Logo

सरकार हामीसंग फुर्सद र धन भए पो चाडपर्व

कुश्मा नगरपालिका–१ पाङको माझी बस्ती



पर्वत । शहर बजार जताततै तीजको रौनकले छपक्कै छोपेको छ । दैनिकजसो दर खुवाउने, खाने, मेला महोत्सव गर्ने, शुभकामना आदानप्रदान गर्नेलगायत कार्यक्रमले भ्याइनभ्याइ छ । कुश्मा नगरपालिका–१ पाङको माझी बस्तीका चन्द्रकुमारी माझीलाई भने तीजको कुनै वास्ता छैन । उहाँ लगायत माझी बस्तीका महिला तथा पुरुष कालीगण्डकी किनारमा बालुवा छान्नमै व्यस्त छन् ।

“दिनभर बालुवा नछाने भोकै बस्नु पर्छ,” चन्द्रकुमारीले भन्नुभयो, “हाम्रा लागि वर्षभरिका सबै दिन उस्तै हुन् । सरकार हामीसंग फुर्सद र धन भए पो चाडपर्व ।” पोखरा–बागलुङ राजमार्गअन्तर्गतको कालीगण्डकी किनारमा करीब १५० माझी परिवारको बसोबास छ । पोखरा–बागलुङ सडक निर्माणका क्रममा २०४८ सालमा धादिङ, गोरखा र तनहुँलगायतबाट आएका उनीहरु यही छाप्रो बनाएर बसेका हुन् । उनीहरूसँग न त लालपूर्जा छ न गाँसको नै ठेगान । राजमार्गको काम सकिएपछि माझी बेरोजगार बनेका हुन् ।

“उर्लेको कालीगण्डकीमा जोखिम मोलेरै बालुवा निकाल्नु पर्ने बाध्यता छ,” स्थानीयवासी कला माझीले भन्नुभयो । नियमित आम्दानीको स्रोत नभएपछि बालुवा निकाल्ने र गिट्टी कुट्नु बाहेक अन्य विकल्प नभएको उहाँको भनाइ छ । वर्षाका बेला कालीगण्डकीको भेलले बगाउने बालुवा किनारमा थुपारेर हिउँदभर बेच्ने उनहरुको मुख्य पेशा हो । “बर्खामा बाढी आउँदा बालुवा निकाल्नै सकिन्न,” कलाले भन्नुभयो, “बालुवा नछाने भोकभोकै बस्नु पर्छ ।” महिला बिहानैदेखि बालुवा निकालेर नदी किनारमा थुपार्छन् । केहीले बङ्गुर र कुखुरा पालेका छन् ।

कुश्मा, बागलुङ र बेनीका निर्माण व्यवसायीले माझीबाट प्रतिट्याक्टर रु तीन हजारदेखि रु पाँच हजारमा बालुवा खरदि गर्छन् । व्यवसायीले सो बालुवा बजारमा रु १० हजारसम्ममा बिक्री गर्छन् । बालुवा बिक्रीमा व्यवसायीले लगाएको एकाधिकारकै कारण श्रमिकले सिधै बिक्री गर्न पाउँदैनन् । यहाँका बालबालिकाले पढ्न पाएका छ्रैनन् । विसं २०६३ मा स्थापना गरिएको विद्यालयमा ३ कक्षासम्म मात्र पठनपाठन हुन्छ । उपल्लो कक्षा पढ्न बागलुङ सदरमुकाम पुग्नु पर्छ । त्यहाँसम्म दैनिक आउजाउ गर्दा रु २० बस भाडा तिनुपर्छ । भाडा तिर्न नसक्दा कतिपयले छोराछोरीलाई विद्यालय पठाउने गरेका छैनन् ।

प्रतिक्रिया दिनुहोस्