चन्दननाथमा १५ शय्याको आयुर्वेद अस्पताल निर्माण हुने

चन्दननाथमा १५ शय्याको आयुर्वेद अस्पताल निर्माण हुने


जुम्ला ।

जुम्लाको चन्दननाथ नगरपालिका–१० स्थित बोहोरा गाउँमा १५ शय्याको अस्पताल निर्माण हुने भएको छ । कर्णाली प्रदेशअन्तर्गत रहेको आयुर्वेद स्वास्थ्य केन्द्रलाई स्तरोन्नति गर्न स्रोत सुनिश्चित गरी ठेक्का आह्वान भएपछि १५ शय्याको अस्पताल निर्माणको प्रक्रिया अगाडि बढेको हो ।

१२ करोडको लगानीमा उक्त अस्पताल निर्माण हुने नगर प्रमुख राजुसिंह कठायतले जानकारी दिए । उनका अनुसार आयुर्वेद स्वास्थ्य केन्द्रको स्तरोन्नति गर्नका लागि सङ्घीय सरकारले बजेट छुट्याएको छ । आयुर्वेदक परम्परागत र भरपर्दोे उपचार पद्धति भएकाले यसको विकास गर्न सहरी विकास तथा भवन निर्माण विभागअन्तर्गतको स्वास्थ्य विभागले पहल गरेको उनले जानकारी दिए ।

नगरप्रमुख कठायतले भने, “सबै कागजात जुटाई सघन सहरी तथा भवन निर्माण आयोजना जुम्लाले ठेक्का आह्वान गरेको छ ।” बहुवर्षीय आयोजनाअन्तर्गत बन्ने १५ शय्याको आयुर्वेद अस्पतालका लागि आगामी आर्थिक वर्षका लागि रु तीन करोड रकम विनियोजित गरिने उनले जानकारी दिए ।

स्रोत सुनिश्चितता नहुँदा ठेक्का खोल्न सकिएको थिएन । पछिल्लो समय स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नीति, योजना तथा अनुगमन महाशाखासँगको निरन्तर समन्वयपछि ठेक्का खोल्न सकिएको सघन सहरी तथा भवन निर्माण आयोजनाका सूचना अधिकारी चन्द्र खड्काले बताए ।

बहुवर्षीय ठेक्काको स्रोत सहमतिको अवधि बढीमा तीन वर्षको हुनेछ । स्रोत सहमति प्राप्त भएको आयोजनाको आर्थिक वर्ष २०८०र८१ को हकमा चैत मसान्तसम्म खरिद प्रक्रिया सुरु गरिसक्नुपर्ने प्रावधानअनुसार काम अगाडि बढेको आयोजनाका सूचना अधिकारी खड्काको भनाइ छ ।

घर आँगनमै अस्पताल बन्न लागेपछि यहाँका स्थानीयवासीमा खुसी छाएकोे भन्दै उक्त अस्पताल समयमा नै सम्पन्न गर्न आफूले पहल गर्ने नगरपालिकाका उपप्रमुख रामदेवी खड्काले बताए ।