Logo

कांग्रेस जिल्ला सभापति भेला : फस्ल्याङ फुस्लुङ बनाउदै देउवा



हेटौडा । नेपाली काग्रेसका जिल्ला सभापतिहरुको भेलामा पार्टी सभापति शेरबहादुर देउवाको चर्को आलोचना भएपछि पार्टी सभापति शेरबहादुर देउवा भेलालाई निष्कर्ष विहिन बनाउने तयारीमा सभापति देउवा लागेको जिल्ला सभापतिहरुले आरोप लगाएका छन् । जिल्ला सभापतिहरुको भेलाको पहिलो दिनबाट नै पार्टी सभापति शेरबहादुरर देउवा भेलाको निष्कर्षलाई एउटा मुर्त रुप दिने भन्दा पनि निष्कर्षविहिन बनाउने रणनीतिमा लागेका छन् । भेलाको उदघाटन सत्रमा अधिकांश नेताहरुले पार्टी भावनात्मक एकताका सन्देश दिनुपर्ने विषय उठाएपछि सभापति देउवाले पार्टीमा भावनात्मक एकता दिनेखालको सन्देश भन्दा लिखित भाषण गरे । त्यो मात्र होइन सभापति देउवाले आफ्ना विरोधीहरुलाई तह लगाउने रणनीति उदघाटन सत्रमा उदाङगो भयो । जसका कारणले सभापति भेलाको दोश्रो दिन कांग्रेसका प्रभावशाली दुई नेताहरु प्रकाशमान सिंह र अर्जुननरसिंह केसीले भेलाको बहिष्कार गर्दै हेटौडा छोडे ।

 

उदघाटन सत्रमा विरोधी तह लगाउने रणनीति
उदघाटन सत्रमा देउवाले आफु विरोधीलाई तह लगाउने रणनीतिका कारण सभापति देउवा वरिष्ट नेता रामचन्द्र पौडेल, उपसभापति बिमलेन्द्र नीधि, महामन्त्री डा शासांक कोइराला, संसदीय दलका उपनेता विजय गच्छदारलाई मात्र सम्बोधन गर्ने मौका दिइयो । जसका कारणले पूर्व महामन्त्री कृष्ण सिटौलाले मञ्च बहिष्कार गरे । पूर्व महामन्त्री प्रकाशमान सिंहलाई पनि बोल्न दिइएन । जसको कारण प्रकाशमान सिंहले भेलाको दोश्रो दिन भेलालाई बहिष्कार गर्दै काठमाडौं लागे । सिटौला, सिंह केसी लगायतका प्रभावकारी नेताहरुलाई उदघाटन सत्रका सभापति शेरबहादुर देउवाको आलोचन हुने भयले उनीहरुलाई बोल्न दिइएन । उनीहरुलाई बोल्न नदिनुको कारण उदघाटन कार्यक्रम लामो हुने बताइएको थियो । सभापति भेलाको बन्दसत्रमा अत्याधिक छलफल गराउनका लागि धेरै नेताहरुलाई सम्बोधन गर्न बन्देज गरेको बताइएको थियो । तर उदघाटन पछि भोली पल्ट मात्र सभापतिहरुको भेलाको बन्दसत्र सुरु गरियो ।

रिफ्रेसमेन्ट भेलामा परिणत गर्ने देउवाको रणनीति
पार्टीका शीर्ष नेताहरुलाई सम्बोधन गर्न नदिई जिल्ला सभापतिहरुको भेलाको बन्दसत्र सुरु गर्ने भनियो तर उदघाटन सत्रपछि काठमाडौंबाट मकवानपुर लगिएका लोहदोहारीका कलाकारलाई उदघाटन सत्रपछि नचाएर भेलालाई रिफ्रेसमेन्ट भेलामा परिणत गरिएको जिल्ला सभापतिहरुले आरोप लगाएका छन् । बन्द सत्रमा बोल्ने क्रममा उदघाटन सत्रमा प्रभावशाली नेताहरुलाई बोल्न नदिइएको तथा बन्दसत्र सुरु गर्नुको साटो दोहोरी गित र नाँचगाँनको फोगट कार्यक्रम राखेको आरोप लगाए । बन्दसत्रमा बोल्ने सभापतिहरुले पार्टी सभापति देउवाले आफ्नो आलोचना सुन्ने भन्दा आवाज बन्द गरेर तानाशाही बन्न लागेको आरोप लगाए । सभापति देउवाले आफ्नो आलोचना कम होस भनेर पार्टीको भ्रातृ सस्था नेपाल सांस्कृति संघले दोहोरी साँझबाट मकवानपुर लगेका कलाकारहरुको नाँच गित प्रस्तुत गरेर भेलालाई राजनीतिक रुपमा रणनीतिक भेला भन्दा पनि जिल्ला सभापतिहरुका लागि रिफ्रसमेन्ट भेला बनाएको धेरैको आरोप छ ।

महामन्त्री डा कोइरालाको अपमान
जिल्ला सभापतिहरुको भेलामा पार्टी सभापति देउवा पार्टीको रणनीतिक सुधार भन्दा पनि आफु विरोधी क्याम्पका नेताहरुको मान मर्दन गर्नेमा लागेको देखिएको छ । सभापति देउवाले आफु विरोधी क्याम्पमा रहेका नेताहरु प्रकाशमान सिंह, कृष्ण सिटौला, अर्जुननरसिंह केसीलाई बोल्नबाट बञ्चित मात्र गरेनन्, निर्वाचित महामन्त्री एंव वीपी पुत्र डा शसांक कोइरालाको समेत अपमान गरे । उदघाटन सत्रमा महामन्त्री कोइराला भन्दा पछि संसदीय दलका उपनेता विजय गच्छदारलाई सम्बोधन गर्न दिएर कोइरालको अपमान गरे । नेपाली कांग्रेसको केन्द्रीय समिति आयोजक रहेको जिल्ला सभापतिहरुको भेलामा केन्द्रीय समितिको बैठकमा आमन्त्रीत सदस्यका रुपमा रहेको महामन्त्री कोइरालालाई गच्छदार भन्दा अगाडि बोल्ने लगाएर देउवाको अपमान गरेका छन् । कोइरालाले यो बारेमा सभापति देउवासंग असंतुष्टी जनाइसकेको स्रोतले जनाएको छ ।

अधिकांश सभापतिको विरोध चार सभापति मात्र देउवाको पक्षमा
कांग्रेस जिल्ला सभापतिहरूको भेलामा चार जिल्ला सभापतिले केन्द्रीय सभापति शेरबहादुर देउवाको प्रतिरक्षा गरेका छन् । कञ्चनपुर सभापति हरिप्रसाद बोहराले पार्टीले निर्वाचनमा पराजय हुनुको दोष देउवालाई मात्र दिन नहुने बताए । गुट( पगुट र कम्युनिस्ट पार्टीहरूबीचको गठबन्धनका कारण चुनावमा हार बेहोर्नुपरेको बताए । दोलखा सभापति रुद्र खड्काले निर्वाचनमा हार उम्मेदवारका कमी–कमजोरीका कारण पनि हुन सक्ने औंल्याए । बाजुराका सभापति कविराज पण्डितले विगतमा भएका कमी–कमजोरीबाट पाठ सिकेर अगाडि बढ्नुपर्ने बताए । पर्वतका सभापति खिमानन्द भुषालले मात्र सभापति बचाउ गरेका थिए ।  अन्य जिल्ला सभापतिहरूले भने सभापति देउवाको आलोचना गरे । गोरखाका सभापति हरि घलेले ०३६ सालको जनमत संग्रहमा पराजयको अपजस तत्कालीन पार्टी सभापति बीपी कोइरालाले एक्लै लिएको कुराबाट पाठ सिक्नुपर्ने बताए ।

केही जिल्ला सभापतिले जिल्ला सभापतिमा पराजित नेतालाई पनि राखेर पनि टिकट वितरणको निर्णय गर्ने केन्द्रको परिपत्रलाई समानान्तर कमिटीको अभ्यासका रूपमा पनि औंल्याए । त्यसबाट जितेको सभापतिलाई अवमूल्यन गरिएको उनीहरूको धारणा थियो । सिन्धुपाल्चोकका सभापति विकास लामाले दिलमा तीर हानेर दुख्यो कि दुखेन भनेर केन्द्रीय सभापतिले सोध्ने गरेको आरोप लगाए । कालीकोटका हर्ष बमले इरानका राजा रेजी पेहल्वीको उदाहरण दिँदै कांग्रेस सभापति देउवालाई पनि उनीसँगै तुलना गरे । बर्दियाका सभापति सञ्जय गौतमले केन्द्रीय सभापतिमा रामचन्द्र पौडेलका पक्षमा भोट हाल्ने पदाधिकारीहरूलाई बारम्बार पीडा दिने काम भएको दाबी गरे । खोटाङका नरेशकुमार श्रेष्ठले सभापति देउवाले नातागोतालाई मात्र च्यापेको आरोप लगाए । पाल्पाका सभापति वीरबहादुर रानाले हारेको सभापतिलाई विश्वासमा लिएर टिकट वितरण गर्नु भनेपछि निर्वा्चित सभापतिको अधिकार बाँकी नरहेको बताए । तेह्रथुमका सभापति गोविन्द ढुंगानाले व्यापारीलाई निर्वाचन अभियानमा लगाएर पार्टीले उल्टै सम्बन्धित क्षेत्रका मानिसलाई पार्टीले टाढा पारेको आरोप लगाए । ललितपुरका सभापति मदनबहादुर अमात्यले निर्वाचन भएको एक वर्षपछि समीक्षा गरेर पार्टी नसुध्रिने बताए । पार्टीमा घात–अन्तर्घातको शृंखला कृष्णप्रसाद भट्टराईलाई हराएरै शुरु भएको औंल्याए । धादिङका सभापति रमेश धमलाले निर्वाचन गराउने कांग्रेस र माओवादी गठबन्धनका दुई वटा सरकारका रवैयाकै कारण पार्टीले पराजय बेहोर्नुपरेको बताए । केन्द्रीय सदस्य गगन थापाले भने, ‘आज सरकारमा छैन, त्यही भएर पार्टी बनाउन लाग्छु भन्नुभएको छ । तर, न संसद्मा भूमिका निर्वाह गरेको देखिन्छ, न त पार्टी बनाउन कुनै निष्कर्षमा पुग्नुभएको छ ।’ सांसदहरूलाई प्रशिक्षण र निर्देशनको अभाव रहेको उनले औंल्याए । दुई सय १५ वटा ठाउँमा चुनाव जितेका कांग्रेसका जनप्रतिनिधिले वर्तमान सरकारले भन्दा बढी र अभूतपूर्व काम गरेर देखाउनुपर्ने थापाले सुझाए । वर्तमान सरकारले लोकतन्त्रमाथि गरिरहेको प्रहारबारे कांग्रेसको कुनै धारणा नआएको उनले बताए ।

बन्दसत्रमा बोल्ने सभापति माथि पक्षपात
बन्दसत्रमा बोल्ने सभापतिमाथि पक्षपात भएको सभापतिहरुले आरोप लगाएका छन् । सभापति देउवाको पक्षमा बोल्ने सभापतिहरुलाई बोल्ने समयको सिमा तोकिएको छैन् । सभापतिहरुको भेलाको संचालन गरिहेका कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्ण पौडेलले देउवा पक्षिय सभापतिलाई बोल्ने समयको सिमालाई बन्देज लगाएका छैनन् । तर देउवा विरोधी जिल्ला सभापतिहरुलाई ५ मिनेट पछि समयको बन्देज लगाउने गरेको गुनासो जिल्लासभापतिहरुले गरेका छन् । सभापति भेलाको दोश्रो दिन बन्दसत्रमा यस्तो भेदभाव भएको सभापतिहरुले बताएका छन् । देउवा पक्षीय ललितपुरका सभापति मदन अमात्यले ३१ मिनेट बोल्न पाएका थिए भने धादिङ सभापति रमेश धमलालाई ५ मिनेटपछि नै समयसिमा तोकिएको थियो ।

प्रतिक्रिया दिनुहोस्