Logo

नेपाली कांग्रेसमा पारिबारिक योगदान र संघर्ष



बागलुङ जिल्लाको बिकट गाउँ सल्यान गाविस हालको बरेङ गाउँपालिका वार्ड नम्बर ४ मा किसान परिबारमा जन्म भएको हो  । बुबा पूर्णबहादुर केसी र माता देउरूपा केसीको कोखबाट १० जना सन्तानको जन्म ५ छोरा ५ छोरीको जन्म भएको थियो। अहिले बुबाआमाको दुई बर्षको अन्तरकालमा स्वर्गाहरण भैसकेको छ। एक छोराको २ बर्षको उमेरमा निधन भएको  । हामी ४ दाजुभाई नै पढ़नमा स्कूल तहमा प्रथम हुने गर्थियौ।बैनि  पनि प्रथम द्दितिय हुने गर्दथिन  । तर, ४ दिदीहरूले भने त्यो बेलाको समय र गाउँमा खेतीकिसानी गर्नुपर्ने बाध्यताले पढ़न पाउनुभएन  । हाम्रो राजनीति कारणबाट बुबाआमाले निकै दुःख र टेन्सन पाउनु भयो  । घरमा बुबा–आमालेमात्र सबै काम गर्नुपर्ने अवस्था थियो  ।

बुबाआमा किसान हुनुहुन्थ्यो  ।  राजनीति गर्ने भन्ने त सबाल नै भएन  । तर, सबै भाईहरूको राजनीतिमा अत्यन्तै रुचि पनि थियो  । ४ दाजुभाई नै आफ्नो समय अनुसार शिक्षक पनि भयौ  । ठूलो दाईले २०४० सालमा गुल्मीको शान्तिपूर स्कूलमा लगभग ७ महिना र २०४३ सालमा काठमांडौ महेन्द्र भवन कन्या स्कूलमा २ बर्ष पढ़ाउनु भो भने माहिलो दाँई अहिले पनि स्थायी शिक्षक हुनुहन्छ  । साहिलो दाई(मनोज कुमार केसी)ले गाउँकै सल्यान माबिमा पढ़ाउँनु भो २ बर्ष जति  ।  मैले गुल्मीको हर्राचौर माध्यामिक बिद्यालयमा १९ महिना अध्यापन पनि गरे  । बहिनिले पनि पछि मैले पढ़ाएको सोही स्कूलमा पढाइन  । साथै २०६१ सालमा काठमांडौको सतुङगलमा रहेको एस.आर ड्रग्स ल्याबोरोटोरिज भन्ने औषधि फ़्याकट्रीमा प्रशासन  प्रमुख  भएर लगभग ११ महिना जति काम गर्ने मौका पाएको थिए  । उक्त कम्पनीको म्यानेजिङ डाईरेक्टर फोरमबाट समानुपातिक  सभासद मधुसुदन अग्रवाल थिए  ।

अब केहि राजनीति बिषयको कुरा तिर जाउँ  । म,लगायत हाम्रो परिबारको राजनीतिक गुरुको रूपमा आदरणीय ब्यक्तित्व तत्कालीन राष्ट्रिय पंचायत सदस्य कुलराज शर्मा र हाम्रो गाउँको काका थानेस्वर शर्मा थिए  ।  बागलुङ कांग्रेसको पार्टी संगठन बिस्तार गर्नमा कुलराज काकाको महत्वपूर्ण भूमिका थियो  । उहाँ २०४३ सालमा पार्टीकै निर्देशन अनुसार राष्ट्रिय पंचायत सदस्यमा जानु भएको थियो  । पछिल्लो समयमा उहाँ कांग्रेस पार्टीबाट निस्क्रिय देखिनुभयो  । नेपाली कांग्रेसले ३० बर्षे पंचायत ब्यबस्था हटाउनको लागि देशभरि नै भूमिगतरूपमा संगठन गर्ने र आन्दोलन पनि गरिराखेको थियो  । २०४३ सालमा मेरो आफनै गाउँ सल्यानमा नेबीसंघको जिल्ला अधिबेशन गरियो  । जगदिशचन्द्र उपाध्याय अध्यक्ष भए भने मेरो माहिलो दाई जिल्ला सदस्यमा चयन हुनुभयो। गाऊँमा अधिबेशन भईरहेको समयमा प्रहरीहरू सल्यानको बाटो हुदै सूखौरातिर गएका थिए। म, त्यो बेला पाँच कक्षामा पढ़थे। जेहोस राजनीतिमा सानैदेखि रुचि र प्रभाब परेको थियो।ठूलो दाईं आइएससी अध्ययन गर्न राजधानी जानु भएको थियो  ।ठूलो दाँई पंचायत बिरुद्दको आन्दोलनमा निकै सक्रिय साथ लाग्नु भयो। २०४३सालको पंचायतले गरेको चुनाबमा काठमांडौ नगरबाट कांग्रेस समर्थित उम्मेदवार हरिबोल भट्टाराईलाई निर्बाचित गराऊँन पनि चुनावी अभियानमा जोड़तोडले लाग्नु भयो।२०४०सालको एसएलसी(SLC)मा गुल्मी  जिल्ला टप गर्नु भएको थियो। २०४५ सालमा बहुदलको आन्दोलन भैराखेको समयमा आइएससी (ISC)टप गरि नेपाल सरकारको छात्रबृतिमा चीनमा डाक्टर पढ़न जानु भयो। एमबिबिएसमा चीन टप गर्नु भयो। एमडि अध्यन गर्नको लागि चीन सरकारले नेपाल सरकारको नो अबजेक्सन लेटर खोज्यो। नेपाल सरकारले दाईंलाई नो अबजेक्शन लेटर दिएन। ताकि नेपालमा कांग्रेस सरकारमा थियो, शिक्षा मन्त्री गोबिन्द राज जोशी थिए।बिधार्थी आन्दोलनमा ४ दर्जन भन्दा बढ़ी प्रहरी कस्टडीमा परेको ब्यक्तिलाई नेपाल सरकारको कुनै लगानी नहुने ठाऊमा नोअबजेक्शन लेटर पनि दाईंले पाउनु भएन। अति दुःखको कुरा। पछि चीन सरकारले आफै नियम परिबर्तन गरेर बिदेशी भए पनि ९०% ओभर लिएको छ भने सिधै एमडी गर्न दिने भने पछि, दाईंले चीन सरकारको छात्रबृतिमा एमडी(MD) पढ़नु भयो र एमडी पनि टप गर्नु भयो। दाईंले MBBSमा ९१% र MD मा ९३% ल्याउनु भएको थियो। ९ बर्ष लगातार चीन पढ़ेर आएपछि अहिले नेपालकै बरिस्ठ मुटुरोग बिशेषज्ञ हुनु भएको छ।

२०४६ सालमा नेपाली कांग्रेसले पंचायती ब्यबस्था हटाउनको लागि निर्णायक आन्दोलन गर्ने घोषणा गरेको थियो  । म कक्षा ८ मा पढ़थे  । नेपाल बन्द भन्ने पहिलो चोटी त्यहि बेला सुनेको हो  । माहिलो दाईं, नेपाल बिधार्थी संघको जिल्ला सदस्य भएको हुँदा प्रहरी खोजतलास गर्न एक साँझ घरमा आउने सुइको पाए पछि दाईंलाई प्रहरी घर आऊनु अगाबै एक जना फुपुको गोठमा लगेर लुकाइयो  । पछि द्वन्दकालमा २०६१ सालमा माहिलो दाईं शिक्षक भएको हुदा माओबादीबाट खतरा आएको हुँदा सुरक्षाको लागि एक बर्ष बेतलबि बिदा लिएर साउदी अरब पठाइयो।देशमा गणतन्त्र आइसकेपछि पुन नेपाल फर्किनु भयो। अहिले नेपाल सरकारको पेन्सनको अबधि पूरा भए पनि शिक्षण पेसामा नै हुनुहुंछ।

मैले पनि त्यहि दिन स्कूलबाट घर आउने समयमा पूलमा बाटोभरि ‘पंचायती ब्यबस्था मुर्दाबाद) भन्दै जतासुकै लेख्दै आएको थिए  । घर आउँदा प्रहरी, यति डर लागेन  । त्यो बेला उमेर पनि सानो, प्रहरीको नाम सुन्नासाथ सबै डराउने गर्दथे  । फेरी पंचायतकालको समय  । खासै बुझेर जानेर भन्दा पनि गाउँको बाताबरण सबै कांग्रेसमय थियो  । अनि हाम्रो स्कूलको सबै शिक्षक डेमोक्र्याटस भएर पनि होला  । यहि क्रममा २०४६ साल चैत्र २६ गते बहुदल घोषणा भयो  । त्यसपछि म गाऊँ इकाईको नेपाल बिधार्थी संघको इकाई अध्यक्ष भए  । २०४७ साल देखि २०५५ साल सम्म  । अनि उदय माध्यामिक बिद्यालय शान्तिपूरमा २०४७ मा ईकाई सचिब र २०४८ मा निर्बाचित इकाई अध्यक्ष भए  । सम्भवत स्कूल तहमा। मलाई शुरू देखि नै पार्टीका हरेक कार्यक्रममा जादा, भाषण सुन्दा अति नै इमोशन र आबेग आउने गर्ने थियो।

त्यो समयमा पनि प्रतिस्पर्धा गरेर निर्बाचित हुने पहिलो घटना पनि हुनसक्छ  । यति कडा राजनीति लागेको थियो, गुल्मी क्षेत्र नम्बर १ का लगभग सम्पूर्ण गाबिसमा कार्यक्रम गर्न पुगे  । गुल्मीका हर्राचौर, मजूवा, आपचौर, हरेवा लगायतका गाऊँहरूमा एमालेको भौतिक आक्रमणबाट धेरै चोटी पिडित भैयो।  बागलुङ त आफनै जिल्ला भएको हुँदा अधिकांश गाउँ पुगेको छु। बागलुङमा सूखौरा, राङखानी,हुग्दिशिर,कूस्मिसेरामा रास्ट्रिय जनमोर्चा संग लडाई  भएर भागभागको स्थिति धेरै पटक भयो।  फेरी, हाम्रो एरियामा रास्ट्रिय जनमोर्चाको दबाब थियो  । उनिहरूको एरियामा दिनमा हिड़डुल गर्न पनि गाहे थियो  । कांग्रेस हो भन्ने थाहा भयो भने कुटाई खाईहाल्ने अबस्था त्यस्तो थियो  ।  पार्टी–पार्टी बिचको लडाई र संघर्षमा कम्तिमा ७–८ चोटी टाउको फुटाउने देखि गम्भीर मुद्दा लाग्ने सम्मको घटनामा परे  । जहाँ गयो त्यहि लडाई र कूटपिट हुने  । चरम राजनैतिक तनाब र प्रतिस्पर्धा हुने गर्दथ्यो पार्टी–पार्टी बिचमा  । बोलचाल नै नहुने  । २०५० सालमा त्रिभुवन बहुमुखी क्याम्पस पाल्पा, तानसेनमा आइए अध्यन गर्न आए  । पाल्पा बहुमुखी कलेज अखिलको गढ़ थियो  । नेबिसंघलाई चुनाब जित्न एकदम गारो   । स्वबियू निर्बाचनमा नेबिसंघबाट जम्मा एक जना अजय कर्मचार्यले मात्र चुनाब जितेका थिए  । अहिले उनि पाल्पा कांग्रेसको सचिब छन भन्ने सुनेको छु  २०५२ पछि उनिसंग भेट भएको छैन  । अहिले तानसेन नगरपालिकामा मेयरबाट पराजित पनि भए  ।पाल्पा कलेज अध्यन गर्दा स्वबियू सभापतिमा गुल्मीका देबेंद्र पौडेल लडेर पराजित भए अखिलकी सृजना काफले संग। देबेंद्र पौडेल अहिले बीपी कांग्रेसमा लागेको छन रे।

पाल्पा बहुमुखी कलेजमा अध्यन गर्दा म धौलागिरी अञ्चल समन्यव समिति (बागलुङ, पर्वत, म्यागदी र मुस्ताङ)समितिको अध्यक्ष र कलेजको इकाई सचिब थिए  । २०५१ सालमा जाड़ो बिदामा गाउँ जादा राजनैतिक लड़ाईमा मुछिन पुगे  । मलगायत हामी ३ भाईलाइ सार्बजनिक मुद्दा लगाइयो  । घरमा केबल बुढ़ाबूढ़ी आमाबुबा मात्र हुनु हुन्थियो । सबै काम बुबाआमाले गर्नु पर्ने एकदम गाह्रो अबस्था थियो  । केश दर्ता भैसके पछि भतिज भक्तसहित तराईको बिभिन्न क्षेत्रमा भागेर हिंडियो ।  ३५ दिन सम्म बागलूङ जिल्ला प्रहरीले वारेण्ट जारी गर्यो  ।  पछि मुद्दा त  जितियो  । त्यो बेला बागलुङमा प्रमुख जिल्ला अधिकारी दोलख बहादुर गुरुङ हुनहुन्थियो  । यो मुद्दालाई  बलबहादुर केसी. दाईले पनि सहयोग गर्न भएको थियो  । दाई (डा. मन बहादुर के.सी.)नेपाल सरकारको छात्रबृतिमा चीनमा मेडिकल पढ़न जानु भएको थियो  । २०५३ सालमा बिए अध्यन गर्न त्रिचन्द्र  कलेजमा भर्ना भए । २०५३ साल देखि २०५८ साल सम्म त्रिचन्द्रमा अध्यन गरे  । गगन थापाजी, बिएससीमा अध्ययन गर्थे  गगन थापा र मेरो कलेज लेबल उहि भए पनि   फ्याकल्टी भने  फरक थियो ।

विस २०५५ सालमा गगन थापालाई स्वबियू सभापति जिताउन सहयोग गरे  । हुनत, त्रिचन्द कलेज नेबीसंघको गढ थियो  । नेबीसंघको ४ प्यानल बिच प्रतिस्पर्धा गर्दा पनि जित नेबिसंघको नै हुने हो । अखिलको मत  निकै कम थियो  । २०५५ सालमा नै म नेपाल बिधार्थी संघ बागलुङ क्षेत्र नम्बर २ को क्षेत्रीय अध्यक्ष भए  । साथै नेपाल बिधार्थी संघ जिल्ला कार्यसमितिको आमन्त्रित सदस्य पनि थिए  । जिल्ला अध्यक्ष गंगाधर गौतम थिए  । एक चोटी गलकोटमा नेबीसंघको जिल्ला अधिबेसन हुदै गर्दा म, गंगाधर अध्यक्षको प्रत्याशी थियौ । मलाई मेरो दाँई मनोजले र केन्द्रीय प्रतिनिधिले सहमति गरेर जानको लागि दबाव दिएपछि आफ्नो उम्मेदवारी फिर्ता लिएको थिए । केन्द्रीय प्रतिनिधिमा किशोर सिंह राठोर, राजेन्द्र के.सी. मिलन बस्नेत गएका थिए  । अधिबेशनको  समयमा पनि नेबिसंघ र मसालको राति लडाई भएको थियो  ।

२०५६ सालको आमनिर्बाचनको लागि काठमांडौबाट चुनाब प्रचारप्रसार र अभियानको लागि क्षेत्र नम्बर २ को २१ गाबिसको अभियान सकेपछि मेरो नजिकको गाऊँ सुखौराको जंगलमा २०५६ साल बैसाख ३० गते साँझ ५ बजे ५ र ६ जना रास्ट्रिय जनमोर्चाको कार्यकर्ताले लगातार कोदालोको बीडले हिर्काउन शुरू गरे । म बेहोस भए । यति कूटे, जतासुकै शरीरभरि निलडाम झन्डै बाचियो।  आक्रमणबाट मेरो बायाँ खुट्टा भाचियो। हेलिकप्टर मार्फत पोखरा हुदै थप उपचारको लागि मलाई काठमांडौ ल्याइयो । पोखरा बिमानस्थलमा पार्टीको तर्फबाट कास्की कांग्रेसका नेता तथा तत्कालीन रास्ट्रिय सभा सदस्य शुक्रराज शर्मा लिन जानु भएको थियो । त्यो साँझ गण्डकी अंचल अस्पताल पोखरामा सामान्य  उपचार गरि थप उपचारको लागि अर्को दिन हवाईजहाज मार्फत काठमांडौ आए । बागलुङबाट पार्टीले सहयोगको लागि जितबहादुर खत्रीलाई पठाएको थियो । उहाँ बागलुङ नै फर्किनु भो ।

वि.स.२०६१ सालमा माओबादी द्वन्द्धले गर्दा नेपाल प्रहरीमा जम्मा ४ बर्ष जागिर गरि प्रहरी अधिकृतको जागिर छोड़ी युएई आइपुगे । नेपाल प्रहरीको अबस्था एकदम नाज़ूक थियो । दिन-रात कटाऊँन पनि गारो अबस्था थियो। घर परिवार सबैजना मेरो जागिरबाट एकदम चिन्तित हुनुहुन्थियो । बस बाटोमा कतै हिड़डुल गर्न पनि गारो थियो। तालिम केन्द्र दिपायल रहदा रातभरि ट्रेंच खाल्डोमा सुत्नुपर्ने माओबादीको डरले । जिल्ला प्रहरी कार्यालय मकवानपुरमा छँदा प्रायः म नै प्रहरीको तर्फबाट नेपाल आर्मी संग अप्रेशनमा जानु पथ्र्याे । बालबालले अप्रेशनको क्रममा धेरै घटनाबाट बाँचेको थिए । एक चोटी हेटौडामा प्रहरी र आर्मीको संयुक्त गस्ति एम्बूशमा पर्यो । सगै गाडीमा रहेका प्रहरीको २ जवान र आर्मीको सूबेदार सहित ४ जनाको घटनास्थलमा नै दुखद मृत्यु भएको थियो । जुन घटना जीवनको दुखद र कहालीलाग्दो थियो । त्यसपछि माओबादीको कारणबाट नै युएई आइपुगे । युएइ आएर २०१० मा नेपाली जनसम्पर्क समिति युएइको स्थापना गरि संस्थापक सभापतिसहित दुई कार्यकाल जिम्मेवारि निभाए । अहिले नेपाली कांग्रेसको महासमिति सदस्यको साथ साथै युएइमा रहेका धेरै संस्थाहरुमा आबद्द छु । एनआरएनए आइसिसी सदस्य पनि छु ।

अझै एक रोचक प्रसंग त के छ भने २०५९ साल पछि जब ज्ञानेन्द्रले सत्ता आफ्नो हातमा लिए । त्यो समयमा ७ दलले उक्त कÞदमको बिरोध स्वरूप कडा आन्दोलन गरिराखेको थियो । दिनहु जसो ७ राजनैतिक दलको काठमाडौंको प्रमुख चोकमा जुलूस र आन्दोलन हुने गर्थियो। बेला म नेपाल प्रहरीको अधिकृतको हिसाबले कलंकी चोकमा  सात दलको आन्दोलनलाई नियन्त्रण गर्नको लागि भनेर मलाई कमाण्ड कण्ट्रोलमा खटाउने गर्दथ्यो । म नेपाल सरकारको तर्फबाट प्रहरी अधिकृतको हिसाबले आन्दोलनकारीलाई नियन्त्रणमा लिने या दबाऊने गर्नु पर्नेमा उल्टो मेरो साथ र सहयोग र नैतिक समर्थन मन भित्रबाट नै राजनैतिक दललाई हुने गर्दथ्यो । बरु मैले आफुले आन्दोलनकारीको ढुंगा खाए हुँला तर मैले कहिले पनि आन्दोलनकारीलाई दबाऊने लाठी चार्ज गर्ने काम समेत गरिन  । किनकी मेरो नशानशामा कांग्रेस र बीपीको बिचारको रगत उम्मलिराखेको थियो । पार्टीमा धेरै पसिना रंगत र मिहिनेत गरिसकेको थिए त्यो बेला सम्म  । मलाई कांग्रेस भने पछि एकदम माया लाग्ने गर्थियो । प्रहरीमा छदाँ रहदा पनि पार्टीले गर्ने हरेक बिषयमा मेरो साथ सहयोग र समर्थन रहने गर्दथ्यो । म अलि खरो र क्रान्तिकारी स्वभाबको नै छु । कुनै पनि अप्ठारो र गाह्रो बिषयलाई पनि डर नमानिकन सहज तरिकाले समाधान गर्ने हिम्मत पनि आउछ ।

स्मरण रहोस(मेरो ठूलो दाई ( बरिस्ठ मुटुरोग बिशेषज्ञ डा.मनबहादुर के.सी.) राजनीतिमा कट्टर यति सक्रिय हुनुहन्थिथयो । तर, राजनीतिमा लागे पनि जीवनमा कुनै सदस्यमा बस्नुभएन । तर पार्टीलाई सहयोग र पञायत बिरुद्द आन्दोलन गर्ने क्रममा ४ दर्जन भन्दा बढि प्रहरीको हिरासतमा पुग्नुभो । उहाँ राजनीतिदेखि आफ्नो मेडिकल क्षेत्रमा उत्तिकै नमूनायोग्य दख्खल राख्नुहुन्छ । त्रिभुवन शिक्षण अस्पताल महाराजगंजमा २०५३ सालमा शुरूको नियुक्ति २ बर्ष सेवा गरि २०५५ सालमा शहीद गंगालाल हृदयरोग केन्द्र बा‘सबारीमा एकल संस्थापक डाक्टरको रूपमा एक बर्ष एकल काम गरि २०६८ सालमा अस्पतालको कार्यकारी निर्देशकको रुपमा काम  गर्नु भो। प्रधानमन्त्री द्वय स्व. गिरिजा प्रसाद कोईराला र स्व. सुशील कोईरालाको  चिकित्सकको रूपमा समेत काम  गर्नु भयो। मुटु सम्बंधी एक अनब्रेशण गरेबापत २०६८ सालमा रोनास्ट  बाट युवा बैज्ञानिक पुरुस्कार समेत पाउनु भएको थियो। अहिले शाहिद गंगालालमा २१ बर्षको लामो सेवा अबधि पस्चात  अहिले हयाम्स अस्पतालमा आफ्नो सेवा शुरू गर्नुभएको छ ।

मेरो साहिलो दाई मनोजकुमार केसी(अहिले हुनुहुन्न) । पढ़ाइमा एकदम तेज हुनुहुँथियो।२०४५ सालमा १५ बर्षकै उमेरमा एसएलसी पास गरि काठमाँडौ आइकम(ICOM) पढ़न आऊनु भयो। २०५५ सालमा शंकरदेब कलेजमा स्वबियू सदस्यमा निर्बाचित हुनु भएको थियो  । त्यतिबेला दाँईले एमबिए एमबिए(MBA) अध्ययन गर्नु हुन्थ्यो ।मास्टर्स (MBA)पास गरीसके पछि  बेल्जियम जानु भयो  २००१ तिर । सन २००७मा नेपाली जनसम्पर्क समिति बेल्जियमको  अध्यक्ष समेत हुनुभएको थियो । २०६७ सालमा यूकेमा(UK) गएको डेढ बर्ष भित्रमा ३७ बर्षको अल्पआयुमा दुखद निधन भयो । बिहे गरेको पनि दुई बर्ष नहुदै ।

पार्टी संगठनको लागि हाम्रो परिबारले बिभिन्न समयमा योगदान गर्दै आएका छौ । अहिलेको समयमा आएर कांग्रेस पार्टीको कमजोर अबस्था देख्दा दुःख लागेर आउछ । पार्टीमा निस्ठावान र त्यागको मूल्यमा मूल्याङकनमा कमी आएको छ  । पार्टीमा नाताबाद, धनबाद, चाकडीबाद र गुण्डाबाद जस्ता बिकृति मौलाएको छ । यस्ता बिषयलाई निरुत्साहित गरि पार्टीको स्थापित एजेण्डालाई आत्मसात गरि जान नसक्ने हो भने पार्टीको भबिस्य सहज र सुखद छैन । अनुशासन छैन, पार्टी बिधान र प्रक्रियागत रूपले चल्न सकेको छैन । बामहरूको दुईतिहाईको सरकार छ, कांग्रेस मौलिक एजेण्डा बोकेर जनता संग जान नसकेको अबस्था छ । अन्तरघात मौलाएको छ । देश पूर्णतया अराजकतर्फ जाने संकेत बढेर गएको छ । आर्थिक अवस्था पनि कमजोर छ । ब्यबस्था माथि नै प्रश्न उठन शुरू गरेको छ । जनताको आधारभूत बिषयहरुमा कुनै परिबर्तनको आभाष पाईदैन । दैनिक हजÞारौ युवाहरू बिदेश पलायन भैराखेका छन । यसलाई नियंत्रण गर्ने तर्फ खासै चासो र सरोकार पनि देखिÞदैन । अहिले देशमा ठूला–ठूला काण्ड भैराखेका छन । सुनकाण्ड देखि सिके राउत सम्म । तर यस बिषयमा सरकार र प्रतिपक्षको भूमिका र अडान स्पस्ट देखिदैन ।  देशमा हरेक क्षेत्रमा ब्याप्त बिसङगति छ। तर, यसको प्रतिकारमा न कांग्रेस बोल्छ, न जनताको कुनै प्रतिक्रिया नै छ, सरकारका मन्त्रीहरू एकोहोरो काम भन्दा गफ र भाषणमा छन। देशको आर्थिक बृदिदर र गरिबी बिगत सालको तुलनामा बढेको छ।

 

(लेखक के सी संस्थापक सभापति नेपाली जनसम्पर्क समिति युएइ तथा हाल कांग्रेस महासमिति सदस्य तथा एनआरएनए आइसीसी सदस्य हुनुहुन्छ -सम्पादक)

 

 

प्रतिक्रिया दिनुहोस्