Logo

सातौँ ‘इन्काउन्टर’ले उब्जाएको शंका



गुणका बदला गुण भनौँ या बैगुनीलाई गुनले मारौँ । कहिलेकहीँ आवेशको आगोमा बोलिन्छ, ‘खुनको बदला खुन ।’ रक्तपातपूर्ण छ नेपाली इतिहास । शासकहरुको अन्त्य, उदय पछिल्लो समय इतिहास बने पनि मुलुकमा रक्तपातपूर्ण घटना समापन भएका छैनन् । बरु आममानिसले पहिलो नम्बरमा राखेको सुरक्षा संयन्त्र नेपाल प्रहरीले नै यसलाई संस्थागत गर्दै गइरहेको छ । उसको भाषामा यो ‘इन्काउन्टर’ हो । अपराध नियन्त्रणसँगै अपराधीको पनि इहलीला सिध्याउने ‘गुणस्तरीय’ काम हो इन्काउन्टर ।
प्रहरीले पछिल्लो समय गरेको सात इन्काउन्टरमध्ये ६ वटामा जनताले गुनासोको पुलिन्दा भरेनन् । नेपाल प्रहरीले गरेको ‘बहादुरी’लाई ‘वाह’ भन्दै नाक ‘टिप्न बिर्सेको घिरौँला’जत्रो बनाइदिए । तर सोमबार भक्तपुरको पाइलट बाबा आश्रम छेउछाउमा भएको ‘इन्काउन्टर’बारे नागरिकले नदुखेको कपाल पक्कै डोरी लगाएतार तान्न लगाउँदै दुखाउन चाहेनन् अनि एउटा घरबेटी पक्कै पत्रकार बोलाएर नेपाल प्रहरीविरुद्ध बोल्न र आफ्नो ‘घाँटीको मयल’ फाल्न इच्छुक हुँदैन नै । तर, ती भक्तपुरे घरबेटीले भनेको वाक्यांश ‘अपहरणकारीलाई डेराबाट पिट्दै लगिएको’ले भने सुरक्षा संयन्त्रमा आफूलाई अब्बल सावित गर्न खोजिरहेका छ । जिल्लातहको कमाण्ड हुँदै प्रहरी कमाण्ड हाँक्ने अवसर पाएका प्रहरी महानिरिक्षक सर्वेन्द्र खनालको नेतृत्व माथि कसै नाक नखुम्च्याओस् ।

अपराधी समात्नु प्रहरीको सफलता हो । मार्नु सामान्य बहादुरी ठानिए पछि अपराध अन्त्य मूल काम भएकाले अपराधी समात्नु नै प्रहरीको विशेष योग्यता हो ।

यति हुँदाहुँदै पनि पछिल्लो छ इन्काउन्टरः दिनेश अधिकारी चरी, कुमार घैँटे हुँदै मनोज पुनसम्मका घटनामा प्रहरीले अपराध र अपराधी दुवै समूल नष्ट पारेर जनमत आफ्नो पक्षमा लियो ।

यद्यपि खुनखराबाका पक्षमा नेपाली जनता कहिल्यै थिइनन्, न दोस्रो विश्वयुद्ध लड्न पठाइएका २ लाख ५० हजार नेपाली युवालाई, न १२ वर्ष युद्ध लडेको तत्कालीलन माओवादी नेतृत्वलाई त मधेस आन्दोलनकर्मीलाई नै । वार्ता, सम्वाद र सहमतिको इतिहास र परम्परा नै जनताको अपेक्षा हो । पूर्व राजा ज्ञानेन्द्रले समेत सहजसँगै सत्ता छाडेर रक्तपातमा विमति राखिरहँदा भक्तपुरको एउटा घरबेटीले प्रहरीको ‘रक्तपातपूर्ण बाध्यता’मा किन धावा बोले ? उनलाई बोल्नै पर्ने बाध्यता थिएन । तर उनको बोली एउटा घरबेटीको ‘औसत प्रतिक्रिया’ मात्र होइन, आम नेपालीले गरिरहेको आशंकाको प्रतिनिधि स्वर पनि हो ।
दिनेश अधिकारी चरी मारिँदा पनि नेपाल प्रहरीमाथि उस्तै आक्षेपका बाछिटा परेका थिए । तर गुण्डाको मानवअधिकारबारे खासै फसल नफस्टाइसकेको मुलुकमा धेरैको मौनता देखियो । पछि कुमार घैँटे मारिँदा त कांग्रेस नेता गगन थापाले नै बोले । अरु पनि यस्तै इन्काउन्टरमा समात्न सकिने अवस्था हुँदाहुँदै ‘जवाफी कारबाही’का नाममा प्रहरीले ‘आत्मसुरक्षा’का लागि गोली चलाउँदा अपराधी सकिएको भन्दा सुन्न त मजा होला । तर शंकाको कालो बादल मडारिएकै थियो । मनोज पुन भारतमा पक्राउ गरेर ल्याएर नेपाली भूमिमा मारिँदा परिवारले आपत्ति जनाएकै थिए । यद्यपि उनीहरुको वर्षौँ लामो ‘ज्यानमारा उद्योग’का कारण नागरिक समाजले मनमनै भने, ‘नमारेर अनुसन्धान गर्दा पनि हुन्थ्यो होला ।’
इन्काउन्टर गर्नै पर्ने निष्कर्ष प्रहरी अधिकृतहरुको छलफल र बैठकपछिको निष्कर्ष हुन्छ या ड्युटी कमाण्डमा हिँडेका बेला आउने उन्माद ? नेपाल प्रहरीमाथि पछिल्लोपटक लाग्ने प्रश्नचिन्ह यही हो । यो प्रश्नचिन्हमा प्रहरीको सपाट र सफेद जवाफ जनताले खोजिरहेका हुन् । ३३ किलो सुन प्रकरणमा नराम्री ‘धब्बा’ लागेको प्रहरी नेतृत्वलाई भक्तपुरमा बालक अपहरणकाण्डमा गरिएको प्रश्नले पनि झस्काएको छ कि, प्रहरीको कामकारबाही जनताको सुरक्षाका अलाबा अरु कुनै ‘अमूक’ धातुमा जोडिन थालेको त होइन ? हो भने यो ‘जिका’ भाइरस भन्दा खतरा हो है, सामान्य ‘कोलिफर्म’ भएको पानी पचाउने नेपाली समाजलाई यसले नराम्रो संक्रमण गर्ला ।
एकाध पात्र उभ्याएर केही स्वार्थ पूरा गर्न कतै यस्तैगरी मानवचोला ‘हवन’ हुने कामलाई इन्काउन्टर भनेर प्रहरीले अपराधका घटनामा सतहमा नपुगी ‘फायरिङ’लाई वैधानिकता दिने हो भने एकातिर प्रहरीमाथि जनताको विश्वासमा ‘जोरलात्ती’ र अर्कातिर ‘इन्काउन्टर’कै बदनाम त हुँदैन ? अहिले प्रहरी नेतृत्वमा रहेकाले सोचून् । जनता जागेका दिन ‘महाराजा’ ‘शाहराजा’ त परास्त हुन्छन् भने जनताको सुरक्षामा खटिएको संगठनले जनतासँगै फेरि ‘प्रहरी मेरो साथी’ सम्बन्ध नवीकरण गर्नै दाताको रकम खोज्नु प¥यो भने मजा आउँदैन है विभिन्न ‘जीसाबहरु ।’ अहिले यति भनौँ ।

प्रतिक्रिया दिनुहोस्

Recent Posts