Logo

पोद्दारले पाेले दिपक मल्हाेत्रालाई



काठमाडौँ : करिव ३८ सय किलो सुन तस्करी र सनम हत्या काण्डको अनुसन्धान गर्न बनेको बिशेष समितिले व्यापारी विमल पोद्दारलाई पक्राउ गरेपछि व्यापारी दीपक मल्होत्रा समेत सुन तस्करीमा संलग्न रहेको पाइएको छ । विमल पोद्दार व्यापारी दीपक मल्होत्राको साझेदार हुन् । समितिले पोद्दारलाई सुन तस्करीमा संलग्न रहेको भन्दै मंगलबार राति डिल्लीबजार क्षेत्रबाट नियन्त्रमा लिएको थियो ।

स्रोतका अनुसार पोद्दारमाथि सोधपुछ भइरहेको र मल्होत्राको संलग्नताबारे पनि अनुसन्धान अघि बढाइएको छ । समितिले यसअघि उर्लाबारीका सनम शाक्यको हत्या र साढे ३३ केजी सुन गायब प्रकरणको अनुसन्धानपछि जिल्ला अदालत, मोरङमा ६३ जनाविरुद्ध मुद्दा दायर गरेको थियो । सो छानविनको क्रममा नेपालमा केही समययता ३८ सय किलो सुन तस्करी भएको तथ्य बाहिर आएको थियो । ब्यापारी मलहोत्रा २०५४ सालमा सुन तस्करीको प्रमुख योजनाकार रहेका थिए ।

तात्कालिन समयमा सुन तस्करीका मुख्य ब्यक्ति मानिएका मलहोत्राले पछिल्लो समयमा पनि ब्यापारको आडमा तस्करीमा संलग्न रहेको पाइएको स्रोतले बताएको छ । ‘२०५४ सालतिर दिपक मलहोत्रा सुन तस्करीका प्रमुख मानिन्थे, अपदस्थ अख्तियार प्रमुख लोकमानसिंह कार्कीसँग मिलेर मलहोत्राले सुन तस्करीको धन्दा चलाएका थिए, अहिले पनि उनकै साझेदार पक्राउ परेपछि मलहोत्राले निरन्तर सुन तस्करी गरेको हो भन्नेतर्फ छानविन केन्द्रित छ,’ समितिका एक सदस्यले भने ।

मल्होत्रा र पोद्दारको सामसुङ मोवाइल बिक्री गर्ने कम्पनी आइएमएसमा पनि साझेदारी रहेको छ । आइएमएसमा पनि पोद्दारको डाइरेक्टरको बोर्ड टाँसिएको छ । इबिसु ज्वेलर्समा पनि मल्होत्रा र पोद्दार पार्टनर हुन् । इबिसु ज्वेलर्स केही समयअघि २२ करोडमा बिक्री गरेका हुन् । त्यसका अलावा कालिकास्थानको सिल्भर सिटी अपार्टमेन्टमा पनि मल्होत्रा र पोद्दार साझेदार हुन् ।

मल्होत्रा र पोद्दार पछिल्लो समयमा सोही अपार्टमेन्टमा बस्दैआएका थिए । मल्होत्रा, पोद्दार, गोविन्द सरिया, ताहिर साह र छवि भूसाल स्व. खुमबहादुर खड्का गृहमन्त्री हुँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सेटिङ गरी पार्टनरसीपमा नेपालबाट भारतीय रुपैयाँ र अमेरिकी डलर हङकङ पठाउने र उताबाट सुनचाँदी भित्र्याउने गरेको स्रोत बताउँछ । सरियाको झापामा देखावटी रुपमा चियाबगान छ । तर उनको भित्री धन्दा हुन्डी र डलर नै हो भन्छन् उनलाई चिन्नेहरु ।

मल्होत्राको नाम प्रधानमन्त्री केपी ओलीको चीन भ्रमणदलमा रहेको स्रोतले बताएको छ । यद्यपि उनी ३३ किलो सुन प्रकरणका मुख्यदोषी मोहन अग्रवाल पक्राउ परे लगत्तै काठमाडौंबाट गायब भएका थिए । प्रधानमन्त्रीको भ्रमणदलमा उनको नाम भए पनि उनी टोलीमा सँगै चीन नगएको स्रोतको दाबी छ । स्रोतका अनुसार मल्होत्रा चीनमै हुनसक्ने र उतैबाट भ्रमण टोलीमा थपिने होलान् । तर नेपालमा भने उनी केही दिनअघिदेखि नै सार्वजनिक रुपमा देखापरेका छैनन् ।

पोद्दार सुनचाँदी र हुन्डीको कारोबार गर्नेमा अग्रपंक्तिमा पर्दछन् । प्रहरीका पूर्व र बहालवाला उच्चतहका हाकिमहरुसँग उनको कनेक्सन रहेको छ । पूर्व एआइजी हेमन्त पाल, संघीय प्रहरी कार्यालय कोशीका प्रमुख एसएसपी हरि पाल, पूर्व डीएसपी सुरेन्द्रबहादुर सिंहहरुसँग कनेक्सन छ । प्रहरीका उच्च तहका हाकिमहरुको भ्रष्टाचारको रकम समेत चलाउने गरेको पोद्दारले लगानी गरेको स्रोतले बताएको छ । उनको खिचापोखरीको पिपुल्स प्लाजासँगै हुन्डीको कारोबार गर्ने अखाडा थियो । पछिल्लो समयमा उनले सिल्भर सिटी अपार्टमेन्टबाटै हुन्डीको कारोबार गर्दैआएका थिए । पछि उनले चीनको ग्वाङझाउमा पनि अफिस खोलेका थिए । जहाँ उनले आफ्ना बाबुलाई राखेका थिए । बाबुको गतबर्ष निधन भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्