Logo

कवि विष्णुभक्त उपाध्यायको मन छुने कविता “आएछ मर्ने पल”



बाजा बज्न सुने विभिन्न मठ वा ती देवता मन्दिर
मेरो काल पुग्यो कि लाग्दछ कठै संकेत त्यो सम्झेर ।
पीडा जाग्दछ आजको समयमा सम्झेर मर्ने दिन
मैलेमात्र सजाय यो नियतिको भोग्ने भएँ है किन ?

कस्तो दैव तथा मनुष्य मनको माया हरायो कहाँ
मेरो रक्त सजाउने मन कसो भाग्यो दया खै कहाँ
मेरो नै बलिले नि देव कसरी सन्तुष्ट होला यहाँ
यस्तै ताजुव लाग्छ आज मनमा पीडा पुर्‍याऊ कहाँ र ?

मेरा आँसुहरू निरन्तर सधै बग्दै गए ता पनि
त्यसैको अवमूल्यनै हुन गयो को बुझ्छ पीडा अनि
द्यौता दैव भनाउदो जगतमा यो मासु नै खान्छ कि ?
मेरै रक्त पिएर यो जगतमा मान्छे कठै बन्छ कि ?

छोरो मै पनि देवको कि अथवा सन्तान कस्को म हुँ
थाहा छैन सचेतका चलनको यौटा निहत्था म हुँ ।
यो धर्ती कसको मनुष्य अथवा द्यौताहरूको भए
मेरो खै अधिकार लाग्छ कुन भू गर्द्यौ विधाता तय ।

द्यौता नै भनिद्यौ म ता विकल भै बाची रहेको धव
मेरो कानुन या विधान जगमा बन्ला नि कैले अब ।
यो संसार सजाउने कलमले विर्स्यो कि मेरो भव
मेरो पीडनमा रुने जगतमा देखिन्न कोही कठ ।

मर्ने पूजन पर्वको तमसको आहार आफै भएँ
माया शून्य हुने रुखो हृदयको आहार आफै भएँ ।
डोरी बन्धनमा परें कि मनले सोच्दै छु यो मन्मन
मैले जन्मनु नै थिएन जगमा भन्दै दुख्यो यो मन ।

साहारा अब छैन यो जगतमा बेला भयो अन्तिम
चौतर्फी भवमा नियाल्छु अहिले देखिन्न कोही अब ।
आफ्नै चित्त बुझाउदै मनमनै छोडेर घाटी तल
आँखा आँसु खसाउँदै विवस भै स्वीकार्छु मर्ने पल ।

हे माता विजया बली चलनको हामी शिकारै बन्यौं
माता न्यायिक हौ भने बुझ तिमी हामी अनर्थै मर्‍यौं ।
यो खोटो चलनै हटाउन यहाँ माता तिमी शक्ति द्यौ
यी सन्तान सबै बचून् जगतमा भन्ने तिमी आस द्यौ ।

 “वुद्धु कविता संग्रह समेत निकाली सक्नु भएका कवि उपाध्याय थलारा क्याम्पस बझाङका प्रमुख हुनुहुन्छ ।”

प्रतिक्रिया दिनुहोस्