Logo

निर्मला हत्या प्रकरणमा सरकार छानबिनको अन्तिम अवस्थामा : गृहमन्त्री थापा



काठमाडौं । गृहमन्त्री रामबहादुर थापाले कञ्चनपुरमा बलात्कारपछि हत्या गरिएकी बालिका निर्मला पन्त प्रकरणमा सरकार छानबिनको अन्तिम अवस्थामा पुगेको बताएका छन् । आज राष्ट्रियसभाका सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै गृहमन्त्री थापाले अपराधी जो सुकै भए पनि उम्कन नपाउने प्रतिबद्धतासमेत व्यक्त गरे ।

यो प्रकरणको अनुसन्धानमा सरकारले कुनै पनि कसर बाँकी नराख्ने भन्दै उनले थप उच्चस्तरीय छानबिन समिति र अन्य समितिहरुले अनुसन्धान गरिरहेको  जानकारी गराए ।

छानबिन समितिमा रहेका सदस्य असुरक्षित भएको भनी सोधिएको प्रश्नमा उनले गृह मन्त्रालयले सुरक्षा दिने बताएका थिए । समितिका एक सदस्य वीरेन्द्र केसीले केही दिनअघि राजीनामा दिएका थिए । गृह मन्त्रालयले सुरक्षा दिने बताएपछि उनले राजीनामा फिर्ता लिई छानबिन कार्यमा संलग्न रहेको मन्त्री थापाले बताए ।

निर्मला हत्या प्रकरणमा सरकारको छानबिन जारी रहेको र गम्भीरतापूर्वक छानबिन भइरहेको उनले बताए । ‘सरकार छानबिनको अन्तिम चरणमा आइपुगेको छ,’ उनले भने, ‘दोषीहरुमाथि कठोरतापूर्वक कारबाही होस् भन्नेमा गृह मन्त्रालय गम्भीर छ ।’

प्रतिक्रिया दिनुहोस्