Logo

फ्लोरेन्स नामक समुद्री आँधी अमेरिकाको पूर्वी तटीय क्षेत्र नजिक



अमेरिका । समुद्री आँधी फ्लोरेन्स अमेरिकाको पूर्वी तटीय क्षेत्र नजिकै पुगेको छ । आँधीका कारण धेरै मानिसको मृत्यु हुनसक्ने चेतावनी दिइएको छ । आँधी तटीय क्षेत्रमा ठोक्किने बेला आइसकेकाले सुरक्षित स्थानमा नगएकाहरुको ज्यान जोखिममा रहेको सुरक्षाकर्मीले बताएका छन् ।

संघीय आपतकालीन व्यवस्थान संस्था ‘फेमा’ले आँधीका कारण धेरै क्षेत्रमा विनाशकारी बाढी आउने सक्ने बताएको छ । नर्थ क्यारोलिनाको तटीय क्षेत्रमा तीव्र गतिको हावा चल्ने तथा ठूलो पानी पर्ने क्रम सुरु भइसकेको छ । यसले गर्दा बाढी आउन पनि थालेको छ । नर्थ क्यारोलिनाका ११ हजार भन्दा बढी घरमा बिद्युत आपूर्ति बन्द भएको छ ।

अहिलेसम्म १४ सय भन्दा बढी उडान रद्द गरिएका छन् । जर्जिया, मेरिल्याण्ड, भर्जिनियासहितका राज्यमा आपतकाल पनि घोषणा गरिएको छ । नेपाली समय अनुसार बिहान पौने तीन बजेको समयमा फ्लोरेन्स आँधी साउथ क्यारोलिनाको पूर्वी तटीय क्षेत्रमा रहेको मेर्टल बिच भन्दा २ सय ५० किलोमिटर मात्रै पर थियो ।

स्थानीय समय अनुसार शुक्रबार बिहान ८ बजेसम्ममा पहिरोसहितका विपद आउन थाल्ने बताइएको छ । फ्लोरेन्स आँधीलाई क्याटगोरी टू मा झारिएको छ । यसको हावाको गति अहिले १ सय ६५ किलोमिटर प्रतिघण्टा रहेको छ ।

फ्लोरेन्सका कारण आउने बाढीको पानीको सतह चार मिटरसम्म हुने बताइएको छ । आँधीबाट जोगिनका लागि जोखिमयुक्त क्षेत्रका लाखौँ मानिसहरु केही दिनदेखि सुरक्षित स्थानमा गैसकेका छन् । नर्थ क्यारोलिना, साउथ क्यारोलिना र भर्जिनियासहितका १७ लाख भन्दा बढी मानिसलाई सुरक्षित स्थानमा जान भनिएको छ ।

प्रतिक्रिया दिनुहोस्