Logo

लोकसभाको ५१ सिटका भारतमा आज पाँचौ चरणको चुनाव

सोनिया, राजनाथ र राहुल सहित ६ सय ४७ नेताको भाग्यको फैसला



एजेन्सी । भारतमा लोकसभा निर्वाचन अन्तरगत पाँचौ चरणको मतदान आज सुरु भएको छ । यो चरणको चुनावमा केही दिग्गज नेताको प्रतिष्ठासँग जोडिएको छ । आजको चुनावमा यूपीए अध्यक्ष सोनिया गान्धी, कांग्रेस अध्यक्ष राहुल गान्धी, केन्द्रीय गृहमन्त्री राजनाथ सिंह, स्मृति इरानीसहित ६ सय ४७ नेताहरुको भाग्य फैसला हुनेछ ।

आज ७ राज्यका करिब ८ करोड ७५ लाख मतदाताले ५१ लोकसभा सदस्य चुन्नेछन् । ५१ सिटका लागि ६ सय ४७ जना उम्मेदवार चुनावी मैदानमा छन् । कुल ५१ सिटमध्ये अघिल्लो चुनावमा भाजपाले ३९ सिट र कांग्रेसले २ सिट जितेका थिए । बाँकी सिट अन्य विपक्षी दलहरुले जितेका थिए । आज उत्तर प्रदेशको सबैभन्दा धेरै १४ सिट, राजस्थानका १२ सिट, पश्चिम बंगाल र मध्यप्रदेशका ७–७ सिटमा मतदान भइरहेको छ ।

यसैगरी बिहारका ५ र झारखण्डका चार सिटमा पनि आज नै मतदान भइरहेको छ । जम्मु–कश्मिरको लद्दाख सिट र अनन्तनाग सिटका लागि पुलवामा र शोपिया जिल्लामा पनि चुनाव भइरहेको छ । पाँचौ चरणको मतदानसँगै ४ सय २४ सिटमा चुनाव सम्पन्न हुनेछ । बाँकी १ सय १८ सिटमा १२ मे र १९ मेमा चुनाव हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

Recent Posts