Logo

काँग्रेसका नेता सिंहले भने- संघले मात्रै महिलाको अधिकार सुरक्षित गर्ने



काठमाडौ । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले नेपालको राजनीतिक परिवर्तनमा नेपाल महिला संघको महत्वपूर्ण भूमिका रहेको बताउनुभएको छ । नेपाल महिला संघ काठमाडौँले ‘संघको ७१ औँ स्थापना दिवस तथा तिजको शुभकामना आदानप्रदान कार्यक्रम’मा बोल्दै नेता सिंहले मुलुकमा भएका विभिन्न राजनीतिक परिवर्तनमा महिलाहरुको ठूलो भूमिका रहेको बताउनुभयो । “राणा शासन, प्रजातन्त्र स्थापना, गणतन्त्र स्थापनालगायतका आन्दोलनमा नेपाल महिला संघले महत्वपूर्ण भूमिका खेलेको छ,”–उहाँले भन्नुभयो ।

नेता सिंहले महिला संघले स्थापना कालदेखि उठाउँदै आएका मुद्दालाई समयानुकुल परिमार्जन गर्दै महिलाको समग्र व्यक्तित्व विकास र उत्थानका लागि संगठन विस्तार गर्दै लैजानुपर्ने बताउनुभयो । उहाँले संविधानभित्र रहेका महिलाका हक अधिकारलाई अध्ययन गरेर कमी कमजोरी भए सच्याउँदै संविधान कार्यान्वयनका लागि नेपाल महिला संघले नेतृत्व लिनुपर्ने उल्लेख गर्नुभयो । पूर्व उपप्रधानमन्त्रीसमेत रहनुभएका नेता सिंहले वर्तमान सरकार महिलाको हक अधिकारप्रति गम्भीर नभएको आरोप लगाउनुभयो । संविधानअनुसार कानुन बनाउन सरकार आलटाल गरेको उहाँको भनाई थियो ।

काँग्रेस केन्द्रीय सदस्य कमला पन्तले महिला हक अधिकारका लागि नेपाल महिला संघले स्थापनाकालदेखि नै महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो । उहाँले नेपालको राजनीतिक परिवर्तनमा महिलाहरुको ठूलो योगदान रहेपनि संसद र पार्टीभित्र महिलाहरुको अहिलेसम्म उचित स्थान पाउन नसकेको गुनासो गर्नुभयो । काँग्रेस केन्द्रीय सदस्य डा डिला संग्रौलाले नेपालीे महिलाको हक हित, सशक्तिकरण, जागरण, सामाजिक रुपान्तरणमा महिलाहरुको ठूलो योगदान रहेको बताउनुभयो । काँग्रेस काठमाडौँका सभापति सबुज बानियाले महिला शक्ति बलियो नभएसम्म पार्टी र मुलुक बलियो नहुने बताउनुभयो । गाउँगाउँसम्म महिला जागरण लैजान जरुरी रहेको उहाँको भनाई थियो । नेपाल महिला संघ काठमाडौँ अध्यक्ष विष्णुदेवी पुडासैनी, काठमाडौँ महानगरपालिका उपप्रमुख हरिप्रभा खड्गीलगायतले काँग्रेसमा ५० प्रतिशत महिला सहभागीता बनाउनुपर्नेमा जोड दिनुभयो । नेपाली काँग्रेसको भ्रातृ संस्थाको रुपमा रहेको महिला संघको स्थापना विस २००४ सालमा मंगलादेवी सिंहको नेतृत्वमा भएको हो ।

प्रतिक्रिया दिनुहोस्

Recent Posts