अघि भारतका राष्ट्रपतिको कुरा गरेँ । मैले आफूले समाजवाद सिकेको आफूलाई समाजवादी भन्ने दुई जना मान्छेबाट हो । एउटा बीपी कोइरालाबाट अर्काे माओ त्से तुङबाट । यी विल्कुल अलग धारका देखिन्छन् । मैले गान्धीको नाउँ किन लिन्न भने, गान्धीले आफूलाई समाजवादी कहिल्यै पनि भनेनन् । यी दुई पुरुषले आफूलाई समाजवादी भनेका छन् ।

बीपी कोइरालाका योजनाकाबारे म ढुक्क छु, हामीलाई धेरै थाहा छैन । तिनको खर्बौ संकलन छन्, दुर्भाग्यबस् बजारमा उपलब्ध नै छैन । बीपीका विचारमा कतिपय अन्तरविरोध थिए । आखिरी वर्षमा उहाँले बारम्बार÷बारम्बार÷बारम्बार भन्नु भएको थियो– विकास भनेको एक मानवीय प्रक्रिया हो ।

यहाँ मानवीय प्रक्रियाका कुरा छन् ? रोजगार दिने कुरा छ, त्यसका लागि म बधाई दिन चाहन्छु । यहाँ किसानलाई सहुलियत दिने कुरा पनि छ । यहाँ साक्षर बनाउने कुरा पनि छ । यहाँ स्वास्थ्यलाई ठीक गर्ने कुरा पनि छ ।

मुलकुरो के छैन त ? यो अर्थशास्त्रले गर्ने कुरा हो ? अर्थमन्त्रीले गर्ने कुरा हो ? बजेटले गर्ने कुरा हो ? स्कूलमा जुन शिक्षक जाँदैजाँदैनन् । स्कूलमा हाजिर गर्छन् । आफ्ना बच्चा अन्त पढाउँछन्– टवींकल टवींकल लिटिल स्टारमा ।

त्यो यस बजेटले दूर गर्न सक्छ ? स्वास्थ्य कर्मचारीलाई तपाइले हाँजिर गराउन सक्नु हुन्छ ? कृषि अनुदान जुन बीचमा विचौलियाले खान्छन्, त्यसको जवाफ तपाइसँग छ ? त्यसैले विनम्रतापूर्वक अर्थमन्त्रीलाई सभामुखका मार्फत् भन्न चाहन्छु, यो काम अर्थमन्त्रीको बसमा छैन । नयाँ चिन्तन ल्याउनुहोस्, समाजवाद भनेको नयाँ सभ्यता हो, दुई चार हजार रुपैयाँ बढाउने र घटाउने होइन । त्यसैले दुइटा अनुरोध छ, या त यस पुस्तकबाट समाजवाद नाम हटाइदिनुहोस् म खुशी हुने छु । या शहरका ठाउँमा गाउँ राखिदिनुहोस् झन धन्य हुने छु ।

जय नेपाल

(बजेटको छलफलमाथि नेपाली काँग्रेसका सांसद प्रदीप गिरिले गरेको सम्बोधनको पूर्ण पाठ)

प्रतिक्रिया दिनुहोस्

Recent Posts