Logo

कर छलीको अभियोगमा पक्राउ परेका व्यापारी तुल्स्यान नाटकियरुपमा अस्पताल भर्ना



वीरगंज । अवैधरुपमा किटनाशक औषधि उद्योग संचालन गर्दै कर छलीको अभियोगमा पक्राउ परेका व्यापारी श्याम तुल्स्यान अस्पताल भर्ना भएका छन्। पक्राउ गरेका ब्यापारी तुल्स्यान बिरामी भएको बाहाना गरि प्रहरीसंगको मिलेमतोमा नाटकियरुपमा अस्पताल भर्ना भएकाछन् ।
जिल्ला प्रशासन कार्यालय, पर्साले अवैधरुपमा किटनाशक औषधी उत्पादन गरेको र कर छली गरेको आरोपमा किसान एग्रो केमिकल्स उद्योगमा मंगलबार छापामारी उद्योग संचालक तुल्स्यानलाई नियन्त्रणमा लिएको थियो।

बुधबार जिल्ला अदालतले तुल्स्यानविरुद्ध अनुसन्धानको लागि एक साता प्रहरी हिरासतमा राख्न आदेश दिएपछि स्वास्थ्यमा गडबडीको कारण देखाउँदै उनी अस्पताल भर्ना भएका हुन्। नारायणी अस्पतालमा उपचारको लागि लगिएका तुल्स्यानलाई आइसीयु कक्षमा राखेर उपचार गर्नुपर्ने भएपनि अस्पतालमा आइसीयु कक्षमा शैय्या खाली नभएको भन्दै चिकित्सकले अन्यत्र लैजान सिफारिस गरेपछि उनलाई वीरगंज हेल्थ केयर अस्पतालमा प्रहरीले भर्ना गराएको छ । तुल्स्यानले प्रहरी निगरानीमा अस्पतालमा आराम गरिरहेका श्रोतले जानकारी दिएको छ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक अनन्तराम शर्माले तुल्स्यानविरुद्ध विभिन्न निकायले अनुसन्धान गरिरहेको जानकारी दिए। अवैधरुपमा उद्योग संचालनको विषयमा जिल्ला प्रहरी कार्यालय र कर छलीको विषयमा आन्तरिक राजश्व कार्यालयले अनुसन्धान गरिरहेको छ। वीरगंज महानगरपालिका वडा नम्बर ३ स्थित उद्योगले अवैधरुपमा किटनाशक औषधि उत्पादन गरेको दाबी गर्दै स्थानीय प्रशासनले शिलबन्दीसमेत गरेको छ । जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत उज्जवल बहादुर बस्नेतको नेतृत्वमा गएको टोलीले मंगलबार छापामारी उद्योगमा शिलबन्दी गरेको हो।

वाणिज्य कार्यालय पर्साका प्रमुख ओमनारायण शर्माले उद्योगले म्याद गुज्रिएको विदेशी किटनाशक औषधिलाई पुनः प्याकिङ गरेर नयाँ मिति उल्लेख गर्दै बजारमा बिक्री वितरण गरेको गुनासो आएको बताए। अनुगमन टोलीले उद्योगबाट विभिन्न प्रकारको रसायन तथा तयारी उत्पादन परिक्षणको लागि नमूना समेत संकलन गरेको छ।

प्रतिक्रिया दिनुहोस्

Recent Posts