Logo

अधिकार हस्तान्तरण नगरे आफ्नै प्रशासन सञ्चालन गर्छौँ : मुख्यमन्त्री राउत



काठमाडौँ । प्रदेश २ का मूख्यमन्त्री लालबाबु राउतले संघीय सरकारबाट तत्काल प्रशासनिक अधिकार प्रदेशमा हस्तान्तरण नगरिए मातहतका जिल्लामा नयाँ सिडियो नियुक्ति थाल्ने चेतावनी दिएका छन् । सिरहाको कल्याणपुरमा आयोजित कार्यक्रममा बोल्दै मुख्यमन्त्री राउतले संवैधानिक व्यवस्था अनुसार अधिकार हस्तान्तरण गर्न अझै आनाकानी गरिए आफै प्रशासन सञ्चालनमा जुट्ने चेतावनी दिएका हुन् ।

प्रदेश सरकार मातहत तत्काल प्रहरी हस्तान्तरण गर्न माग गरेका उनले प्रशासनिक अधिकार हस्तान्तरणमा ढिलाई भए सदनमा रहेको प्रशासनिक ऐन पारित भएसँगै नयाँ सिडियो नियुक्ती थाल्ने चेतावनी दिए । संघीय व्यवस्था अनुसार शान्ति सुरक्षा लगायतको प्रशासनिक अधिकार संघीय सरकार र प्रमुख जिल्ला अधिकारीबाट प्रदेश मातहत आउनुपर्ने भएपनि हस्तान्तरण नगरिएको मुख्यमन्त्री राउतको गुनासो थियो ।

संघीय सरकारमा सहभागी दलकै केही नेता संघियता असफल बनाउन केन्द्रित बनेको उनको आरोप थियो । संघीय सरकारले कर्मचारी व्यवस्थापनमा चासो नदिए प्रदेश संसदमा बिचाराधिन प्रहरी ऐन र करार ऐन पारित भएसँगै कर्मचारी भर्ना थालिने मुख्यमन्त्री राउतले बताए । लामो बलिदानी र संघर्षपछि बनेका प्रदेश सरकारको अधिकार कटौती नगर्न समेत मुख्यमन्त्री राउतले चेतावनी दिए ।

प्रतिक्रिया दिनुहोस्