Logo

माइतीघर लगायत क्षेत्रमा निषेधित क्षेत्र तोक्ने निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश



काठमाडौं । सर्वोच्च अदालतले माइतीघरसहित देशका विभिन्न क्षेत्रमा सरकारले जारी गरेको निषेधाज्ञा कानुनसम्मत नदेखिएको भन्दै मुद्दाको किनारा नलागेसम्म कार्यान्वयनमा ल्याउन रोक लगाएको छ । न्यायाधीशद्वय ओमप्रकाश मिश्र र केदारप्रसाद चालिसेको संयुक्त इजलासले साउन १ गतेदेखि नै कार्यान्वयन गर्न लागेको उक्त निर्णय कार्यान्वयनमा नल्याउनू भन्ने अन्तरिम आदेश जारी गरेको छ ।

सर्वोच्चले यसअघि अन्तरकालीन आदेश मात्र जारी गर्दै सरकारलाई छलफलमा बोलाएको थियो । सरकारसँगको छलफलपछि सर्वोच्चले उक्त निर्णय गरिनुको कानुनी आधार नदेखिएको भन्दै फैसला नभएसम्मका लागि यस्तो निर्णय नगर्न समेत भनेको छ ।

सर्वोच्चले गत शुक्रबार निषेधित क्षेत्र तोक्ने निर्णय गर्नुको कानुनी आधार सरकारसँग माग गरेको थियो । गृह मन्त्रालयले उक्त निर्णय पेस गरे लगत्तै सर्वोच्चले कार्यान्वयनमा ल्याउन रोक लगाउने आदेश गरेको हो । यसअघि असार २२ गते सर्वोच्चले माइतीघर लगायतका क्षेत्रमा लगाइएको निषेधाज्ञा तत्कालका लागि कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

Recent Posts