Logo

पशुवलीे पनि हिंसा हो , मानवोचित होईन



बडादशैं, दशहरा, विजया दशमी, आयुधपूजा आदि नामले चिनिने दशैं हिन्दु नेपालीहरुको प्रमुख चाड हो । विशेषगरी हिन्दू धर्मावलम्बीहरुले आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म मनाउने यो पर्व नेपालको सबै भागमा मनाइने राष्ट्रिय चाड पनि हो ।
आश्विन शुक्ल प्रतिपदामा जमराराखि नवमीसम्म दुर्गासप्तशती (चण्डी) पाठ गरी नव दुर्गा र त्रिशक्ती (महाकाली, महालक्ष्मी र महासरस्वती) को विशेष पूजाआजा र आराधना गरिन्छ । विजया दशमीको दिन भगवतीले राक्षसी शक्तिमाथि र रामले रावणमाथि विजय हाँसिल गरेको खुशियालीमा नवदुर्गा भवानीको प्रसादस्वरुप रातो टीका र जमरा लगाउने चलन छ । असोज महिनाको शुक्ल पक्षको दशमी तिथि यस पर्वको प्रमुख दिन हो । धार्मिक शास्त्रमा उल्लेख गरिए अनुसार भगवान रामले यसै दिन रावणको वध गरेका थिए । त्यसैले असत्य माथि सत्यको विजयको रूपमा मनाइने पर्व हो दशैं । मेलमिलाप र सद्भावको पर्वका रुपमा मनाइने पर्व हो दशैं । परापूर्वकालदेखि चल्दै आएको आमोद प्रमोदको साँस्कृतिक उत्सव र पारिवारिक सम्बन्ध सुमधुर बढाउने पर्व हो दशैं । असत्यमाथि सत्यको जितको रुपमा मनाउँदा मनाउँदै परम्परा बनेको जितारेहरुले मनाउने उत्सव हो दशैं ।
तर कालखण्ड चाहार्दै जाने हो भने फरक तथ्यहरु देखिन्छन् । मुख्य चाडको रुपमा मनाउँदै आएको दशैंलाई एक पटक विष्लेषण गर्न अत्यावश्यक देखिन्छ । हामी आधुनिक युगको कालखण्डमा जीवनयापन गर्दैछौँ । बुझेर वा नवुझेर असत्यमाथिको जितमा सत्यहरुको कुण्ठा, पीडा, विवशता र बाध्यता बोकेर अबोध बालक झैं परम्परा निर्वाह गरिरहेका छौँ । सत्यको स्वाङ र पाखण्ड अलापेर युगौंदेखी मञ्चनगर्दै आएको दशैं के हो र किन मनाइन्छ भन्ने कुरामा हामी स्पष्ट छैनौ । त्यसैले तः एउटै आमाका सन्तान हामी तिनै आमालाई खुशीपार्न भनेर अर्को सन्तानलाई बली चढाई रहेका छौँ । के एउटा सन्तानको खुशीमा अर्को अवोध सन्तानको आँसु सहन सकिन्छ त आमाले ? घटस्थापनाको दिनबाट दशमीको दिनसम्ममा कति निर्दोष प्राणीले ज्यान गुमाउँछ ? आफ्नो स्वार्थको लागि एउटा बोली नभएको निरीह निर्दोष प्राणीलाई गिँडेर उत्सव मनाउँछौँ हामी । निरीह पशुको बली दिएर आहुती सिद्ध गर्ने र मांस भक्षण गरेर मनुष्यको पेट भर्ने कस्तो साँस्कृतिक उत्सव र पद्दती हो यो ?
मानव जसरी आफ्नो आमाको गर्भ प्रवेश पछि क्रमिक बृदिसंगै यस संसारमा आउँछ, त्यस्तै हरेक प्राणीले त्यहि पद्दतीबाटै संसार देख्छन् । मानव झैँ उनीहरुलाई पनि आफ्नो जीवन सुन्दर र प्यारो लाग्छ । किन हामी त्यो बुझ्दैनौ । सेवा–सत्कार गर्नु, गुणगान गाउनु, महिमा गाउनु नै पूजा हो तर हामीले पूजा भनेर कुनै अदृश्य शक्तिलाई खुशी बनाउन र आफ्नो स्वार्थको लागि निर्दोष प्राणीको बली दिनु कति जायज हो ?
विवेकशील मानव अझ बुद्धिजीवी भन्नेहरू नै ती अदृश्य शक्तिमाथि विस्वाश गर्दै आफ्नो स्वार्थको लागि भाकल गर्छन् । मनोकामना पूरा भएमा पशुबली चढाउँछन् । तर, तिनलाई यो किन थाहा छैन कि आफू आफ्नो मिहिनेतले सफल भयौँ भनेर । बरु मानव भन्दा बढी सत्यपथमा त ः पशु छन् । हामी त्यही निर्दोष पशुलाई दुर्गा र रामको नाममा किन वली चढाएर मैमत्त हुन्छौं ? पशु पनि पृथ्वीको एउटा जीव हो । जो मानवको वशमा छ । हरेक दुःख–कष्ट महसुस गर्न सक्छ । पशु बोल्न मात्र सक्दैन तर हामी पशुभक्षी बनेर मरिसकेका इतिहासका निर्जीव पात्रहरुको पाउँमा जीउँदा पशुहरुलाई बली चढाउँछौं । अझ इतिहासमा कतिपय ठाउँमा त मानव बली नै दिने प्रथा भएको वर्णण पाईन्छ । धन्न त्यो परम्परा भने यतिबेला हटेको छ । जसको शिकार निर्दोष पशुहरु बन्ने गरेका छन् ।
ढुङ्गा र धातुका सालिकहरुलाई पशुवली चढाएर वरदान माग्ने प्रथालाई नेपाली समाजले कालान्तरदेखि दोहो¥याइरहेछ । यहाँ जसको शक्ति उसकै भक्तिको रुपमा परम्परा र पर्वहरु विकसित भएको छ । जसलाई तपाई हामीले सच्याउन, समयानुकूल बनाउन र परिस्कृत गर्न अत्यावश्यक छ ।
अन्तमा, पूजां न पूजनेय्यानं, एतं मङगलमुत्तमं अर्थात पूजा गर्न योग्यलाई मात्र पूजा गर्नु पर्छ । जुन गरेको पूजाले सम्पूर्ण प्राणी जगतको हित होस् ।

                                                                                                                                    (लेखकका निजी बिचार हुन -सम्पादक)

प्रतिक्रिया दिनुहोस्