लगानी सम्मेलनको दुईदिने कार्यतालिका सार्वजनिक

लगानी सम्मेलनको दुईदिने कार्यतालिका सार्वजनिक


काठमाडाैँ ।

यही वैशाख १६ र १७ गते (अप्रिल २८ र २९) काठमाडौंमा आयोजना हुन लागेको तेस्रो लगानी सम्मेलनको दुईदिने कार्यतालिका सार्वजनिक भएको छ।

लगानी बोर्डको कार्यालयले दिएको जानकारीअनुसार पहिलो दिन उद्घाटन सत्रसँगै दुईवटा विशेष सत्र सञ्चालन हुनेछन्। ‘नेपालमा लगानी अवसरको खोजी’ र ‘नेपालमा लगानी भएका आयोजनाको सफलता’सम्बन्धी दुईवटा सत्र पहिलो दिन राखिएको छ। दोस्रो दिन तीनवटा समानान्तर सत्र (प्यारालल सेसन) र हरेक सत्रमा तीनवटा समूहगत छलफल (प्यानल डिस्कसन) हुने बोर्डको कार्यालयले जनाएको छ।

दोस्रो दिनको पहिलो सत्रमा नवीकरणीय ऊर्जाको सम्भावना, नवीनतम वित्तीय परिदृश्य, हरित तथा जलवायु उत्थानशील क्षेत्रमा लगानीको अवसर गरी तीन प्यानलमा छलफल हुनेछ। त्यस्तै, दोस्रो सत्रमा हरित वित्त तथा दिगो लगानी, पर्यटन क्षेत्रमा लगानी र नेपालको निर्यात प्रवर्द्धनका लागि कृषि प्रशोधनमा आधारित आपूर्ति शृंखलाबारे छलफल हुनेछ। तेस्रो सत्रमा उत्पादन क्षेत्र नवप्रवर्तन विकास, लगानी तथा व्यावसायिक सहजीकरण र सूचना प्रविधि क्षेत्रबारे छलफल गरिने जनाइएको छ।

‘इमर्जिङ नेपाल इन्भेस्टमेन्ट समिट–२०२४’ नाम दिइएको सम्मेलन काठमाडौंस्थित सोल्टी होटेलमा आयोजना गर्ने गरी स्थान तय भइसकेको छ। सम्मेलनका लागि एक सय ५० हाराहारी आयोजना ‘सोकेस’मा लैजाने तयारी छ। यसअघि लगानी बोर्डले एक सय २५ वटा आयोनजा ‘सोकेस’मा लैजाने तयारी गरिरहेकोमा अहिले निजी क्षेत्र, प्रदेश र स्थानीय तहका समेत केही आयोजना थपिएको बोर्डका प्रवक्ता प्रद्युम्नप्रसाद उपाध्यायले जानकारी दिए।

‘निजी क्षेत्र, प्रदेश र स्थानीय तहबाट समेत सोकेसका लागि प्रस्ताव गरिएका आयोजनासमेत गरेर एक सय ५० हाराहारी पुगेका छन्। निजी क्षेत्र र स्थानीय तहका आयोजनाबारे जानकारी दिने छुट्टै कक्ष र उहाँहरूकै जनशक्ति खटाइनेछ,’ प्रवक्ता उपाध्यायले भने, ‘कुन प्रदर्शनी कक्षमा कस्ता आयोजना राख्ने, त्यसको व्यवस्थापन कसरी गर्ने र लगानीकर्तालाई आयोजनाबारे अधिकतम जानकारी कसरी दिन सकिन्छ भनेर पूर्वतयारी चलिरहेको छ।’ लगानी सम्मेलन स्थलमा २२ देखि २५ वटा कक्ष रहने गरी तयारी भइरहेको उनको भनाइ छ।

सम्मेलनका लागि अब १२ दिन मात्रै बाँकी छ । सम्मेलन स्थलको व्यवस्थापन, सुरक्षा व्यवस्था तथा स्वयंसेवक परिचालन, विदेशी लगानीकर्तालाई विभिन्न आयोजनाबारे जानकारी दिनका लागि कक्ष व्यवस्थापनलगायतका कामको पूर्वतयारी तीव्र बनाइएको उपाध्यायले जानकारी दिए। आइतबार बेलुकासम्ममा ३१ देशका दुई सय ६० भन्दाबढी अतिथि सम्मेलनमा आउने निर्क्योल भइसकेको बोर्डले जनाएको छ।

लगानी सम्मेलनका क्रममा तीनवटा परियोजनाको विकास सम्झौता (प्रोजेक्ट डेभलपमेन्ट एग्रिमेन्ट–पिडिए) गर्ने तयारी भइरहेको र अहिले विकासकर्ता कम्पनीसँग त्यसबारे वार्ता चलिरहेको प्रवक्ता उपाध्यायले बताए। सम्मेलनका क्रममा नेपाल–चीनमैत्री औद्योगिक पार्क, अपर मर्स्याङ्दी– २ जलविद्युत् आयोजना, कोहलपुर तथा वाणगंगा सौर्य ऊर्जा आयोजनाको पिडिए सम्झौता हुँदै छ।

त्यस्तै, डाबर नेपाल प्राइभेट लिमिटेडसँग आयोजना लगानी सम्झौता ९प्रोजेक्ट इन्भेस्टमेन्ट एग्रिमेन्ट–पिआइए०को तयारी छ। लगानी सम्मेलनअघि प्रधानमन्त्रीको अध्यक्षतामा रहने लगानी बोर्डको बैठक बस्ने तयारी भइरहेको पनि बोर्डले जनाएको छ।

सम्मेलनमार्फत विभिन्न २० वटा आयोजनाका लागि लगानीकर्तासँग आशयपत्र (एक्सप्रेसन अफ इन्ट्रेस्ट–इओआई) माग गरिँदै छ। त्यस्तै, अगाडि बढाउन सकिने सम्भावित आयोजनाका रूपमा ‘मार्केट साउन्डिङ प्रोजेक्ट’ ६ वटा, आयोजना पहिचानको प्रारम्भिक चरणका ३३ वटा, वित्तीय लगानी जुटाउने अवस्थाका २० वटालगायतका आयोजना सोकेसमा लगिँदै छ।