Logo

गीतबाट डराएको राज्य

धर्मेन्द्र झा



केही दिनअघि अचानक पशुपति शर्माको एक गीतले निकै चर्चा पायो, सँगै गीतका स्रष्टा, सरकार र युवा संघजस्ता सत्ताका निकटस्थ संघ संस्थाहरु पनि चर्चाका पात्र बने । निश्चय पनि दिनेले महत्व दिएकै कारण त्यस गीतले चर्चा पाएको कुरामा शंका छैन । यहाँ यस आलेखमा त्यस गीतमा प्रयोग भएका शव्द, भाषा र विचारका बारे विश्लेषणको प्रयत्न गरिने छैन । निश्चय पनि ती स्रष्टाका निजी भावनासँग सम्बन्धित छन् । तर जब कसैको विचार तथा भावना सार्वजनिक हुन्छ र त्यसले समाजलाई प्रभाव पार्न थाल्छ, त्यो निजी हो भनेर उन्मुक्ति दिन भने मिल्दैन । सार्वजनिक भइसकेको र स्रोता तथा दर्शकबीच लोकप्रीय बनिसकेको गीत जब जनताबीचबाट फिर्ता लिइने अवस्था सिर्जना हुन्छ भने त्यो विषय जनचासोको विषय बन्ने कुरालाई अस्वीकार गर्न मिल्दैन । अझ एउटा गीतबाट जब राज्यले त्रसित मानसिकता प्रदर्शन गर्छ भने कुरा गम्भीर बन्न जान्छ ।

विचार तथा अभिव्यक्ति स्वतन्त्रता मानवका नैसर्गिक अधिकार हुन । अन्तर्राष्ट्रिय मापदण्डका आधारमा विश्लेषण गर्ने हो भने लोकतन्त्रमा यस्ता अधिकारलाई राज्यले सुनिश्चित गर्नुृपर्ने नकारात्मक अधिकारका रुपमा स्वीकार गरिन्छन् । यस्ता अधिकारको प्रयोग गरेर आमजनताले राज्यकै आलोचना गरिरहेको हुन्छ र उसले व्यक्त गर्ने विचारले कहिलेकाहिँ राज्यलाई हानी पुर्याइरहेको हुन्छ । तर पनि नागरिकप्रतिको आफ्नो दायित्व सम्झँदै राज्यले यस्ता अधिकारको संरक्षण गर्नुपर्ने हुन्छ । निकै दिन भइसक्यो, अस्ट्रेलियामा आफूलाई आदीवासी रैथाने दावी गर्नेहरुले संसदको प्रागणमै बसेर विरोध गर्दै निरन्तर आफ्नो सरोकार अभिव्यक्ति गरिरहेका छन र सरकारले महत्व दिई उनीहरुलाई त्यहाँबाट वलजफ्ती हटाउने प्रयत्न गरेको छैन । नेपालका सन्दर्भमा विश्लेषण गर्ने हो भने पशुपति शर्माको गीत पनि यस्तै अभिव्यक्ति हो जसले राष्ट्रिय स्वार्थलाई सम्बोधन गर्दछ । तर यहाँ केहीले यसलाई सकारात्मकरुपमा ग्रहण गर्न सकेका छैनन् । उनको गीत कसलाई कस्तो लाग्यो ? गीतले कसलाई हानी र लाभ पुर्रयायो भनेर खोजी नीति गर्नुभन्दा पनि उनलाई आफ्नो विचार अभिव्यक्त गर्ने स्वतन्त्रता छ कि छैन भनेर विश्लेषण गरिनु जरुरी छ । बरु विचार अभिव्यक्त गर्ने शैली उचित छ कि छैन र त्योे नैतिकता तथा कानुन

सम्मत छ कि छैन, भनेर हेर्नु उचित हुन्छ । निश्चय पनि शर्माको उक्त गीतमा प्रयोग भएका केही शव्द छलफल र वहसका विषय बन्न सक्लान त्यो अलग कुरा हो ।

गीतको अक्षर र खास खास शव्दको अर्थ चिर्ने प्रयास गर्नुभन्दा पनि समग्रमा भाव हेरिनु उचित हुन्छ । समग्रमा हेर्दा गीतले देशमा व्याप्त कूशासन, बेथिति, विकृति, भ्रष्टाचार र अनियमितताजस्ता कुराको कलात्मकरुपमा विरोध गरेको छ । तर शर्माको त्यो गीत सार्वजनिक अस्तित्व (यूट्यूव)बाट आधिकारिक रुपमा अलग (डिलिट) गर्नुुपर्ने अवस्थाको सिर्जना भयो । प्रश्न उठ्छ, आखिर किन ? गीत डिलिट गर्नुपर्ने बाध्यताका रुपमा जे जस्तो कारण अहिले चर्चामा छन् त्यो विचार तथा अभिव्यक्ति स्वतन्त्रताको प्रतिकूल छ ।

गीत रोक्न जे उपाय अवलम्बन गरिएको भनेर भनिएको छ त्यो गलत छ । युवा संघले गीतका सम्बन्धमा एक विज्ञप्ति नै जारी गर्यो, यसको भाषा केलाउने हो भने भावहरुलाई परिमार्जन गर्न सल्लाह दिन सकिने धेरै ठाउँ छन् । त्यसो त युट्युवलगायत अन्य सामाजिक सञ्जालमा अन्य स्रोतहरुको सक्रियतामा यो गीत छ्यापछ्याप्ती उपलब्ध छन् । यसबाट पनि यो गीतको लोकप्रियताको अनुमान लगाउन सकिन्छ ।

एउटा कुरा निश्चय पनि हो, लोकतन्त्रको पूर्व शर्तका रुपमा स्वीकार गरिएको विचार तथा अभिव्यक्ति स्वतन्त्रता निरपेक्ष भने होइन । घृणा र विद्वेष फैलाउन नपाइने कुरा अन्तर्राष्ट्रिय मूल्य—मान्यतासँग सम्बन्धित छ । तर राज्य व्यक्ति होइन । उपर्युक्त मूल्यका आधारमा राज्यले आफ्नो काम कार्यवाहीविरुद्धको आलोचना नियन्त्रण गर्न मिल्दैन । माथि उल्लेख गरिएका सन्दर्भहरुको विश्लेषण विचार तथा अभिव्यक्ति स्वतन्त्रताको अन्तर्राष्ट्रिय मूल्य—मान्यताका आधारमा गरिनु आवश्यक हुन्छ ।

यस आधारमा शर्माको गीत साँच्चै देशको हीतविरुद्ध र देशमा आमरुपमा घृणा फैलाउने सार्वजनिक नैतिकता प्रतिकूल छ भने त गीतमाथि प्रतिवन्ध लगाउनुे र रोक्ने कुरालाई उचित नै ठहर्याउन सकिएला, होइन भने सम्बन्धित पक्षले यसका सम्बन्धमा उचित उत्तर दिनु नै पर्ने हुन्छ । सोच्नुपर्ने अवस्था छ, एउटा गीतबाट डराउने राज्यमा लोकतन्त्र कसरी गतिशील बन्न सक्ला ?

प्रतिक्रिया दिनुहोस्